हाम्रो मुलुकमा महिनावारीका बेला उचित स्वच्छताका अभावमा विभिन्न शारीरिक समस्या भोग्न विवश महिलाहरू धेरै हुने गरेका छन् । सरसफाइ हुन नसक्दा कतिपय महिलामा डिम्बवाहिनी नली लगायतमा संक्रमण भई गर्भ नबस्ने समस्या पनि भेटिने गरेको छ । महिनावारीका समयमा सरसफाइमा बेवास्ताका कारण संक्रमण भएर डिम्बवाहिनी नलीले काम गर्न छोड्छ । ‘यसबारे हाम्रो मुलुकमा कुनै खास अध्ययन छैन, तर महिनावारीमा उचित सरसफाइ नहुनु बाँझोपनको एउटा प्रमुख कारकका रूपमा देखिएको छ  । महिनावारीका बेला प्याडको उचित प्रयोग वा कम्तीमा सफा सुरक्षित सुती कपडाको उपयोग गरे पनि धेरै समस्याबाट जोगिन सकिन्छ ।
के हो महिनावारी ?
किशोरीको प्रजनन अंगको विकाससँगै हुने स्वाभाविक प्रक्रिया महिनावारीमा योनिबाट रगतको स्राव (रगत एवं तन्तुको बहाव) सामान्यतस् ३ देखि ५ दिनसम्म हुन्छ । मस्तिष्कको एउटा सानो खण्ड हाइपोथेलेमसको नियन्त्रणमा रहेको मस्तिष्कमै भएको पिटुटरी ग्ल्यान्डको निर्देशनमा हार्मोन निस्किन सुरु हुन्छ । यो हार्मोनले पहिलेदेखि नै डिम्बरअण्ड भएको अण्डाशयलाइ निर्देशन दिन्छ अनि डिम्बमध्ये कुनै एउटा डिम्ब परिपक्व हुन थाल्छ । महिलाको एउटा अण्डाशयबाट हरेक महिना एउटा डिम्ब परिपक्व भएर फेलोपिन टयुब (डिम्बवाहिनी नली) का माध्यमले पाठेघरमा पुग्छ । केही खास हार्मोनले पाठेघरको भित्तामा रगतको एउटा तह बनाई डिम्बका लागि एउटा उपयुक्त अवस्थाको निर्माण गर्छन् । यो स्थितिमा पुरुष शुक्रकीटसँग डिम्बको निसेचन भएपछि गर्भधारणको अवस्थामा भ्रुणलाई विकसित हुन उपयुक्त वातावरण सिर्जना हुन्छ ।
पुरुषको शुक्रकीट स्त्रीको डिम्बसँग निसेचन नहँुदा पाठेघरको भित्तामा बनेको रगतको तहको पर्खाल टुटेर झर्न थाल्छ र महिनावारीको रगतको स्रावको रूपमा योनिबाट निस्किन्छ ।
स्वच्छताका लागि के गर्ने ?
–रगत सोस्न सधैं सफा र सुक्खा सुती कपडा, स्यानेटरी प्याड आदि उपयोग गर्ने ।
– आफूमा भएको रगतको बहावको मात्राअनुसार दिनहुँ दुई–तीन वा योभन्दा बढी पटक कपडा, प्याड आदि फेर्ने ।
– कपडा उपयोग गर्दा यसलाई पुनस् उपयोग गर्न साबुनले धोएर घाम लाग्ने ठाउँमा सुकाउने वा आइरन गर्ने ।
– उपयोग गरिएका सामग्रीलाई यत्रतत्र नफाल्ने ।
– प्याड, कपडा आदिलाई सुक्खा ठाउँमा, सम्भव भए हावा नपस्ने बट्टामा राख्ने ।
– दिनहुँ नुहाउने ।

SHARE