स्व: तन्त्र,  स्वतन्त्र शब्द संस्कृतबाट आएको तत्सम हो । स्व भनेको आफू वा आफ्नो भन्ने हुन्छ भने , तन्त्र भनेको शासन हो । जसबाट यो सिद्ध हुन्छ आफू आफ्नो ठाउँमा रहेर आफ्नै लागी गरिने कर्म स्वतन्त्र हुन्छ । आफ्नो समाजको लागी आफ्नै ठाउँ ,समाज र देशको लागि लेख्नु , बोल्नु स्वतन्त्र हुन्छ । स्व भनेको अस्तित्व, प्रकृति हो, मुल केन्द्र हो ।

जसका लागि मानिस आजीवन संघर्ष गरिरहन्छ । पाणिनीय व्याकरणमा ( स्वस्व अवस्थायां प्रकृतिभाव ) भनिएको छ । जसको अर्थ प्रकृति सङ्ग सन्तुलन रहनु भन्ने हुन्छ । प्रकृति भनेको वास्तविकता हो ।यथार्थ हो । मानिस सदैव दबाब, दमन र निश्चित घेरा तोडेर आफ्नै अस्तित्व चाहना गर्ने र स्वतन्त्र बाच्न खोज्ने प्राणी हो । संसारमा बन्धन कसैले चहादैन । बन्धन नहुनु भनेको स्वतन्त्र हुनु हो ।

स्वतन्त्रताको आकार असीमित हुन्छ । यस भित्र सबै अट्ने , सबै जोडिने र सबैको स्थान सन्तुलन रहेको हुन्छ । स्वतन्त्र भनेको संतुलन पनि हो । सन्तुलन भयो भने मात्र प्रगति सम्भव छ । सन्तुलनमा नै समानता हुन्छ । समानता भनेको उदारता हो । उदारताको लागि प्रतिबन्धित घेरामा सिमित भएर होइन राजनीति ,सैद्धान्तिक आग्रहपूर्वाग्रह , धर्म सम्प्रदाय, जात, भाषा ,समाज र निश्चित घेराहरूलाई परिवेशानुकुल तोड्न सक्नुपर्छ ।

मानिसको अन्तिम उदेश्य भौतिक सुख , मान ,प्रतिष्ठा मात्र नभएर वास्तविक आनंद हो । त्यसको लागि पनि हामी स्वतन्त्र हुनु आवश्यक छ । हामी कुनै सङ्कीर्ण विचारमा कैद भएर होइन । आफ्नो अस्तित्वमा रहेर “ बसुधैव कुटुम्भकम् “भने भावना लाई आत्मसात गरेर मात्र स्वतन्त्रता लाई कायम राख्न सकिन्छ ।

पत्रकारि ताको जगतमा स्वतन्त्रता एक पहिलो आधार हो , जरो हो र माध्यम हो । महान वैज्ञानिक थोमस एल्भा एडिसनले भनेका छन् “फैलिएर रहेका र निचोर्दा रस आउने पत्रकारिता बाहेक अरु कुनै पेशा छैन । यो कति सुन्दर छ भने दैनिक हजारौ कहाँ पुग्दछ, तिनीहरूलाई ज्ञान, सूचना, शिक्षा, र मनोरन्जन प्रदान गर्दछ । मलाई आफू पत्रकार नभएकोमा खेद छ ।“ उनले भने झैं स्वतन्त्र पत्रकारिता त्यो हो जहाँ बाट अनेकौं रसहरू पैदा हुन सक्छ । जसबाट ब्याक्ति, समाज , देश र विश्वलाई नै सुसूचित गराइरहेको हुन्छ ।

स्वतन्त्र पत्रकारिताले समाजमा दैनिक रुपमा भइरहने क्रियाकलापलाई सञ्चार माध्यमबाट स्वतन्त्र ढंगले प्रकाशन प्रसारण गर्दछ र वास्तविक ज्ञान, सूचना,शिक्षा, र मनोरन्जनका साथै सचेत एवं जिम्मेवार नागरिक बनाउन प्रेरित गर्दछ । स्वतन्त्र पत्रकारिताको उद्देश्य आदर्श समाजको निर्माण हो । स्वतन्त्रता बिनाको पत्रकारिता अपांग मात्र होइन अपूर्ण हुन्छ र अधुरो हुन्छ । पत्रकारिताले समाज रूपान्तरण गर्न पर्छ । रूपान्तरण हुनु भनेको सकारात्मक परिवर्तन हुनु हो ।

सकारात्मक परिवर्तनले नै सबैको हित गर्दछ, भलो गर्दछ र वास्तविकता स्थापित गर्दछ । सत्यता, स्पष्टता , निष्पक्षता मात्र नभएर स्वतन्त्रता पनि पत्रकारितको आधार हो ।
( लेखक स्वतन्त्र पत्रकार संघ नेपाल रूपन्देहीका उपाध्यक्ष हुन् )

SHARE