२८ बैशाख, बुटवल । ‘हिमाल पहाड तराई कोही छैनौ पराई’ भन्ने नाराका साथ रुपन्देहीको शंकरनगरमा रहेको नमस्ते नेपालले आज मर्चवारका युवाहरुसंग सम्बन्ध बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पहाडी मुलका युवाहरु र मधेशी मुलका युवाहरुले एक आपसमा धोती टोपी साटासाट गर्दै सम्बन्ध बिस्तार गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा ५ नम्बर प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पहाडी र मधेशी बिचमा एक अर्कालाई गर्ने बिभेद अन्त्य गर्न जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनु पर्ने बताए । यादवले बिगतका दिनमा पहाडी र मदेशीमा अनावश्यक केहि भ्रम फैलाय पनि अहिले धेरै सचेत भएको बताए । मगर भाषा बोले पनि मैथिली भाषा बोले पनि सबैको राष्टियता नेपाली भएको हुदा यस्तो कार्यक्रमले सम्बन्ध बिस्तारमा ठुलो योगदान हुने उनको भनाई थियो ।

त्यस्तै मर्चवारमा पनि पहाडी समुदायको बसोबास भए मर्चवारको बिकासहुने र क्षेत्रीय बिभेदको अन्त्य हुने पुर्व मन्त्री तथा नेकपा प्रदेश सदस्य ओमप्रकास यादव (गुल्जारी ) ले बताए ।

नेपालीहरुले आफ्नो परिचय देश बाहिर जादा नेपाली हुँ भनेर चिन्ने तर नेपालमै जातीयता र भेगिय बिभेद हुनुको मुख्य कारण गरिबी रहेकोले तराईका कुना काप्चामा पनि जनचेतनामूलक कार्यक्रम र युवा हरुलाइ उत्पादन सङ्ग जोड्नु पर्ने आवश्यकता भएको जनता टेलिभिजन प्रदेश प्रमुख लक्ष्मी के सि ले बताइन ।

कार्यक्रम नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संचालन नमस्ते नेपालका सदस्य निराजन खरेल गरेका थिए । शंकरनगरका युवाहरुको सस्था नमस्ते नेपालले बिभिन्न समयमा प्रकोप पिडितलाई रहात प्रदान गर्ने देखि जनचेतनामुलक रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

SHARE