१७ असोज, बेलहिया । भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको बेलहिया सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली बेलहिया नाका भएर अहिले दैनिक २ हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक कमल बेलबासेले बताए ।

उनका अनुसार, सीमावर्ती भारतीय बजार सुनौलीबाट बिहानैदेखि घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ । उनीहरु कार, रिक्सा र पैदल हिँड्दै पनि नेपाल भित्रिने गरेका छन् । यसबाहेक भारतका विभिन्न शहरबाट नेपालमा सञ्चालन भइरहेका सीधा बस सेवामा समेत घर फर्किने यात्रुको चाप रहेको छ ।
भैरहवाबाट दिल्लीको लागि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गर्दै आएको सिद्दार्थ यातायात प्रालिका बस अहिले दिल्लीबाट नेपाल फर्किने बस यात्रुले भरिभराउ हुने गरेको छ । भारतका अन्य शहरबाट नेपालको दाङ, कपिलवस्तु, नेपालगंज बिरगंज लगायतका स्थानमा सञ्चालन हुने सीधा बस सेवामा समेत अहिले यात्रुको चाप बढिरहेको छ ।

नेपाल प्रहरीले भारतबाट घर फर्किने नेपालीको सहयोगका लागि जमुनाहा नाकामा सहायताकक्ष स्थापना गरेको छ । भारतीय सवारी साधनबाट बेलहिया आइपुगेका नेपालीको सहयोगका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक बेलबासेले जानकारी दिए ।

घर फर्किने नेपालीहरु रिक्सा, टाँगावालाबाट ठगिन नदिन भैरहवा र बुटवल बसपार्कसम्म सुरक्षितरुपमा पठाउने व्यवस्था मिलाइएको उनको दाबी छ । होटलमा ठगिन र लुटिनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै परामर्शसमेत दिने गरेको बेलबासेको भनाइ छ । भारतको पन्जाबबाट घर फर्किदै गरेका स्यांग्जा घर भै हाल तिलोत्तमा बस्दै आएका धनपति न्यौपानेले सीमानाकामा नेपाली प्रहरीले राम्रो व्यवहार गरेको बताए । आफूहरु सजिलैसँग तिलोत्तमा पुगेको उनले जानकारी दिए ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली दशैँ पर्व मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमाना नाका सुनौलीमा लर्को लाग्ने गर्दछ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि प्रदेश नं ५ र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजक बनाइएको रुपन्देहीका प्रहरी प्रमुख भिमलाल भट्टराईले जानकारी दिए ।

भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको समेत उनले जानकारी दिए ।

SHARE