छठपर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यश छठपर्वमा सबै धर्मसमुदायका व्यत्तिहरूले पनि सहभागी हुन्छन् र यो पर्व बिधिबत मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।भगवान सूर्यलाई प्रत्यक्ष देवता पनि मनिन्छ।

छठपर्वका सन्दर्भमा विभिन्न किम्बदन्ती पाइन्छन् सूर्य पुराणमा वर्णित कथा अनुसार कार्तिक शुक्ल षष्ठीका दिन हुने छठपर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसुयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ । त्यस्तै द्वापर युगको महाभारतकालमा पाण्डव अज्ञात वासमा हुँदा द्रौपदीले आफूहरूको अज्ञात वास सफल होस् भनी कामनाका साथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ ।

ऋग्वेदमा ‘अदित्यो वै तेज ओजो बलं यशश्चक्षः श्रोय आत्मामनः’ उल्लेख छ, जसको अभिप्राय आदित्यमण्डलको अन्तःस्थित सूर्यदेव अधिक प्रेरक, अन्तर्यामी परमात्मा स्वरूप छ तथा सूर्य नै बल, यश, चक्षु स्रोत, आत्मा र मन हो । श्रापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर कञ्चन शरीर पुुनःप्राप्त गर्नुभएकाले नै त्यहीँदेखि सूर्यको आराधना सुरू भएको मत पनि पाइन्छ । पर्वको विधि चतुर्थीदेखि नै सुरू हुन्छ । चतुर्थीका दिन व्रतालुले शुद्ध शाकाहारी सात्विक भोजन गर्ने गर्छन्, जसलाई अरबा अरबाइन र नहा खाय अर्थात् नुहाएर खानु भनिन्छ ।

पञ्चमीका दिन गोबरले घर–आँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन्, यसलाई खरना भनिन्छ । षष्ठीका दिन गहुँको पीठो र चामलको पीठोबाट क्रमशः ठकुवा र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुभन्दा अगावै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ । प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिसलगायतका विभिन्न वनस्पति पनि राखिन्छ । सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुपती, नाङ्लो, माटोको कुरबार सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाको किनारमा गई सबैथोक सजाएर राखिन्छ । व्रत बस्ने कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन् ।

सप्तमीका दिन बिहान उषाकालमा व्रतालुले पुनः अघिल्लो दिनको क्रम दोहोराउछ्न । सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यले गाईको दूध चढाउँछन् । ‘ॐ सूर्यायै नमः, ॐ भास्करयै नमः’ को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ । षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ ।

छठपर्वले सामाजिक सद्भाव रूप लिइसकेको छ । यस पर्वलाई मानवीय एकताको पर्वका रूपमा पनि लिन सकिन्छ । जुनसुकै जाति र धर्मका आस्थावान्ले छठपर्व एकैसाथ एकै ठाउँमा मनाउन सकिने र आर्थिक अभाव रहेकाले अरुको सहयोगमा भिक्षा मागेर भएपनि छठपर्व मनाउने गरेको पाइन्छ । छठपर्वको मूल सन्देश समन्वय, समावेशी र सादगीपन हो । साथै अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।अस्तु।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

शेयर