सुडानमा विशाल प्रदर्शन
खाद्यन्न र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा सुडानमा सुरु भएको प्रदर्शन थप चर्किएको छ । चार महिनादेखि विरोधमा सहभागी हुँदै आएका प्रदर्शनकारीहरु राजधानी खार्तुमस्थित राष्ट्रपति भवन नजिकै रहेको सैनिक मुख्यालयसम्म पुगेका छन् । प्रदर्शनकारीहरु सैन्य मुख्यालयमै पुगेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको छ । राष्ट्रपति ओमार अल वसिर विरुद्ध नारा लगाउँदै अघि बढेका प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएक ाछन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० बढीको मृत्यु भइसकेको जनाएको छ ।

नेपाल र चीन शिष्टाचार भेटवार्ता
युएई । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र चिनियाँ राजदूत चाङ हाउबीच बुधबार शिष्टाचार भेटघाट भएको छ । चिनियाँ दूतावासको कार्यालय आबुधाबीमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । चीन र युएई तथा नेपाल र चीनबीचको व्यापार व्यवसायका बारेमा दुवै देशका राजदूतले एकआपसमा जानकारी राखेको दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् । भेटमा राजदूत ढकालले नेपालको पर्यटन र आर्थिक विकासमा चीनले गर्दै आएको सहयोग बारे जानकारी गराएका थिए ।

युएईमा दुर्घटना २ जनाको मृत्यु २ गम्भीर
उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन । निरोजका आफन्त जोतीलाल परियारले उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जानकारी दिए । जोतीलालका अनुसार, उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए। अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ। सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।

SHARE