द. कोरियामा नेपाली कार्यरत कम्पनीमा आगलागी/ १ जना सख़्त घाइते
पौष १७/ प्रकाश पाण्डे
दक्षिण कोरियाको चुङनाम आसान प्रान्तमा रहेको दोङही नामक कम्पनीमा गयराती आगलागी हुदाँ १ जना नेपाली सख़्त घाइते भएका छन ।
क़रीब ४० जना नेपाली कार्यरत मोटरपार्टस बनाउने सो कम्पनीको नेपाली कामदारहरू बस्ने अपार्टमेन्टमा गयराती क़रीब साढ़े १ बजे एक्कासी आगलागी भएको थियो । नयाँ बर्ष मनाउने क्रममा छुट्टीमा रहेका नेपालीहरू मध्ये तेस्रो तल्लामा सुतेका एकजना नेपालीको कोठामा बालेको हिटरबाट आगों सल्केको थियो । सबै जना मस्त निद्रामा रहेका बखत तेस्रो तल्लाको पहिलो कोठाबाट शुरू भएको आगलागीले भीषण रूप लिएपछि मात्र नेपालीहरूले थाहा पाएका थिए । सो क्रममा ज्यान जोगाउन झ्यालबाट छतमा चढ्न कोशिस गरिरहेका पुर्बी नेपालका किशोर राई नाम गरेका क़रीब २८ बर्षिय युवा तेस्रो तल्लाबाट अकस्मात भुईमा खसेर सख़्त घाइते भएको सोही कम्पनीमा कार्यरत अर्का नेपाली लेलिन गुरूङले जानकारी दिए । गुरूङ भने झ्याल मार्फत इन्टरनेटको तार मार्फत छतमा चढेर ज्यान जोगाउन सफल भएको जानकारी दिएका छन ।
अपार्टमेन्टको तेस्रो तल्लाबाट भुईमा खसेर सख़्त घाइते किशोर राईको दुबै खुट्टा र ढाड भाच्चिएको छ भने गंभीर अवस्थामा छनानस्थित एक अस्पतालमा उपचार भैरहेको कम्पनीमा कार्यरत अन्य नेपालीहरूले जानकारी दिएका छन । सोही कम्पनिमा कार्यरत अन्य केही नेपालीहरू भने नयाँ बर्ष मनाउने क्रममा कोठा बाहिर रहेकाले थप मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
सो अपार्टमेन्टको तेस्रो तल्लामा ९ वटा कोठा रहेको र सम्पूर्ण कोठाहरूमा नेपालीहरू मात्र बसोबास गर्दै आएका थिए । आगलागीका कारण नेपाली कामदारहरूको पासपोर्ट, नगद, लत्ताकपडा लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको सोही कम्पनिमा कार्यरत कास्की घर भएका अर्का नेपाली बिपिन थापा मगरले जानकारी दिएका छन । मगरका अनुसार केही नेपालीहरू आगामी महिना भिसा सकेर नेपाल फर्कने तरखरमा रहेको तथा उनीहरूले घरपरिवारका लागी किनेका क्यामेरा, घड़ी, गरगहना, लत्ताकपडा लगायतका धेरै सरसामाग्री पूर्णरूपमा जलेर नष्ट भएकाले के कति क्षति भएको यसै भन्न नसकिने जनाएका छन ।

शेयर