बुटवल, कार्तिक ९ । प्रदेश ५ मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयले पेश गरेका कार्यविधि, निर्देशिका सहित १५ वटा विधेयकलाई स्वीकृत गरेको छ ।

दसैं बिदापछि बसेको पहिलो बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पेश भएको जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले प्रदेश प्रशारणसम्बन्धी विधेयक, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धी विधेयक र प्रदेश मामिला सूचना केन्द्र संचालन निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसरी नै प्रदेश विकास प्राधिकरण सम्बन्धमा व्यववस्था गर्न बन्ने विधेयक, प्रादेशिक भवन निर्माण कार्यलाई व्यवस्थित गर्न बन्ने विधेयक, प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बन्ने विधेयक र प्रादेशिक लोकमार्ग निर्माण एवं व्यवस्थापन गर्न बन्ने विधेयकहरुको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति बैठकले प्रदान गरेको छ ।

प्रादेशिक सम्पदा संरक्षण सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक, प्रदेश सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक, प्रदेश ५ का बालबालिकाको अधिकार सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयकहरुको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति पनि बैठकले प्रदान गरेको छ ।

प्रदेश नंं ५ पशु वधशाला र मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नंं ५ पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई पनि बैठकले स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

उनले अब बस्ने प्रदेससभा बैठक लागि पर्याप्त बिजनेस पुग्ने गरी विधेयक पारित गरिएको बताए ।

शेयर