जुनी भण्डारी
प्राय मेरा सबै साथिहरुको चाहना आफुभन्दा अलि धेरै पढेको,आफुले भन्दा राम्रो पोस्टको जागिर खाएको यात आर्थीक रुपमा सम्पन्न ब्यक्तिसँग नै बिहे गर्नुपर्छ भन्ने हुन्थ्यो तर मेरो सोच अरुभन्दा अलि भिन्नै थियो। बिहे त त्यस्तो केटासँग गर्नुपर्छ, कुनै न कुनै कुरामा ऊ भन्दा आफु एककदम अगाडि भैयोस,आफुभन्दा हरेक कुरामा पर्फेक्ट केटासँग बिहे गर्ने चाहना कहिल्लै भएन। यसको मतलव केटामा कुनै कमजोरी होस् यो होइन,केटा पर्फेक्ट होस् तर उ भन्दा कुनैन कुनै कुरामा आफु स्ट्रङ्ग हुन पाइयोस्।

त्यसैले पनि मैले एउटै संस्थानमा काम गर्ने म भन्दा एक तह तल्लो पोस्टको सहकर्मीसँगको बिहे प्रस्तावलाइ स्विकार गरे। मेरो साथि,उसको बैनी पर्ने मार्फत बिहेको प्रस्ताव आयो,दुबैको सहमतिमा परिवारका सदस्यहरु समक्छ्य कुरा राखियो र सबैको स्विकृतिमा बिहे सम्पन्न पनि भयो। उमेरमा हामि एउटै सालका थियौ अझ एक महिना म जेठी रहेछु तर नागरिकतामा मेरो उमेर २ बर्ष घटाइएको थियो यो कुरा उसलाइ बिहे अगाडि नै जानकारी दिएकि थिएँ।यसमा हामि दुबैलाइ कुनै आपत्ति थिएन। दुबैको मनमा एकअर्काप्रति सम्मान थियो,सहयोग,मायाको भाव थियो। बिहेका दुइ बर्ष यसरी नै बिते।

साथिभाइ,आफन्तहरु भन्ने गर्थे तेरो श्रीमान त कस्तो ह्याण्डसम, तँ भन्दा धेरै राम्रो छ उ। कसैले भन्थे बुडा त यसले पाएकै हो,कसैले भन्थे तलाइ उसले मन पराएकै हो नत्र त एकसे एक राम्री राम्री केटिहरु पाउथ्यो उसले अझै पनि १६,१७ बर्षका केटिहरु उसको सुन्दरतामा लठ्ठ पर्छन्। कता कता मन चस्स हुन्थयो। कसैले त मेरो पछाडि यस्तो राम्रो केटो फसेकै हो भन्ने पनि गर्थे रे। यस्ता कुराहरु सुन्दा आफ्नो सुन्दरता र उमेरलाइ लिएर म अलि तनावमा पर्न थाले। जब म उसका साथीहरुका जोडिहरु हेर्थे सबैका श्रीमतीहरु म भन्दा धेरै राम्री अनि कम उमेरका देख्थे, तनाव अझ बढ्थ्यो।

अब त उसँग कतै घुम्न जान,सँगै फोटो खिच्न पनि मलाइ हिचकिचाहट हुन थाल्यो। साथिहरुले फेमिली गेटटुगेदर राख्दा पनि म कुनै न कुनै बहनाले सामेल नहुन खोज्थे। सामेल भइहाले पनि म त्यहा कम्फरटेबल हुदिनथें। कहिले त उसँग बिहे गर्नुु नै मैले भुल गरेछु कि जस्तो लाग्थ्यो। यस्तै असहज र हिनताबोध हुन नपरोस् भनेरै मैले जहिले पनि श्रीमान भन्दा आफु अब्बल हुनुपर्छ भन्ने मान्यता राख्थें तर आज म त्यसमा चुकेरै छाडे,आखिर म सुन्दरताको मामलामा श्रीमान भन्दा कमजोर ठहरिए।

यहि कारणले हाम्रो बैवाहिक जीवनमा कुनै आँच आउने त होइन डर पनि लाग्न थाल्यो,तर मन बुझाउने एउटै कारण थियो मेरो जागिर। जे भएपनि उ भन्दा म ठूलो पोस्टमा जागिर खाएकि छु भन्ने सोचाइले केहि आत्मसन्तुष्टि मिल्थ्यो। उ सुब्बा सरह,म छैठौ तह अधिकृत सरह,केटि अधिकृत छे भनेर इन्जिनियर लगायत अधिकृत स्तरकै अन्य ब्यक्तिबाट बिहेका प्रस्ताव नआएका पनि होइनन्, कोहि अलि बढि नै धनाड्य थिए त कोहि बढि नै अब्बल,मेरो स्तरसँग बिल्कुलै नमिल्दा। तर मैले शारिरिक र अनुहारको सुन्दरताको बारेमा त ख्यालै गरिनछु यो त झनै ख्याल गर्नुपर्ने कुरा पो रहेछ जस्तो महसुस हुन थाल्यो।

हामि दुबैजना सातौ तहमा बढुवाको लागि तयारी गरिरहेका थियौ,पढ्ने क्रममा घरको काममा हामि दुबैजनाले समय दिन्थ्यौ। मलाइ कता कता आफ्नै श्रीमानप्रति इर्ष्याको भावना जाग्न थालेको थियो डर लाग्थ्यो कतै मेरो नाम ननिस्केर उसको सातौ तहमा नाम निस्किने त हैन,मन पनि कस्तो पापी एक मनले उसको नाम निस्कियोस् भनेर प्रार्थना गर्थ्यो अर्को मनले उसको नाम निस्कियो भने म उ भन्दा हरेक कुराले असक्छ्यम हुन्छु भन्ने डर लाग्थ्यो। नभन्दै मेरो डर वास्तविकतामा बदलियो। परिक्छ्याको समयमै मेरो पेटमा गर्भ रह्यो डक्टरको सल्लाह बमोजिम बेड रेस्ट गर्नुपर्ने भो, म धेरै तनावमा रहन थालें,मलाइ गर्भको बच्चा भन्दा मेरो एक्जाम बढि महत्वपूर्ण लाग्यो र डक्टरको सल्लाहलाइ पनि वास्ता गरिन त्यसको परिणाम स्वरुप ३ महिना नपुग्दै मेरो मिसक्यारेज हुन गयो।

स्वास्थ्य झनै बिग्रियो एक्जाम दिन सकिन। पछि श्रीमानको सातौ तहमा नाम निस्कियो। अब त म हरेक कुराले श्रीमान भन्दा कमजोर भए सुन्दरता,जागिर,उमेर , शारिरिक कमजोरी सबै । तनाव र कमजोरिले गर्दा मेरो सुन्दरता झनै बिग्रदै गयो । म बिना कारण श्रीमानसँग रिसाउन, झर्किन थलेकी थिएँ,सानो सानो कुरामा रिस उठ्थ्यो,रुन मन लाग्थ्यो आफैले आफुलाइ निकै कमजोर महसुस गर्न थाले। तर यसमा मेरो श्रीमानको कुनै दोश थिएन। एकदिन अनौठो सोंच आयो मनमा,यसरि त बैवाहिक सम्बन्ध अगाडि बढ्न सक्दैन,मेरो कारणले बिचरा उसको जिन्दगी पनि सोचे जसरी अगाडि बढ्न सक्दैन बरु उसको जिन्दगिबाटै म हटिदिन्छु उसले अझैपनि म भन्दा सुन्दर,सक्छ्यम जीवनसाथी पाउछ र म पनि एक्लै जिन्दगि बिताउने बानी पार्नेछु।

यहि सोंचेर उसँग डिभोर्स गर्ने निर्णय गर्छु। बडो हिम्मत जुटाएर उसलाइ मेरो निर्णय सुनाउछु। उसले विश्वास गर्दैन पहिले,यस्तो कुरामा ठट्टा नगर मसँग भन्छ निकै बेरपछि यो कुरा वास्तविक हो भनेर उसलाइ सम्झाउन सफल हुन्छु म। उसले डिभोर्सको कारण सोध्दा मैले आफ्नो अरु कसैसँग अफेयर रहेको र उसँगै बस्न चाहेको भनेर झुठो कथा बताउछु। उसको आँखामा भरिएका आँशुहरु गालामा नझरुन् भनेर उ आँखा झिम्काउने आँट पनि गर्दैन। यति सबै भइरहदा म पनि कहाँ खुशी थिए र तर पनि आफुलाइ निकै कठोर बनाउने कोशिस गरेर उसको सामु उभिएकि थिएँ।

यत्तिकैमा बेडको साइडमा रहेको टेबुलमा मोबाइल बज्छ,सहकर्मि रुबिनाको फोन रहेछ म आधा निद्रामै फोन रिसिव गर्छु हेलो! उताबाट रुबिना मधुरो आवाजमा बोल्छे ( अझै सुतिराको ? हेरन कस्तो नराम्रो घटना घटेछ नि राती त, हामि खाजा खान जाने रेस्टुरेन्टको शिव दाइले सुसाइड गरेछन् नि, बुडिको अर्कै केटासँग अफेयर रहेछ रे त्यो थाहा पाएर। “ मेरो पुरै निद्रा एक्कासी खुल्यो,रुबिनाले अरु के के भन्दै थिइ मैले केहि सुन्नै सकिन। फोन राखेर निदाइरहेका श्रीमानतर्फ हेरे। डिभोर्सको निर्णय धन्न सपनामा गरेकि रहेछु भनेर खुशी भए।

शनिवार भएकोले ऊ उठिसकेपछि आज मन्दिर जाने योजना बनाए। नजिकैको मन्दिर गयौ, भगवानलाइ साक्छी राखेर उसलाइ नढाटिकिन एउटा कुरा भन्नु भनेर सोधे( के तपाइलाइ कहिल्लै मेरो बुडि नराम्री छे भनेर आत्मग्लानि हुन्छ, साथिभाइ आफन्तको अगाडि मसँग हिड्दा कहिल्लै असहज महसुस हुन्छ ?
उसको जवाफ यस्तो थियो(“ पहिलो कुरा त कोहि राम्रो लाग्नु र कसैको माया लाग्नु फरक कुरा हो,मैले तिमिलाइ बिहे गर्नु अगाडि तिमिभन्दा राम्रा केटि देखे होला तर माया त तिम्रै लाग्यो,जुन माया त्यो बेला लागेको थियो अहिले पनि उस्तै छ र सधै उस्तै हुनेछ। र अर्को कुरा हामी केहि यस्ता सम्बन्धमा जोडिएका हुन्छौं,नातामा जोडिएका हुन्छौ,जस्तै आफ्ना आमाबाबु,आफ्ना सन्तान,आफ्ना जीवनसाथी तिनिहरुसँग हिड्दा,तिनिहरुलाइ आफन्त भनेर चिनाउदा कहिल्लै लाज लाग्छ त ? फेरि मैले तिमिलाइ कसैको करकापमा,जवरजस्ति दबावमा बिहे गरेको पनि त होइन ।“

उसको जवाफ सुनेर म आफैले आफुलाइ धिक्कारे,साच्चै ति भगवानको मन्दिरमा बजेका घण्टिले जसरी मनलाइ आनन्दित तुल्याउँछन् त्यो भन्दा आनन्दित उसको जवाफले बनायो मलाइ।
अब म नचाहिने कुरामा तनाव लिनेछैन,दुनियाँले के भनेको छ भनेर दुखी हुनेछैन, बस उसको नजरमा म राम्री श्रीमती हुँ यो सोचेर खुशी हुनेछु। यहि भन्दै समझदार जीवनसाथी जुराइदिएकोमा भगवानलाइ फेरी एकपल्ट नमन गरें।

SHARE