अचम्मै भो…त !
खोइ किन हो आज
असिना परेन यता
बाढी आएन यता
वनमा डढेलो लागेन
फ्याउरो कराएन अलच्छिनले
न भाप् भाप् गर्दै
भाप्सिलो करायो ।
रित्तो हातले आज
के समाचार दिउँ साइँला तँलाई…?

न नेताहरूले
कार्यकर्ताहरूले
जनप्रतिनिधिहरूले
दाइँमाणो पारे भन्नु
न राष्ट्रसेवकहरूले
टेबुल मुनिबाट
हात घुसारे भन्नु
न जग्गाको कारोबारमा कसैले
ऐलानी मासेर
गुठी ताछेर
चउर खोसेर
लथालिङ्ग पार्दै
ब्रम्हलुट गरे भन्नु
यो उराठिलो मौसममा
के समाचार दिउँ साइँला तँलाई…?
के समाचार दिउँ…..?

SHARE