२३ भदौ, काठमाडौं । राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ । यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ । यसलाई न्युनीकरण गर्न मंगलबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ ।‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गरे ।

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्नेछन् । कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

मोबाइलबाटै भाडा बुझाउन सकिने
कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घन्टा लगाएर चार्ज गर्ने विकल्प पनि छ । कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उदघाटन गरिसकेको छ । यी बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिनेछ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ । आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने कम्पनीको भनाइ छ । यो बसमा पछाडिका सिटहरु यात्रुको आकर्षणको कन्द्रमा हुनेछन् । किनभने पछाडिको सिटमा बस्दा फिल्म हलभित्र बाल्कोनीमा बसेजस्तै अनुभव हुन्छ ।

सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोकेकाले कम्पनीले यात्रा कार्डमार्फत यात्रा गर्दा एउटा यात्रमा २० प्रतिशत छुट हुने गरी लाभ दिने बताएको छ । कम्पनीले २१५ रुपैयाँ मुल्यको यात्रा कार्डको विक्री पनि सुरु गर्दैछ ।

SHARE