भारु १० मा साडी

हैदराबाद, फागुन ५ गते । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ । भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ ।(रासस/एएनआई)

अमेरिकी तथा दक्षिण कोरियाली भेटवार्ता

वासिङटन। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ । मध्यपूर्वको सुरक्षार्थ वार्सामा भइरहेको सम्मेलनका अवसरमा पोम्पेओ र काङले भएको कुराकानीमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रिकरण गर्ने सन्दर्भमा प्योङयाङसँगका छलफलबारे एक आपसबाट भएका प्रयास उल्लेख गर्नुभएको थियो ।बेइगनले जनवरी ३१ मा अमेरिकी पक्षले वार्ताको तयारीका लागि छलफल गर्नेमा जोड दिँदै उत्तर कोरियाको आणविक निशस्त्रिकरण हुनुपूर्व अमेरिकाद्वारा प्योङयाङमाथि लगाएको प्रतिबन्ध फुकुवा नहुने बताउनुभएको थियो । दोस्रो शिखर सम्मेलन पहिले बेइगन र किमह्याक चोलबीच तयारीका लागि पुनः भेट्ने सहमति भएको थियो । यसै सहमति अनुसार अमेरिकी टोली एशिया आउने विदेशमन्त्री पोम्पेओको भनाइ आएको हो । (रासस/सिन्हवा)

काश्मिरमा आक्रमण ३७ को मृत्यु

नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो । श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो ।  यद्यपी भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणमा परी कम्तीमा ३९ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ । तर अन्य प्रेसले यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ४० पुगेको जानकारी दिएको छ । भारतको काश्मिरमा करिबपाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण प्राय अशान्त रहँदै आएको छ । (रासस/एएफपी)

SHARE