मोहन न्यौपाने , तिलोत्तमा सिटी असार २३।
ओहो परिक्षा त सकियो अब हाइसुख्ख भो … भन्दा नभन्दै परिक्षाको नतिजाको पर्खाइमा रहेका एसईई दिएका कैयौ बिद्यार्थीहरु अहिले नतिजा आइसकेपछि कुन कलेज पढ्ने र कुन बिषय लिएर पढ्ने भन्ने टाउको दुखाइमा छन् । यो टाउको दुखाइ विद्यार्थीको त छ नै संगै अभिभावक को समेत यो बिषय उस्तै दरो रुपमा आएको छ । पहिलेको जस्तै उच्च शिक्षाका लागि पहिले नै सोच्ने अनि कलेज डिजाइन गर्ने बानि हटिसकेको अवस्थामा यो हुनु स्वाभाविक हो । तर अहिलेको २१ औ शताब्दीको युगमा पनि कुन बिषय पढ्ने भन्नेकुराले खासै ठुलो अर्थ राख्दैन न कि कलेज ले राख्छ । तर कुन कलेजमा आफ्नो भविष्य छ भन्ने हेक्का भने बिद्यार्थी र अभिवावकले राख्ने पर्छ ।
कुनै बेला ’आइरन गेट’ मानिएको तत्कालिन एसएलसी अहिले एसईई भएपछी खासै चासो को रुपमा हेरिएको छैन । नतिजा सार्वजनिक नभएसम्म उच्च शिक्षाका लागि कस्ता कलेज र कुन विषय पढ्ने
भन्ने कौतुहलता विद्यार्थीमा थियो भने अहिले राम्रा कलेजको खोजीमा विद्यार्थी विभिन्न ठाउमा चहार्न थालिसकेका छन् । उच्च माध्यमिक विद्यालय विद्यार्थी तान्न तामझाम गर्दै छन् । त्यस्तै निजी कलेजहरू एसईईमा उच्च अंक ल्याएका विद्यार्थी भित्र्याउने दाउमा हुन्छन् । विद्यार्थीलाई आकर्षित गर्न कलेजले विभिन्न माध्यममार्फत आफ्नो प्रचार-प्रसार पनि सुरु गरिसकेका छन् ।
पछिल्लो समय तिलोत्तमा नगरपालिका भनेको यस्तो शैक्षिक हव बनेको छ कि जहा सम्पूर्ण खाले बिषयमा रोजी रोजी आफ्नो स्तर अनुसारको कलेज छान्न पाइन्छ । सामुदायिक मै उत्कृस्ट कलेज, मावि तह र उच्च माविले मनग्य बिद्यार्थी उत्कृस्ट बनाउन सफल छन् । तथापि यहा सामुदायिक भन्दा निजि स्तरका कलेजमा पढ्नेको घुइचो पनि कम छैन । तिलोत्तमा नगरपालिकालाई शैक्षिक हब संगै विद्यार्थीका लागि पनि अन्यत्रका कलेज हरुले हेरेको पाइन्छ । जस्तै बुटवल उपमहानगर पालिकामा रहेका हामि उत्कृस्ट भन्दै हिड्ने कलेजहरु बढीजसो तिलोत्तमा कै विद्यार्थीमा निर्भर रहेको पाइन्छ । तर यहाकै उच्च शिक्षा प्रदान गर्दै आएका तिलोत्त्तामा मावि . सिद्दार्थ मावि, बुटवल पब्लिक मावि, प्यारामाउण्ट मावि, न्यु इन्भार्मेंट मावि, तिलोत्तमालाइ छोएको मणिमुकुन्द मावि, कुवरवर्ति मावि, सेन्ट जोसेफ, पर्ल इन्टर्नेशनल, पामिर इन्टरनेशनल एकेडेमी, न्यु लाइट कलेज आदि निजि स्तरका राम्रा कलेज हुन् यहा आ-आफ्नै किसिमका प्राध्यापक शिक्षक र बिषय छन् । तर सामुदायिक स्तरका राममणि बहुमुखी क्याम्पस, जनज्योति मा वि, शान्ति नमुना मावि, शिवपुर मावि, जनता मावि मोहनाजोत, गिर्वाण सरस्वति सस्कृत तथा साधारण मा वि, शंकर नगर दुर्गादत्त मावि, पशुपति मावि पनि कम भने छैनन् ।

शुल्कमा एकरुपता
निजि तथा सामुदायिक स्कुलका आ आफ्नै अडान र शुल्क छन् । बिषय अनुसारका र सुबिधा अनुसारका शुल्क निर्धारण गरिएको देखिएपनि अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने स्कुलले राम्रै बिद्यार्थी पाएका छन् । शुल्कको कारण खासै सामज्यस्यता नदेखिएपनि मनोमानी ढंगले शुल्क लिएको प्रति धेरै को गुनासो भने छ ।

रोजाइमा कस्ता कलेज ?
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक भएसंगै सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जनाले जीपीए ०.८० देखि जीपीए ४ सम्म ल्याएका छन्। दुई जनाको सबै विषय र ४८ जनाको १ विषय रद्द गरी ५० जना विद्यार्थीको परीक्षा रद्द भएको पनिकाले जानकारी दिएको छ। यो वर्ष ४ लाख ७५ हजार विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए। यस वर्षको एसईई परीक्षा ०७५ चैत १० देखि २१ गतेसम्म सञ्चालन भएको थियो। जसमध्य प्रदेश ५ बाट ७५ हजार ८ सय ४४ विद्यार्थीले जीपीए ०.८० देखि जीपीए ४ सम्म ल्याएका छन्।

कुन विषय र कलेज रोज्ने
आफ्नो भविष्य सुनिश्चित हुन्छ भनेर विद्यार्थी परामर्श र प्रवेश परिक्षामा लागिसकेका छन् । कतिपय विद्यार्थीहरू प्लस टु अध्ययनका लागि धेरैले ब्रिजकोर्स पनि गरिसकेका छन् । यहि शैक्षिक सत्रबाट ११ र १२ मा बिज्ञान संकाय शुरु गरिएको शान्ति नमुना माध्यामिक बिद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले निजि स्तरका कलेज भन्दा आफुहरुमा कुनै पनि कमि नभएको बताएका छन् । सो बिद्यालयबाट यसबर्ष ३३७ बिद्यार्थी पास भएका थिए । यसप्रति तिलोत्तमा नगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाराम अर्यालले सामुदायिक बिद्यालयको नतिजा राम्रो रहेकोले उच्च शिक्षाका लागि पनि यस्ता बिद्यालयहरु विद्यार्थीको शैक्षिक हव बन्नेमा ढुक्क रहनुपर्ने जनाएका छन् । त्यस्तै निजि स्तरका बिद्यालयले पनि शैक्षिक गुणस्तरका लागि दौड धुप गरेकै छन् । रुपन्देहीमै पहिलो पटक स्पोर्ट्स साइन्सको शुरुवात गरेको कुवरवर्ति इन्ग्लिश स्कुल तिलोत्तमा-८ प्रदिपनगरका प्रधानाध्यापक दिपक खनाल विद्यार्थीको रुचि र बिद्यालयको सुविधामा कुनै पनि कन्ज्युस्याई नगरिएको बताउछन । उनले ग्रामिण स्थानमा स्कुल भएकोले निजि स्कुल भएपनि अन्य स्कुलको तुलनामा शुल्क सस्तो रहेको बताए ।
कलेज छनोटका लागि विद्यार्थीको रुचि प्राथमिकतामा हुन्छ । रुचिअनुसार पढ्न चाहेको विषय छनोट गर्न विद्यार्थीले सबैको सल्लाह लिनु उपयुक्त हुन्छ । आफ्नो साथी जुन कलेजमा भर्ना भयो त्यहीं दगुर्दा अध्ययनमा समस्या उत्पन्न हुन सक्छ । आफू भविष्यमा के बन्ने, के पढ्ने, कस्तो करियर बनाउने भन्ने आफैंले निर्णय गर्नुपर्छ । पढ्ने केका लागि हो, विदेश जाने कि स्वदेशमै बसेर व्यावसायिक बन्ने भन्नेको पनि निर्णय गर्न सक्नुपर्छ । इच्छा र रोजाइसँगै आर्थिक पक्षमा पनि उत्तिकै ध्यान दिनुपर्छ । कलेज र विषय छान्दा अरूको दबाबमा भन्दा आफ्नो रोजाइको छान्न प्राध्यापक डाक्टर मुरारी पराजुलीको सुझाव छ । ’अरूको प्रेसरमा विषय छान्दा पढाइमा ध्यान दिन सकिँदैन,’ उनले भने । कतिपय विद्यार्थीले कलेजको भौतिक पूर्वाधारलाई मात्र आधार मान्छन्, तर बाहिरी तडकभडकभन्दा पनि कक्षा सञ्चालनको पद्धति पनि राम्रोसँग बुझ्नुपर्छ र रोजेको स्कुलको शैक्षिक नतिजा कस्तो रहेको छ ? उच्च अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीको संख्या कस्तो छ ? भन्नेमा पनि विचार गर्नुपर्ने उनि बताउँछन् ।
राम्रो कलेज हो(होइन छुट्याउन परीक्षा परिणाम महत्त्वपूर्ण हो । ’नियमित पठनपाठनबाहेक विद्यार्थीको व्यक्तित्व विकासका लागि के-कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ? बुझेर मात्रै कलेज भर्ना गर्नु अत्ति उत्तम हुन्छ ।

SHARE