तिलोत्तमा । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले विभिन्न क्षेत्रमा काम गर्ने पाँच जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । दिवसको मूल समारोहका अवसरमा नगरपालिकाले नगर क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुलाई नगदसहित प्रशंसापत्रबाट सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा उद्योगको क्षेत्रमा काम गर्ने मनिषा पन्थ र दुर्गा शाही, निर्माणको क्षेत्रमा काम गर्ने मनकुमारी बेसारा, कृषि क्षेत्रमा काम गर्ने सुमित्रा तिवारी, ढकिया उद्यमी निर्मला थारु रहनु भएको छ ।

सोही अवसरमा नगरपालिकाले लैंगिकमैत्री कार्ययोजनाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामा तिलोत्तमा नगरपालिकालाई लैंगिकमैत्री नगरपालिका बनाउन विभिन्न योजना अगाडि सारिएका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख वासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले तयार पारेको लैंगिकमैत्री मस्यौदालाई व्यवहारमा कार्यान्वयन गर्न यसमा समेटिएका योजनाहरुलाई प्रभावकारी रुपले अगाडि बढाइने बताउनु भयो । उहाले हिंसामुक्त समाज निर्माणका लागि लैंगिक विभेद हट्नुपर्ने र यसतर्फ नगरपालिकाले आफ्ना गतिविधि अगाडि बढाउने जानकारी दिंदै महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर नबनाएसम्म समानता कायम हुन नसक्ने बताउनु भयो।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले पुराना सांस्कृतिक मूल्य मान्यता र नीति निष्मका कारण समाजमा विभेदपूर्ण अभ्यासहरु भैरहेको भन्दै यसको अन्त्यका लागि सोंच र व्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले विद्यमान सामाजिक संरचनाको अन्त्य नगरेसम्म लैंगिक विभेद नहट्ने भएकाले सोंच र व्यवहार सांसँगै सामाजिक चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसकी नेतृ मनोरमा शेरचनले महिला पुरुष समान भएर महिला अधिकार स्थापित गराउनु पर्ने र त्यस्तो अभियान प्रत्येक घरबाट सुरु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा पत्रकार इन्दिरा अर्याल, अधिकारकर्मी मिनाक्षी न्यौपाने, नगर कार्यपालिका सदस्य राधा शाही, महिला अगुवाहरु तारा आर्याल, रुमा पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमका अवसरमा तिलोत्तमा नगरपालिकाले महिला दिवसका अवसरमा महिला समूहबीच आयोजना गरेको नगरस्तरीय वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो ।

SHARE