५ फाल्गुन, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले असारमा विकास निर्माणको भुक्तानी नदिने भएको छ । ‘असारे विकास’ रोक्ने उद्देश्यले नगरपालिकाले असारमा विकास निर्माणको भुक्तानी नदिने निर्णय गरेको हो । आर्थिक वर्षको अन्त्यमा हतार–हतार गरिने विकास निर्माणको काम गुणस्तरीय नहुने ठहरसहित यस्तो निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । कार्यपालिका बैठकले यससम्बन्धी निर्णय गत साउन २० गते नै गरेको थियो ।
नगरपालिकामा हालसम्म २७० वटा विकास योजनाको सम्झौता भैसकेको छ । त्यसमध्ये ५२ वटा योजनाको काम सम्पन्न भएर भुक्तानी भैसकेको योजना शाखाले जनाएको छ । सम्झौता भएका योजनाहरुको बजेट १४ करोड ७० लाख ६१ हजार रुपैंयाँ छ । नगरपालिकाले ठुला योजनाको कार्यान्वयन ठेक्का प्रक्रियाबाट गराएको छ । यो वर्ष क्रमागत योजनाको रुपमा रहेका भ्यूटावर, प्रमुख प्रशासनिक भवन, अतिथि गृह, सभाहल निर्माणको क्रममा रहेका छन्।

यस्तै पाँच वटा वडा कार्यालय भवन, वडा नं. ७ मा सहरी स्वास्थ्य केन्द्र भवन, वडा नं. १० कान्छीबजारमा खेलकुद मैदान, ड्राईभरटोल–डिङगरनगर कालोपत्रे, विभिन्न वडामा सडक मर्मत, ट्रान्सफर्मर खरिदलगायतका योजनाहरु पनि चालु आर्थिक वर्षमा कार्यान्वयनको चरणमा रहेका छन् ।

SHARE