आगामी आर्थिक बर्ष ०७६।७७ को तिलोत्तमा नगरपालिकाको पुर्व बजेट छलफल तथा अन्तरिक्रया कार्यक्रम आइतबार सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको नयामिल स्थित होटल लक्ष्मीमा सम्पन्न पुर्व बजेट छलफल तथा अन्तरिक्रया कार्यक्रममा प्रस्तुत बजेट्माथि अबको नगरको बिकाशलाई कस्तो दिशा दिने भन्ने उदेश्यले नगरपालिकाले नगर क्षेत्रका सरोकारवाला पक्षसंग छलफल तथा अन्तरक्रिया गरेको हो । नगर कार्यपालिकाले तयार पारेको विभिन्न बिषयक उल्लेखित बिषयहरुको बुदाँ माथि व्यापक छलफल गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै निर्वा्चित जनप्रतिनिधिहरु वडाको योजना छनौटमा कस्तो उदेश्यले जाने भनि अन्यौलता हटाउनका लागि उक्त छलफलको आयोजना गरिएको बताए । पछिल्लो समय नगरबासीले रुचाएका योजना तथा कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेर वडामा प्रस्तुत हुदाँ सहज हुने उनले बताए ।नगरको क्षेत्रगत मार्गदर्शन अन्र्तगत भौतिक, सामाजिक, आर्थिक बिकास योजना, वातावरण व्यवस्थापन योजना, संस्थागत बिकास योजना, एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा लगायतको मुख्य बिषयलाई लिएर कार्यपत्र प्रस्तुत् गरिएको थियो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्व ३० करोड ४७ लाख ८५ हजार बराबरको बजेट ल्याउने भएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा आगामी बजेटको आकार सार्वजनिक गरिएको हो । नगरपालिकाले १७ वटा वडाहरुका लागि १४ करोड ६५ लाख ९० हजारको सिलिङ तोकेको छ । त्यस्तैगरी प्रशासनिक खर्च १८ करोड तीन लाख ८० हजार, समपुरक खर्च सात करोड, नगरस्तरीय योजना तथा कार्यक्रमतर्फ २१ करोड २२ लाख ६१ ह्जार प्रस्ताव गरिएको छ । त्यस्तै क्रमागत आयोजनाहरु कृषि, शिक्षा तर्फ २३ करोड ५५ लाख ७१ हजारको बजेट आकार तय गरिएको छ । पुर्वबजेट छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बजेटको अवधारणापत्र प्रस्तुत गर्दै नगर क्षेत्रको विकासका लागि समेट्नुपर्ने विषयमा विभिन्न क्षेत्रको सुझाव मागेका थिए ।

नगरपालिकाले तिलोत्तमा प्रादेशिक बसपार्क, तिलोत्तमा सिटि कलेज, तिलोत्तमा औद्योगिक क्षेत्र, तिलोत्तमा मासु प्रशोधन केन्द्र, अटोभिलेज, राष्ट्रिय खेलकुद मैदान, कृषि हाटबजार, सरसफाई केन्द्र, सार्वजनिक शौचालय, सहरी सेवा केन्द्र, तिलोत्तमा ढाक्रेबास एकीकृत पर्यटकीय क्षेत्र, रोहिणी पर्यटकीय क्षेत्र विकास आयोजना, प्रसुती गृह, दुग्ध व्यवसाय, मकै, गहुँ खेतीमा अनुदान जस्ता आयोजनाहरुको प्रस्ताव गरेको छ । अवधारणापत्र प्रस्तुत गदैृ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले शैक्षिक गुणस्तर वृद्धि, कृषि उत्पादकत्व वृद्धि, नगरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधारको विकास गरी समृद्ध नगरः खुशी नगरबासीको लक्ष्यलाई प्राप्त गर्ने मूल उद्देश्य राखेर आगामी बजेट ल्याइने जानकारी दिए । नगर प्रमुख वासुदेव घिमिरेले प्रस्तावित बजेट अवधारणामा छुटेका कुराहरुलाई समावेश गरी नगरलाई समृद्ध बनाउने उद्देश्यले बजेट तयार गरिने बताए ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले प्रत्येक वडाहरुलाई बजेटले तोकेको सिलिङभित्र रहेर आयोजनाहरुको प्रस्ताव गर्न आग्रह गरिन् । कार्यक्रममा भुगर्भविद भोजराज कडेरिया, आनतन्दवन शंकरनगर खानेपानीका अध्यक्ष केशवराज न्यौपाने, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपि कंडेल, प्राध्यापक डा. आरसी आचार्य, पुर्व जिशिअ टेकबहादुर थापा, शिक्षा क्षेत्रका विज्ञहरु डा. खगराज शर्मा, चण्डी पाण्डे, मोहनराज शर्मा, निलहिरा समाजकी आनिक राना लगायतले बजेटका विषयमा विभिन्न सुझाव दिएका थिए । उनीहरुले बजेटको ल्याउनुअघि आम्दानी र खर्चका क्षेत्रहरु स्पष्ट पहिचान गर्न आग्रह गर्दै हचुवाको भरमा योजना नल्याउन सुझाव दिएका थिए । तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा भने एक अर्व ३५ करोडको बजेट ल्याएको थियो ।

जसमा कुल बजेटको ४९ प्रतिशत मात्र खर्च भएको छ । नगरपालिकाले प्रस्तुत गरेको कार्यपत्रमाथि सरोकारवालाहरुले नगरको बिकाश योजनामा अघि सारिएका योजनाहरु कागजमा नभई व्यवहारमा उत्राउन सुझाव दिएका थिए । विगतमा निर्णय गरेका योजनाहरु समावेश गरि प्राथमिक्ताका आधारमा लैजान अनुरोध गरेका थिए । जनप्रतिनिधि र सेवा ग्राही बिचमा प्रभावकारी समन्वय गर्दै अगाडी बढ्न सुझावदाताहरुले सुझाए । अब कागजमा मात्र नीतिका कुरा नगरि काम गर्ने समय आएकोले सबै जनप्रतिनिधिले ध्यान दिन जरुरी रहेको सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न संघ सस्था प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, बुद्दिजिवि, सामुदायिक वन, विभिन्न समुदायका प्रतिनिधि, रिसर्च सेन्टर, प्राध्यापक, शिक्षक, बिद्यार्थी युवा तथा पत्रकारहरु, खानेपानी सस्थाका प्रतिनिधि, लगायत तिलोत्तमा नगरबासीहरुले सुझाव तथा जिज्ञासा राखेका थिए ।

उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा, नगरका बिषयमा भएका नीति तथा कार्यक्रम माथि परेको सुझावका सम्बन्धमा नगर प्रमुख बासुदेव घिमिरेले सहजीकरण गर्दै यस्ता सुझाव सल्लाह र जिज्ञासाले थप काम गर्ने उर्जा मिलेको बताएका थिए । नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नीति तथा कार्यक्रमको बिस्तृत रुप प्रस्तुति संगै आमन्त्रितलाइ स्वागत गरेका थिए भने नगरका कर्मचारी बैठक शाखाकी प्रमुख शाखा अधिकृत सिता भण्डारी घिमिरेले कार्यक्रमको सञ्चालन गरेकि थिईन ।

SHARE