मोहन न्यौपाने , असार २९ तिलोत्तमा ।
कसरी हुन्छ खै घोषणा मात्रै त होला ! अभियान शुरु हुदा यस्तै आवाज सुनिन्थ्यो । तर अहिले लाग्छ अभियान शुरु नगरेको भए सायद यतिसम्म पनि सम्भव हुने थिएन । शत प्रतिशत त हामी नगरबासी नलागी यो सम्भव हुने कुरै थिएन । देशभरिका धेरै नगरपालिकाहरुमा यस्तो कसरत समेत गरिएको छ तर केहि नगरपालिका प्लास्टिक मुक्त भएका छन् अहिले ति नगरपालिकामा जादा त्यहाको जनताको कुरा सुन्दा अचम्म लाग्छ । आखिर गरे के हुदैन र ? एउटा स्कुल या अस्पताल या कुनै संघ सस्थालाइ प्लास्टिक मुक्त गराउन सकिन्छा भने नगर लाई नसकिने कुरा के छ र ? सधै फोहोरमा बस्ने कि सफा पनि गर्ने ? यी प्रश्नहरुको समग्र जवाफ अब तिलोत्तमा नगरबासीहरुले पहिले आफ्नो व्यक्तिगत सरसफाई अनि घर, टोल, समाज वार्ड हुदै नगरलाइ प्लास्टिक मुक्त बनाउने घोषणाले दिनेछ ।
घोषणाको तयारी
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित नगरपालिका घोषणा गर्ने तयारी भैरहेको छ । हुनत अहिले धेरै जसो बजार आउने हरूको हातमा प्लास्टिक को झोला त्यति देखिदैन यो भएकै एक बर्ष अघिको अभियान हो । पछिल्लो समय बजार अनुगमन र प्लास्टिकका झोलाको बिकल्पका झोलाहरुको बारेमा नगरबासीहरु सुचित भैसकेका छन् । सबै सरोकार वाला निकाय संगको सुझाब संकलन र प्रतिबद्दताको आधारमा नगरपालिकाले यो एक बिशेस कार्यक्रम गरि घोषणा गर्दैछ । नगरपालिकाले सरोकारवाला संघ–संस्थाहरुसँगको साझेदारीमा २०७५ वैशाख १ गतेदेखि प्लाष्टिक निषेधित अभियान सञ्चालन गरेको थियो । ‘प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा प्रतिकूल असर पारेकाले यसको प्रयोगलाई कम गराउन हामीहरु प्लाष्टिक झोला निषेधित नगरपालिका बनाउने अभियानमा जुटेका हौं ।’ नगर प्रमुख बासुदेव घिमिरेले भने । नगरपालिकाले यहीँ साउन १ गते नगरलाई प्लाष्टिक झोला निषेधित घोषणा गर्ने तयारी गरेको छ । नगर प्रमुख घिमिरे भन्छन्,‘सबैले संकल्प गरौं, नगरलाई प्लाष्टिक झोलामुक्त बनाउन सकिन्छ ।’ नगरपालिकाले अभियान चलाएपछि कतिपय विद्यालयसमेत प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरपालिकामा विभिन्न संघ–संस्था, क्लब, टोल विकास संस्था, सहकारीलगायतले समेत प्लाष्टिक झोलाको विकल्पमा जुट, अल्लो, कपडाबाट बनेका झोलाहरु वितरण गर्दै आएका छन् ।नगरपालिकाले प्लाष्टिक झोलाको विकल्पमा अन्य वस्तुबाट बनेका झोला वा वैकल्पिक साधनको प्रयोग गर्न नगरबासीमा आह्वान गर्दै आएको छ । नगरपालिकाको यो अभियानसँगै फाइबर झोला बनाउने उद्योगहरु नगरमा थपिन थालेका छन् भने रहेका उद्योगहरुले समेत फाइबरका नयाँ–नयाँ आकार-प्रकारका झोला बनाउन थालेका छन् । नगरमा भएका प्लाष्टिक झोला उत्पादन उद्योगले आफ्नो उत्पादन बन्द गरेका छन् ।

 घोषणा प्रतिबद्दता
यो अभियानमा राजनीतिक दल, व्यवसायिक संघ–संस्थाहरुले ऐक्यवद्धता जनाउँदै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘आजको अवस्थासम्म आइपुग्दा प्लाष्टिक झोलाको प्रयोगमा ३० प्रतिशत जतिले कमी आएको हामीले पाएका छौं । अब कडाइका साथ बजार अनुगमन गर्ने हो भने यो अभियान सफल हुन्छ ।’ नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेयले भने । केही दिनअघि बसेको सर्वपक्षिय बैठकपछि जनप्रतिनिधि, राजनीतिक दल, संघ–संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा आह्वान गर्दै नगरबासीलाई प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गरेका थिए । नगरपालिकाले यस सम्बन्धमा पटक–पटक सार्वजनिक सूचना जारी गर्नुका साथै माइकिङसमेत गर्दै आएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी तिलोत्तमा नगर कमिटीले यो अभियानलाई सफल बनाउन नगरबासीलाई आह्वान गरेको छ । नगरपालिकामा प्लाष्टिक निषेधित अभियान सञ्चालन गरिएसँगै फाइवरका झोलाको प्रयोग बढिरहेको छ । तिलोत्तमा च्याम्बर अफ कमर्शले नगरका सबै हाटबजारमा पुगेर फाइबरका झोला वितरण गरिसकेको छ । फाइबरका झोलाहरु समेत प्लाष्टिकका झोलाकैं आकार-प्रकार र उस्तै शैलीमा आएका छन् । प्लाष्टिक झोलाको विकल्पमा नगरबासीहरुमा फाइबरको झोला प्रयोग बढ्दै गएको तिलोत्तमा च्याम्बर अफ कमर्शका अध्यक्ष जेपी कँडेल बताउँछन् । उत्पादक तथा विक्रेताहरु फाइबर झोलाको बजारीकरणका लागि पसल–पसल पुग्ने गरेका छन् । तिलोत्तमामा प्लाष्टिक झोलाका साथै प्लाष्टिकका प्लेट, कप, चम्चाको प्रयोगलाई पनि निषेध गरिएको छ ।पछिल्लो समय प्लाष्टिकको झोला, प्लेट, चम्चा, गिलास बनाउने उद्योगहरु नगरमा नखुलेको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिए । अभियानमा व्यवसायीहरुको पनि साथ रहेको अध्यक्ष भण्डारीले बताए । ‘व्यापारीले नदिने हो भने प्लाष्टिक झोलाको प्रयोग स्वतः घट्छ । यो मानव स्वास्थ्यसँग जोडिएको अभियान भएकाले सबैले सहयोग गर्नुपर्छ,‘नेकपाका नगर सचिव लक्ष्मण खनाल भन्छन्, ‘सुरुमा हेही अप्ठ्यारो भए जस्तो लाग्न सक्छ । तर क्रमशः बानी पर्दै जान्छ । खुला दिसामुक्त अभियान पनि एक्कासी सफल भएको होइन, क्रमशः यो अभियानले पनि पूर्णता पाउँछ ।’ भारतीय सुनौली बजारमा समेत प्लाष्टिक झोला निषेध भैरहँदा त्यहाँ प्रयोग हुने फाइबर झोला समेत यहाँ आउन थालेको व्यापारीहरु बताउँछन् । केही महङ्गो भए पनि पुनः प्रयोग गर्न सकिने र वातावरणीय प्रदुषण न्यून हुने भएकाले नेपालका विभिन्न नगरपालिकासहित भारतमा समेत अचेल फाइबरको प्रयोग बढ्दै गएको छ ।

विकल्प के त ?
बीस वर्ष पहिलेसम्म व्यापारीले कागजको थुङ्गामा सामान दिने गर्दथे । प्लाष्टिक झोलाको प्रयोग अत्यन्त न्यून थियो । तर पछिल्ला वर्षहरुमा प्लाष्टिक झोलाको प्रयोग यत्ति बढेको छ कि फोहोरमैलाको प्रमुख कारण यहीँ नै बनेको छ । नकुहिने फोहोरमैलामा प्लाष्टिक अग्रस्थानमा छ । प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदूषण, चौपाया तथा खेतीमा हानि पुर्याउने जस्ता समस्या भित्रिएका छन् । तिलोत्तमा–८, शिवपुरका व्यवसायी ढालानन्द चालिसे नगरबासीमा प्लाष्टिक प्रयोग गर्नुहुँदैन भन्ने सचेतना वृद्धि भएको बताउँदै कागजको थुंगामा सामान बेच्न सकिने बताउँछन् । नगरपालिकामा प्लास्टिक निषेधित अभियान सञ्चालन गरिएसँगै यहाँ अचेल फाइबरका झोलाको प्रयोग बढिरहेको हो । फाइबरका झोलासमेत प्लास्टिकका झोलाकै आकाररप्रकार र उस्तै शैलीमा आएका छन् । प्लास्टिक झोलाको विकल्पमा नगरवासीहरूमा विस्तारै फाइबरको झोला प्रयोग बढ्दै जान थालेको र ब्यबसायी मित्र हरुले पनि यस्तो झोला पसल पसलमा राख्ने क्रम बढेको तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल बताउँछन् । नगरपालिकामा विभिन्न संघ–संस्था, क्लब, टोल विकास संस्था, सहकारीलगायतले प्लास्टिक झोलाको विकल्पमा जुट, अल्लो, कपडाबाट बनेका झोला वितरण गर्दै आएका छन् ।

SHARE