कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन देखि क्षीरसागरमा शयन गरेका भगवान विष्णु चार महिना पछि यसै कार्तिक शुक्ल एकादशीका दिन निद्रावाट ब्युझन्छ्न् भन्ने शास्त्रीय मान्यता छ । भगवान विष्णुका भक्तहरू चतुर्मास व्रत बस्दछ्न् । यी महिनामा बिवाह,व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न निषेध छ । हरिबोधिनी एकादशीका दिन घरआगनमा रोपिएको तुलसी नजिक मण्डप बनाई विधिपूर्वक पूजा गरि बिवाह गरिन्छ । त्यसैले यश दिनलाई तुलसी बिवाह पनि भन्ने चलन छ।

पौराणिक मान्यता अनुसार जालान्धरकि पत्नी वृन्दाको सतीत्वलाई विष्णुले छल गरेर हरण गरेपछि वृन्दाले विष्णुलाई श्राप दिदै रुख , पत्थर , घास र झारपात हुनपरोस् भनेकी थिइन् । त्यसैले शालिग्राम, पीपल , तुलसी र कुशलाई विष्णुकै प्रतीक मानिन्छ । त्यसैले तुलसीलाई पनि भगवान विष्णुकै स्वरुप मनेर पूजा गरिन्छ । तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ ।हरिबोधिनी एकादशीका दिन तुलसीको मठलाई गोबर माटोले लिपेर रातो,पहेँलो ,सेतो रङ र फूलको मालाले सिँगारेर तुलसीलाई मालाले फन्को मारिन्छ ।

नजिकै बिष्णुको प्रतीकका रुपमा निगालो, बाँस वा सालको लिङ्गो गाडिन्छ । त्यसपछि धूप,दीप ,नैबेद्य, फलफूल ,अक्षताचन्दन आदिले पूजा गरेर विवाह कार्यक्रम सम्पन्न गरि सबैले प्रसाद ग्रहण गर्दछ्न्। हिन्दु धर्ममा तुलसीको ज्यादै ठूलो महिमा छ। कार्तिक महिनाभरी सम्पूर्ण तीर्थसहित सबै देवताहरू तुलसीमा निवास गर्दछ्न् । त्यसैले जुन घरमा तुलसीको मठ हुन्छ त्यो घर तीर्थसमान हुन्छ । हिन्दूहरुको देवकार्य एवं पितृकार्यका समेत तुलसीको प्रयोग अनिवार्य मानिन्छ। मानिसको अन्तिम अवस्था हुँदा पनि तुलसीको मठमा लगेर सुताउने चलन छ।

गरूण पुराणका अनुसार कार्तिक महिनामा एउटा मात्र तुलसी भगवान बिष्णु लाई अर्पण गरे दश हजार गोदान गरे सरह फल प्राप्त हुने मान्यता छ।अर्को पौराणिक मान्यता अनुसार एकदिन सत्यभामाले श्रीकृष्णको तुला दान गर्दा तुलाको एकातिर श्रीकृष्ण र अर्को तिर सत्यभामाले सम्पूर्ण सम्पत्ति राख्दा पनि श्रीकृष्णबसेको तुलो भारी भयो । त्यो देखेर दु:खमानेकी सत्यभामालाई रुक्मिणीले आफ्नो तर्फ तुलसी राख्न संकेत गरिन् ।तुलसी पत्र राख्नासाथ आफ्नो तुलो भारी भयो र श्रीकृष्ण माथि उठे। यस कथाले पनि तुलसीको महिमा ठूलो रहेको स्पष्ट हुन्छ। माहाभारत ग्रन्थका अनुसार कहिले पनि भोको बस्न नसक्ने भीमसेनले पनि यस दिन व्रत गरेको मानिन्छ ।

अरु दिनमा उपवास गर्न नसके पनि एकादशीको दिन व्रत गर्नु भनेर हिन्दुधर्म शास्त्रहरुमा वर्णन गरिएको छ । मानिस भएर जन्मेपछि एकादशीको व्रत अनिवार्य रुपमा गर्नुपर्छ । यदी सबै एकादशीमा व्रत बस्न अनुकुल हुँदैन भने हरिबोधनी एकादशीको दिन अनिवार्य रुपमा व्रत बस्नुपर्दछ भनेर शास्त्रहरुमा वर्णन गरिएको छ । समयसमयमा व्रत बस्नु स्वास्थको लागि पनि अत्यन्तै राम्रो मानिन्छ । तुलसीको धार्मिक र सांस्कृतिकका साथै बैज्ञानिक आयुर्वेदिक महत्त्व पनि उत्तिकै रहेको । हाम्रा आयुर्वैदिक ग्रन्थहरूमा तुलसीबाट गर्न सकिने उपचारहरूको बारेमा निकै महत्त्वको रूपले उल्लेख गरिएको पाइन्छ।

धन्वन्तरि, सुश्रुत, चरक आदि महान् आयुर्वेदका ज्ञाताहरूले तुलसीलाई बहुपयोगी औषधीको रूपमा उल्लेख गरेका छन्। तुलसीको रस सौन्दर्यवर्धक हुन्छ। तुलसीको पात,डाठ र फुलको रस ले रुघाखोकी, औलो ,स्वासप्रस्वास छाला सम्बन्धि चर्मरोग, लुतो ,दाद आदिको औषधि हुन्छ ।तुलसी को रस राती शरीरमा लगाएर सुतेमा लाङखुट्टेले टोक्दैन । तुलसीको नजिक सर्पले बास गर्दैन । तुलसीको हावले बिषालु किटाणुको नास गर्दछ। अनि वातावरण पनि शुद्ध हुन्छ ।नियमित तुलसीपत्र सेवनले स्मरण शक्ति बढ्दछ। चिकित्सकहरूकाअनुसार तुलसीमा धेरै रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्।

यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा वान्ता पनि रोक्ने कार्य गर्दछ। तुलसी उत्तम पित्तनाशक, कफनाशक, विषहर, वीर्यवर्धक, स्मृतिवर्धक औषधी हो। मुखगन्ध, गर्भरोग, कर्ण, दन्त, मूत्ररोग, श्वासरोग, रक्तरोग, मुर्छालगायत सयौं रोगको लागि पनि अत्यन्त सरल किसिमबाट प्राप्त हुने तुलसीबाट गर्न सकिन्छ। आधुनिक विज्ञानले पनि अत्यधिक अक्सिजन फ्याँक्ने र अत्याधिक मात्रामै विद्युत् शक्ति भएको विरुवा भन्ने पत्ता लगाएको छ। तुलसीको मठ रहेको चारैतिरको हावा शुद्ध एवं स्वास्थ्यवर्धक हुने विज्ञानले पत्ता लगाएको छ। साथै तुलसीको विरुवाबाट निस्कने ग्यासका कारण आँखाले नदेखिने विषालु किटाणु समेत नस्ट हुने तथ्य विज्ञानले प्रमाणित गरेको छ। तसर्थ तुलसीको हरेक दृस्ठिकोणबाट निकै महत्व रहेको स्पष्ट हुन्छ ।इति।

( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

शेयर