तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषिलाई मुख्य प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७६/७७को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । तिलोत्तमा नगरपालिकाको सुरु भएको पाँचौं नगरसभामा “समृद्ध नगरः खुशी नगरबासी” लक्ष्यका साथ नगर प्रमुख वासुदेव घिमिरेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नगर प्रमुख घिमिरेले “विद्यालयको शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ शिक्षाको सुधारका लागि स्पष्ट दृष्टिकोण, प्रतिबद्ध र लगनशील भई अगाडि बढ्ने जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्षलाई शैषिक सवलीकरण वर्ष घोषणा गर्दै शैक्षिक विकासका नयाँ र सिर्जनशील कार्यक्रम सञ्चालन गरिने नीति अगाडि सारेको छ ।

त्यस्तै नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गरिने, दुई वर्षभित्र सामुदायिक र संस्थागत विद्यालयबीचको दुरी समान गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । त्यस्तै सामुदायिक विद्यालयको पूर्वाधार सुधार कार्यक्रम अन्तर्गत टिनको छाना भएका विद्यालयहरुमा फल्स सिलिङ राखिने, प्रत्येक विद्यालय क्षेत्रभित्र आकर्षक फूलबारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै नगर प्रमुख छात्रवृत्ति कोषलाई प्रभावकारी बनाउने, संस्थागत विद्यालयका विद्यार्थीहरुलाई उपलव्ध गराउनुपर्ने छात्रवृत्तिलाई १० प्रतिशत कायम गरी कार्यान्वयन गर्ने नीति नगरपालिकाले लिएको छ । त्यस्तै नगरपालिकाले स्वस्थ नगरबासी, स्वस्थ नगर भन्ने नारालाई निरन्तरता दिंदै नगरभित्रका सबै बर्थिङ सेन्टरको गुणस्तर सुधारमा जोड दिएको छ । नगर प्रमुख घिमिरेले सुनौलो अवकाश योजना कार्यान्वयनलाई निरन्तरता दिइएको बताउँदै नगरभित्रका उपयुक्त स्थानमा भ्याक्सिन सव सेन्टर र कोल्ड सेन्टर स्थापना गर्दै पूर्ण खोपको सुनिश्चितता गरिने बताए ।

वडा नंं. १७ मा रहेको “बीपी ग्राम” सञ्चालनमा रहेका आन्तरिक विवादहरुको व्यवस्थापन गरी भौतिक पूर्वाधारसहित आधुनिक प्रसुती गृहको रुपमा विकास गर्ने, सरकारी मेडिकल कलेज र गौतमबुद्ध मुटु अस्पतालको निर्माणमा समन्वय र सहकार्य गर्ने प्रयोगशालाहरुको दीगोपनको लागि प्रयोगशाला व्यवस्थापन कोष खडा गरी सेवालाई निरन्तरता दिने नीति नगरपालिकाले अगाडि सारेको छ । “एक घर, एक करेसाबारीः पकेट क्षेत्रमा व्यावसायिक तरकारी” भन्ने नाराका साथ सुरु गरिएको “तरकारी पकेट क्षेत्र”कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको छ । माछा उत्पादनमा आत्मनिर्भर नगरपालिका कोषणाका लागि माछापोखरी निर्माण लागतको निश्चित प्रतिशत रकम अनुदान उपलव्ध गराउने नीति पनि नगरपालिकाले लिएको छ ।

त्यस्तै किसानलाई उत्पादनमा आधारित अनुदान दिइने नगर प्रमुख घिमिरेले बताए । त्यस्तै पशुबीमामा आगामी वर्ष ५० प्रतिशत अनुदान दिइने भएको छ । नगर प्रमुख घिमिरेले आगामी वर्ष विकासको कोसेढुंगा हुने बताए । त्यसैगरी सिंचाईलाई व्यविसथत गरिने, आगामी असोज ९ र १० गते तिलोत्तमा लगानी सम्मेलन गर्ने, तिलोत्तमा उद्योग ग्रामको पूर्वाधार निर्माण सुरु गरिने, पर्यटकीय स्थलहरुको विकास गर्नेलगायतका कार्यक्रम पनि नगरपालिकाले अगाडि सारेको छ ।

SHARE