तिलोत्तमा सिटी , चैत्र ५ । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले आर्थिक तथा औद्योगिक विकासको लागि प्रदेशमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । उनले छिमेकी मित्रराष्ट्र चीन र भारतले गरेको आर्थिक र औद्योगिक विकासको अनुशरण गर्न सके समृद्धिको यात्रा टाढा नरहेको पनि बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर ७ को शाखा कमिटीलाई सपथग्रहण गराउँदै पार्टीका केन्द्रीय सदस्य गिरीले सरकारले अघि सारेका नीति र योजनालाई जनतामाझ लैजान कार्यकर्तालाई आग्रह गरे ।

चीनले स्वतन्त्र भएको छोटो अवधिमै आर्थिक र औद्योगिक विकासमा लोभलाग्दो फड्को मारेको उल्लेख गर्दै मन्त्री गिरीले उसको बाटो पछ्याउनुपर्ने बताए ।प्रदेश नम्बर पाँचको समृद्धिको आधार पर्यटन क्षेत्र रहेको भन्दै मन्त्री गिरीले यसका लागि मन्त्रालयले योजनाबद्ध काम अघि बढाइरहेको बताए । कार्यक्रममा नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं, वडा नम्बर ७ का वडाअध्यक्ष दुर्गा प्रसाद पाण्डे, शाखा कमिटी अध्यक्ष देवीप्रसाद पंगेनी, सचिव विमला गुरुङ लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।सबै शाखा कमिटीहरुको सपथग्रहण सम्पन्न गरेको नेकपा तिलोत्तमाले टोल कमिटी निर्माणलाई तीव्र पारिने अध्यक्ष चापागाईंले बताए ।

SHARE