तिलोत्तमा । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि प्रस्ताव गरिएको जग्गाको विषयमा तिलोत्तमा नगरपालिका र अस्पताल संचालक समितीका विचमा छलफल गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले अस्पतालको भवन निर्माणको लागि जग्गा दिन आफुहरु तयार रहेको बताएसंगै अस्पतालले तिलोत्तमा नगरपालिकालाई विकल्पको रुपमा अगाडी सारेको हो ।

यसअघि बुटवल १० रामनगरमा रहेको वनक्षेत्रको जग्गामा प्रकृया अघि बढिरहेको छ । अस्पतालको लागि भवन सांघुरो भईरहेको र वनक्षेत्रको जग्गा प्राप्तिमा ढिलाई भए आफुहरु अस्पताललाई जग्गा दिन तयार रहेको नगरप्रमुख घिमिरेले बताएपछि अस्पताल संचालक समितीले सम्भावित जग्गाहरुको अवलोकन समेत गरेको थियो ।

सोहि क्रममा नगरकार्यपालिका र अस्पताल संचालक समितीका विचमा जग्गा प्राप्तिको प्रकृया तथा अस्पतालको योजनाको बारेमा छलफल गरिएको हो । छलफलको क्रममा नगरप्रमुख घिमिरेले विशेषज्ञ सहितको सुविधासम्पन्न मुटु अस्पताल तिलोत्तमा नगरपालिकामा आउन सके तिलोत्तमा क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउनुभयो । नगरप्रमुख घिमिरेले स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशिल सेवा घरआंगनमा ल्याउन सके त्यसको लागि जग्गा व्यवस्थापन र थप सहयोगको लागि नगरपालिकाले पहल गर्ने बताउनु भयो ।

तिलोत्तमा नगरपालिकामा सार्वजनिक जग्गाहरु प्रशस्त रहेको र नगरपालिका त्यस्ता जग्गाको व्यवस्थापनको लागि लागेको भन्दै दिर्घकालिन योजनाका साथ संचालन गर्न लागिएको मुटु अस्पताललाई प्रकृया मार्फत उपयुक्त जग्गा उपलब्ध गराईने बताउनु भयो।

अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल अत्यन्त संवेदनशिल क्षेत्र रहेकोले आम सेवाग्राही सहज रुपमा पुग्न सक्ने स्थान उपयुक्त हुने बताउनु भयो । उहाले आफुहरु तत्कालको लागि मात्र नभई कम्तिमा ५० वर्षको दिर्घकालिन योजनाको साथ अस्पतालको भवन निर्माण गर्ने सोचमा रहेकोले सोहि अनुरुप कम्तिमा १२ विघा जग्गा अस्पतालको लागि आवश्यक पर्ने जानकारी दिनुभयो ।

सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० लागु गरी २०७७ साल भित्र सोहि मापदण्ड अनुरुप संचालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

निर्देशिकामा अस्पतालको भवनसंगै हरियाली, पार्किङ, बगैंचा लगायतलाई खाली जग्गा छोड्नुपर्ने भएकोले जग्गा केहि बढि माग गरिएको उहाले बताउनु भयो । निर्देशिकामा अस्पतालहरुमा प्रतिबेड ५५ वर्गमिटर जग्गा हुनुपर्ने, पार्किङको लागि २५ प्रतिशत जग्गा छुट्याउनुपर्ने, बगैंचालाई बनाउनुपर्ने र भवन निर्माण गर्दँ भवन निर्माण संहिता अनुरुपको मापदण्ड र जग्गा छोडेर मात्र निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।

छलफलको क्रममा नगरकार्यपालिकाका सदस्य तथा राजनितिक दलका प्रतिनिधीहरुले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई तिलोत्तमा नगरक्षेत्रभित्र ल्याउनमा आफुहरुको जुनसुकै सहयोग रहने बताएका थिए ।

शेयर