रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । आजदेखि भाषा परीक्षाका लागि आवेदन खुला भएको हो । भाषा परीक्षाका लागि चैत १७ गतेसम्म आवेदन दिन सकिने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । यसपटक आवेदन दिन लाइन बस्नु नपर्ने भएको छ ।

ईपीएस शाखाका अनुसार ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको हो ।घरमै बसेर अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने शाखाले जनाएको छ ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ ।भाषा परीक्षाको आवेदन शुल्क बुझाउनका लागि युवाहरु ग्लोबल आइएमइ बैंकमा अघिल्लो रातबाटै लाइनमा बसेका छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ। परीक्षामा सामेल हुन  चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ। फारम देशैभर अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ। इपिएस परीक्षाका लागि काठमाडौं र पोखरालाई परीक्षा केन्द्र तोकिएको छ। तर, पोखरा केन्द्रमा भने १२ हजार परीक्षार्थी मात्र सामेल हुन पाउने छन्। पोखरा केन्द्र रोज्नेले १२ हजारभन्दा बढी परीक्षार्थी नाघेपछि काठमाडौंमै आएर परीक्षा दिनुपर्ने शाखाले जनाएको छ।

सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ। जसमध्ये ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ सिट निर्धारण गरिएको छ। सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो।

सुरुवातमा कृषि, निर्माण र फिसिङ(मछुवार) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरिए पनि हाल भने  कृषि, निर्माणमा मात्रै कामदार लगिँदै आएको छ। हाल कोरियामा ४० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ।

कोरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्य देश मानिन्छ। कोरियामा प्रत्येक नेपालीले मासिक १ लाखभन्दा बढी रुपैयाँ कमाउँछन्। अहिलेसम्म ६० हजार भन्दा बढी युवा रोजगारीका लागि कोरिया गइसकेका छन्। सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए। जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए।

SHARE