सुरज प्रधान
” दशैँ आयो, खाउला पिउला ” भन्दै नाचेको भर्खरै जस्तो लाग्छ। व्यक्तिको मानसपटलमा जीवनको अविस्मरणीय पलनै बन्छ आफ्नो संस्कृति, अनि ति भित्र रहेका हरेक पल । संस्कृतिको एक अभिन्न अंग हो , चाडबाड र चाडबाडसंगै खाइने खाना अर्थात् भोज-भतेर ।
प्रख्यात लेखक मार्क कर्लान्सकीका अनुसार ‘ खाना भनेको मानिसहरुको मुख्य गतिबिधि तथा संस्कृतिको एक महत्वपुर्ण जोडदार सूचक हो’ । बर्सेनि पचासौ भन्दाबढी चाडबाड मनाउने हाम्रो देश नेपाल र नेपालीहरुको बिच खाना प्रति निक्कै अगाढ सम्बन्ध छ ।
चाड-बाड भन्नुको अर्थ नै हाम्रो संस्कृति, रिति – रिवाज साथै कलाहरुको प्रतिबिम्बित शैली हो, एक आपसमा खुसियाली मनाउने बेजोड तरिका हो । परापुर्वकालदेखिनै चल्दै आएको हरेक जात-जातिहरुका आ-आफ्नै पर्व साथै संयुक्त रुपले मनाउने महान चाडहरु हामी नेपालीहरुको बहुमुल्य सम्पतिहरु हुन्। प्रसङ्ग जोड्दै छु , नेपाली खाना र हाम्रो चाड-बाडहरुको ।

नौलो नयाँ वर्षको सुरुवातमा घर तथा परिवार मिलेर शुभ-कामनाको आदान- प्रदान सगै मिठो – मिठो भोजनहरुसंगै रमाउने हाम्रो संस्कृतिनै छ, यो दिन नेपालका प्रायजसो युवा-युवती बाहिर पिकनिकको रमझममा ब्यस्त हुन्छन । बिस्तारै बुद्ध पुर्णिमामा खिरको स्वादसंगै बुद्धं शरणं गच्छामिको अनुसरण गर्दै फल-फुल तथा साग-सब्जिहरुको बिशेस परिकार बनाई बुद्ध धर्मावलम्बीहरु तथा अन्य नेपालीहरले यो पर्व मनाउँछन् । आमाको बिसेष दिन ” मातातिर्थ औशी ” को दिन त प्रायः सबै ब्यस्त हुन्छन मिठा-मिठा परिकार बनाई आफ्नो आमालाइ ख्वाउन । मिठाई तथा फलफुल साथै स्वादिस्ट परिकारहरु त्यो दिन भान्सामा बन्ने गर्छन। शुरु हुन्छ काठमाडौँमा जात्राहरुको लहर । रातो मछिन्द्रनाथको जात्रा पश्चात अनेकन जात्राहरु मनाइन्छन्, त्यसपछि जनै पुर्णिमाको दिन क्वाटी बिशेस परिकार बन्ने गर्दछ । तीजको लहर आयो बरी लै भन्दै दिदी-बहिनीहरुको महान चाडको अघिल्लो दिन त झन् खानपिनको लागि बिशेस दिन’ दर खाने दिन ‘ भनेरै रोटीहरू, चाम्रे, मासुका परिकारहरु, अनेकन मिठाई लगायत पौष्टिक व्यंजनहरु बनाइन्छन्।

नेपालीहरुको महान चाड दसैँ तथा तिहारको रमझमको त झन् के कुरा गर्नु ? सेल रोटी, फिनी रोटी , अनरसा, चिनी रोटी , निम्की, खजुरी लगायत अनेक रोटी, खसीको सुरुवा मासु , केसरी मासु , खसीको कबाब, सुकुटी, जस्ता सयौ परिकारहरुको मिश्रण हो यो समय । ल्होसारमा गुरुङ, तामांग , शेर्पा , मगर तथा अन्य समुदायहरुले फरक-फरक किसिमले मनाई विभिन्न परिकार जस्तै रोटी , रक्सी, मासुका अनेकन स्वादहरु सहित मनाउने गर्दछन। राईहरु आफ्नो ठुलो चाड उभौली , उधौलीमा सेलरोटी, आलु दम, सुँगुर काटेर त्यसको मिठा-मिठा परिकार, फिलिंगेको अचार, इत्यादी बनाई उक्त चाड मनाउछन् । त्यसै गरि थारुहरु आफ्नो बिशेस चाड माघीमा चिचर, अनि अन्य थुप्रै परिकार बनाई आफ्नो चाड सम्पन्न गर्दछन् । त्यसै गरि विभिन्न जात-जातिहरुका अनेकन पर्वहरु बिशेस किसिमले मनाई अन्त्यमा खानाको स्वाद लिई टुंग्याउने गरिन्छन ।

खाना/परिकार र हाम्रो रिति-रिवाज एक आपसका परिपुर्वकहरु हुन् । परिकार संस्कृति चिनाउने साधन मात्र नभई सभ्यताको सूचकपनि हो । हरेक नेपाली जात -जातिहरुको आ-आफ्नो मौलिक खानाहरु छन् । सगरमाथाको फेदी सोलुखुम्बुमा हामी एक थरि खानाको सुची पाउछौ भने तराईको फाँटमा अर्को थरि सुची, त्यसै गरि नेवारहरुले आफ्नो पर्वमा एक थरि परिकारहरुको उत्सव मनाउछन् भने तामांगहरु आफ्नो पर्वमा अर्कै थरिका स्वादहरुको साथ आफ्नो पर्व खुसियालीका साथ सम्पन्न गर्छन । मूलसार , खाना तथा परिकार कै हो ।सयौ थरिका परिकारहरुसंगै हामी हाम्रो रिति-रिवाजहरुको जगेर्ना गर्दछौ। के हामी धनी छैनौ त नेपाली परिकारमा ? शत प्रतिशतले छौ !

संस्कृति कै एक पाटो चाड-बाडहरु हुन् . त्यसै अनुरुप चाड-बाडको एक बिशेस पाटो त्यस चाडबाडसंग सम्बन्धित खानाहरु हुन् ! दसैँ सम्झनासाथ सेलको याद, माघे संग्रान्तिमा चाकु, तिलको लड़ू, पुसे पन्ध्रमा घिउभात ( लट्टे ), असार पन्ध्रमा दहि चिउरा, इत्यादी हाम्रो मानसपटलमा सदैव आउदछ ! यहि सम्झनाहरु नेपालीहरुमा सदैव प्रबिम्बित हुने कुराहरु हुन् ! यसरि नजानिदो तवरले हामी संस्कृतिको अनुपम घेरा भित्र कयौ नेपाली स्वादसंगै बाधिएका छौ ! सबै नेपालीहरु आ-आफ्नो संस्कृति भित्र रही चाड-बाडमा विभिन्न किसिमका व्यंजन बनाई उत्सव मनाउछन् । नेपालीहरुको पहिचाननै आफ्नो खानाहरु हुन् ।
मिठो गरि आफ्नो चाड-बाड मनाउनुहोस्, नजिकिदै गरेको महान चाड बिजय दशमीको मंगलमय शुभ-कामना !
दशैँ बिशेस परिकार
खसीको कबाब
२ जनासम्मको लागि
चाहिने सामग्री
४५० ग्राम : खसीको मासु , करिब १ इन्चमा स-सानो गरि काटिएको
१ चिया चम्चा : जिराको धुलो
१/२ चिया चम्चा : दालचिनीको धुलो
१/४ चिया चम्चा : सुकमेलको धुलो
२ चिया चम्चा : लसुनको पेस्ट
१ वटा खुसानी ( पिसेको )
१५० ग्राम दहि
नुन स्वाद्नुसार
१ चिम्टी मरिचको धुलो
काठको सिन्का ( मासु पोल्नका निमित्त )

तरिका
उल्लेख गरिएको सबै सामग्री एउटा भाडामा राखी राम्ररी मोली त्यसलाई रात भरि फ्रिजमा राख्ने
२० मिनेट जति सिन्कालाई पानीमा भिजाउने ( उपलब्ध भएमा धातुको झिरपनि प्रयोग गर्न सकिन्छ )
मासुलाई फ्रिजबाट निकाली एक – एक गरि सिन्कामा उन्ने
त्यसपछि , ग्रिलमा ७ देखि १० मिनेटसम्म पकाउने ( बारम्बार मासुलाई फर्काउने )
खसीको कबाब तयार भयो
मिठो गरि विभिन्न चट्नी, अचारसित खाना सकिन्छ

SHARE