रामप्रसाद आचार्य 
स्थानीय सरकार गठन भएयता कुनै न कुनै नयाँ कामको शुरुवातले चर्चा पाउने नगरपालिकाको नामले परिचित छ रुपन्देहीको तिलोत्तमा नगरपालिका । तीव्र सहरीकरण भैरहेको रुपन्देहीको मध्यभागमा अवस्थित यो नगरपालिका २०७१ सालमा स्थापना भएको थियोे । तुलनात्मक हिसाबले जनप्रतिनिधि आएपछि नगरको पूर्वाधार निर्माणको कामले केही गति पाएको अधिकांश स्थानीयले महशुस गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, सडक–पूर्वाधार, फोहरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धनजस्ता नागरिकका अपेक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको यसको नेतृत्वको भनाइ छ । फरक अभ्यास, नयाँ कार्यको थालनीले यो नगरपालिका मुलुकमै चर्चामा छ । स्थानीय कानुन निर्माण, सामुदायिक विद्यालयमा दिवा खाजा, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड, बिरामीलाई चाहिने रगतको सेवा भुक्तानी, पशु बीमा अनुदान, सिटी फ्लावर र कलर कोड निर्धारण, जन्मदिनमा वृक्षरोपण गर्न नगरबासीलाई आह्वान, सार्वजनिक कार्यक्रम तोकिएकै समयमा सुरु गर्नुपर्ने, सार्वजनिक कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याज निषेध र प्लाष्टिक झोलामुक्त नगर घोषणालगायतका कार्यक्रमलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । यस्तै अर्को नयाँ कामको शुरुवात स्वरुप आउँदो असोज ९ गते लगानी सम्मेलनको तयारी गरिरहेको छ । आज हामीले यसै विषयमा केन्द्रीत रहेर यसको तयारी, नगरपालिकाको अपेक्षा प्रदेश तथा संघीय सरकारबीचको सहकार्यका विषयमा नगर प्रमुख बासुदेव घिमिरेसँग कुराकानी गरेका छौं । प्रस्तुत छ यही विषयवस्तुमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

लगानी सम्मेलनको के उद्देश्यका लागि गर्दै हुनुहुन्छ ?
हाम्रो योजनाका बारेमा आमनागरिकलाई प्रष्ट पार्ने स्थान दिनुभएकोमा । लगानी सम्मेलनको उद्देश्यभन्दा अगाडि तिलोत्तमा नगरपालिकाकै बारेमा बताउन जरुरी ठान्दछु । २०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको नयाँ नगरपालिका हो तिलोत्तमा । तीव्र शहरीकरण भैरहेको क्षेत्रमध्ये पर्ने यहाँ दिनहुँ नयाँ उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम पनि बढेको छ । बीचबाट सिक्सलेन र बौद्ध परिक्रमा पथ, भारतीय सीमा र निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक, रुपन्देहीकै मध्यभागको अवस्थित, पर्याप्त खुला क्षेत्र, सडक, विद्युत्, पानीको पर्याप्तता यहाँको बरदान मानेका छौं हामीले यसैका कारण पनि लगानीकर्ताको रोजाई बनेको हाम्रो अपेक्षा छ ।
हामी नेतृत्व आएपछि समृद्ध नगरको रुपमा विकास गर्न अपल्कालीन र दीर्घकालीन योजना निर्माण गरेका छौं । स्थानीय, संघीय र प्रदेश सरकारबाट कतिपय योजनाहरु कार्यान्वयन भैरहेका छन् । तर, पनि बजेट सीमितताको कारण अपेक्षित कामहरु एकैपटक गर्न नसकिने यथार्थतालाई मनन गरेर आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले असोज ९ गते तिलोत्तमा लगानी सम्मेलनको योजना बनाएका हौं । विशेषगरी कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्राउनु नै सम्मेलनको मुख्य लक्ष्य राखेका छौं । लगानीकर्तालाई यो क्षेत्रमा लगानी गर्दा अत्यन्त सुरक्षित छ भन्नेमा विश्वस्त पार्नु पनि सम्मेलनको मुख्य विशेषता हो ।
तिलोत्तमावासीको मात्र नभएर सबै क्षेत्रका नागरिको अपार संभावना बोकेको भर्जिनसिटी भएकाले यहाँ स्वदेशी तथा विदेशी निजी क्षेत्र, विकास साझेदार संस्थाहरुको लगानी भित्राउन सकिन्छ भन्ने हाम्रो टिमको अपेक्षा छ । सबै क्षेत्रबाट आएको सकारात्मक उत्साहले हामीलाई थप ऊर्जा दिएको छ । हौसला दिएको छ र अझ बढी जिम्मेवारी थपिएको महशुस गराएको छ ।

के–के तयारी गर्नुभयो ?
हामी टिमवर्कमा काम गरिरहेका छौं । सबैलाई विभागीय जिम्मेवारी तोकेका छौं । सबैले आफ्नो आफ्नो विभागको जिम्मेवारी निकै मिहीन ढंगले गरिरहनुभएको छ । तयारीको करिब ७५ प्रतिशत काम पूरा भएको छ । समन्वय तथा सहकार्यका लागि धेरै क्षेत्रसंग औपचारिक तथा अनौपचारिक कार्यक्रम गरिरहेका छौं । सम्मेलनमा सहभागी हुनका लागि स्वेदशी तथा विदेशी लगानीकर्ता, विकास साझेदारहरुलाई पत्राचार गर्ने काम तीव्रताको साथ अघि बढेको छ । सम्माननीय पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ̔प्रचण्ड’ ले उद्घाटन गर्नुहुने सम्मेलनमा संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्ता समेत गरी ५ सय जनाको सहभागिता रहने हाम्रो अपेक्षा छ । यहीँ अपेक्षासहितको तयारीमा हाम्र टिम जुटेको छ । यसको तयारीका लागि नगरप्रमुखको नेतृत्वमा मूल आयोजक समिति र विभिन्न उप–समितिहरु गठन गरेका छौं । यसका लागि तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा च्याम्बर अफ कमर्श, तिलोत्तमा उद्योग वाणिज्य संगठनसँग मुख्य सहकार्य गरेका छौं भने जिल्लास्थित सबै उद्योग, व्यापार, पर्यटन सम्बद्ध संघ–संस्थाबाट सहयोग लिइरहेका छौं । सबै क्षेत्रमा रहेका सरोकारवालाको सुझावलाई ग्रहण गर्दै कार्यसंचालन अगाडि बढाइरहेको निवेदन गर्न चाहन्छु ।

लगानी सम्मेलनबाट स्थानीयले के पाउँछन् ?
सबैभन्दा महत्वपूर्ण कुरा त नगरपालिकामा अत्यावश्यक परियोजना कार्यान्वयनका लागि नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराउन सक्नेछ । परियोजनासम्म जाने र आउने बाटोको पहँुच सुविधा नगरपालिकाबाट हुनेछ । यसैगरी परियोजनाको भवन, टहरा तथा संरचना निर्माणको लागि नगरपालिकाबाट नक्सापास गर्दा ५० देखि ३०० जना सम्मलाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्सा पास दस्तुरमा छुट दिने नीति हामीले लिएका छौं । ३०० जनाभन्दा माथि ५०० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १२ वर्ष सम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिइनेछ । ५०० जनाभन्दा माथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यवसायिक करमा शतप्रतिशत छुट दिइने छ । न्यूनतम ५० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको ५ वर्षसम्म व्यवसायिक करमा ५० प्रतिशत छुट दिइनेछ । लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतका विषयलाई हामीले समेटेका छौं । न्यूनतम ३०० जनासम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइनेछ । तिलोत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ६० प्रतिशत छुट दिइने छ । पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटल मोटेल तथा मनोरञ्जनसँग सम्बन्धित परियोजनालाई स्थापनाको ५ वर्ष सम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ । न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म सम्पत्ति करमा शत प्रतिशत छुट र परियोजनाका लागि जग्गा खरिदमा सहजिकरण गरिनुका साथै विद्युत सेवाका लागि पनि सहजिकरण हुनेछ । कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज, आदिलाई परियोजना स्थापनाको ७ वर्ष सम्म नगरपालिकाले लिने व्यवसायिक कर र नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ । यसबाट नै स्थानीयले अधिकतम लाभ लिनसक्ने हाम्रो अपेक्षा हो ।

कस्ता परियोजनाले प्राथमिकता पाउँछन् ?
२२ वटा मुख्य परियोजना लगानी सम्मेलनमा लैजाने हाम्रो तयारी छ । परियोजना प्रस्ताव गर्दा सो परियोजनाले वातावरण र नागरिकको दैनिक जीवनमा पार्ने प्रभावलाई पनि ध्यान दिएका छौं । सूर्तिजन्य, मदिराजन्य र वातावरणमा प्रत्यक्ष रुपमा नकारात्मक पर्ने परियोजनालाई निरुत्साहित गर्ने योजना बनाएका छौं । वातावरण प्रदूषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन, कृषि, प्राविधिक शिक्षा, स्थानीय कच्चा पदार्थमा आधारित, स्थानीय रोजगारी,स्वास्थ्य आदीमा आधारित परियोजनालाई प्राथमिकतामा राखेका छौं । प्रस्तावित परियोजनामा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, ढाक्रेबास एकीकृत पर्यटकीयस्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, रिङ रोडमा रेलवे, स्मार्ट हाटबजार, एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ स्मार्ट बालउद्यानसहितका परियोजनालाई मुख्य योजना बनाएका छौं ।

कस्तो संकेत पाउनुभएको छ ?
जतिबेला हामीले यो प्रस्तावलाई अगाडि सारेका थियौं त्यतिबेलादेखि नै हामीलाई निकै सकारात्मक संकेतहरु आउन शुरु गरेका थिए । यसलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिएको हाम्रो बुझाई छ । यसको निर्णय बाहिर आएपनि लगानी फोनमार्फत नै ययको उद्देश्यका बारेमा विभिन्न क्षेत्रबाट सोधिखोजी भएको छ, केही स्थापित व्यवसायीहरु नगरपालिकामै पुगेर सम्मेलनको उद्देश्यको बारेमा बुझ्नुभएको छ । अन्य ठाउँमा आफ्ना उद्योग भएकाहरु समेत रुपन्देही तिलोत्तमामा सार्न पाए हुन्थ्यो भन्ने चाहना हामीसँग सुनाउनुभएको छ । यसबाट पनि हामीले समयमै यो कामको शुरुवात गरेका रहेछौं सबैको आवश्यकतालाई महशुस हुनेगरी काम गरेका रहेछौं भन्ने भएको छ । यसले थप ऊजा दिएको छ ।

सफलताका मानकहरु के छन् ?
केन्द्र सरकारले यसअघि गरेको लगानी सम्मेलन पूरै वैदेशिक लगानी भित्राउने हिसाबले गरेको थियो । तिलोत्तमाले सकेसम्म स्वदेशी लगानीकर्ताहरुलाई नै प्राथमिकता दिने नीति बनाएका छौं । यसैलाई आधार मानेर परियोजना छनौट गर्दा ध्यान दिएका छौं । हामी आफैले गर्नुपर्ने कामको क्षेत्रमा बढी केन्द्रित भएका छौं । यसैले हामीहरु यो सम्मेलनमा सफल हुनेछौं भन्ने विषयमा पूरै विश्वस्त छौं । त्यसैगरी लगानी सम्मेलनमा तत्काल लगानी भित्रिने एउटा पक्ष होला, अर्को पक्ष भनेको यहाँ लगानीको वातावरण छ है भन्ने जानकारी लगानीकर्तालाई दिनु पनि हो । यसो हुँदा लगानीकर्ता आफूलाई अनुकुल हुँदाको अवस्था वा लगानी बढाउँदा हाम्रो क्षेत्र रोज्नसक्ने आधार पनि तय हुन्छ । यसैले पनि लगानी सम्मेलनको तात्कालीन र दीर्घकालीन दुवै महत्वलाई हामीले सफलताको सूचीमा राखेर काम गरेका छौं । म तपाईमार्फत हाम्रा सबै शुभेच्छुकलाई प्रष्ट पार्न चाहन्छु यो सम्मेलनले यहाँको निजी क्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच आन्तरिक नेटवर्किङ विकास गराउनेछ । सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने एउटा मुख्य अवसर सम्मेलनले तयार गर्नेछ । यसैलाई सफलताको सूचीका रुपमा यसको मानकको रुपमा हामीले लिएका छौं ।

छिमेकी स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच कसरी समन्वय गर्नुभएको छ ?
लगानी सम्मेलन हामी सबैको साझा प्रयास हो  । सम्मेलनबाट भित्रिने लगानी, पूँजी, प्रविधि र ज्ञानले समृद्धिको मार्गचित्र कोर्ने भएकाले यसको फाइदा सबैलाई हुने निश्चित छ । यो अभियानमा छिमेकी स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार सबैको सहयोग र सहकार्यलाई अनिवार्य ठानेका छौं त्यहीअनुसार सबैसँग सहकार्य, समन्वय र सुझावका आधारमा अघि बढेका छौं । काम गर्ने क्रममा रहेका केही कमजोरी भए हामीले सच्चाउने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौं र सबैको अपनत्व हुनेगरी कार्यक्रमलाई अगाडि बढाउने छौं । सम्मेलनमा लगानी बोर्डको पनि सहयोग रहेको छ । हामीले जति परियोजनाको एमओइ गर्छौं, त्यसको कार्यान्वयनमा पनि तीन तहको सहकार्य जरुरी छ । यो एउटा सहकारिता, सहकार्य र सह–अस्तित्वको अभियानका साथै लगानी जुटाउने उत्सव भएकाले सबैसँग सहकार्य समन्वय गरेका छौं । रुपन्देहीका सबै पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षसँग पनि छलफल गरेर सुझाव लिएका छौं र अन्य क्षेत्रसँ पनि यसैगरी समन्वय गरेर अगाडि बढ्ने छौं ।

अन्तिममा के भन्नुहुन्छ ?
लगानी सम्मेलन हामीहरु सबैको हो । यसलाई सबै यही ढंगले बुझिदिनुहुनेछ । सम्मेलनले जति लगानी ल्याउनेछ, त्यसको फाइदा सबै नेपालीलाई हुनेछ । सम्मेलनले यहाँका लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर दिनेछ । सम्भाव्य परियोजनाहरू छन् ती योजनामा लगानी गरेर कस्तो प्रतिफल प्राप्त गर्न सकिन्छ, लगानीको प्रशासनिक तथा कानुनी बाटो के हो, लगानी सम्बन्धि तीन तहका सरकारको दृष्टिकोण, परियोजना कार्यान्वय गरिरहँदा पर्ने व्यवहारिक समस्या हल गर्ने उपाय के हुन् भन्नेबारे सम्पूर्ण जानकारी सम्मेलनले दिनेछ । यी सबै विषयवस्तुलाई नजिकबाट चिन्ने÷चिनाउने माध्यमको रुपमा लगानी सम्मेलनलाई लिइएको छ । त्यसैले यो महान अभियानमा साथ दिन, सुझाव दिन, सहकार्य बढाउन सबै क्षेत्रसँग आव्हान गर्न चाहन्छु । यहाँहरुका रचनात्मक सुझाव हामीलाई थप प्रेरित गर्नेछ र अन्त्यमा हाम्रो विषयलाई आमनागरिकसँग लैजाने पुलको काम गर्ने तपाईंसहित सबै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आभार व्यक्त गर्न चाहन्छु । नमन गर्न चाहन्छु ।

साभार : समयचक्रमा प्रकाशित अन्तर्वार्ता

SHARE