कर्मचारी अभावले बन्द यहाँस्थित विषादी मापन प्रयोगशाला मंगलबारदेखि सञ्चालनमा आएको छ । प्रदेश सरकारले समायोजन भएका प्राविधिक अधिकृतलाई प्रयोगशालामा पठाएपछि कृषिउपज थोक बजार केन्द्रमा विषादी मापन सुरु भएको हो । कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशबाट तलबभत्ता खाने गरी कर्मचारी पठाएर प्रयोगशाला सञ्चालनमा आएको बताउनुभयो । ‘कर्मचारी प्रदेशमा आउँदा प्रयोगशाला बन्द थियो । विषादी मापन नहुँदा जनस्वास्थ्यमा असर पर्ने देखियो,’ उहाँले भन्नुभयो, ‘कृषि निर्देशनालयमा समायोजन भएका कर्मचारी पठाएर काम सुरु गरेका छौं ।’

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा २ प्रकारका विषादीको परीक्षण हुन्छ । प्रयोगशालाको स्तरोन्नति गरी सञ्चालन गर्न र प्रदेश मातहत ल्याउन मन्त्रालयले कसरत थालेको छ । त्यसका लागि संघमा मौखिक र लिखित प्रस्ताव गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले प्रयोगशाला चलाएर तत्कालका लागि संघीय सरकारलाई सहयोग गरेको बताए । यसको निरन्तरताका लागि प्रयोगशाला हस्तान्तरण गर्न उपयुक्त हुने बताउनुभयो । कृषिउपज थोक बजार केन्द्रमा आउने फलफूल तथा तरकारी मापनका लागि ३ वर्षअघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको थियो ।

SHARE