तिलोत्तमा क्षेत्रमा नगरपालिका आफैले स्ट्रोट लाइट जडान गर्ने

572

तिलोत्तमा, अशोज २३ गते । बुटवल – बेलहिया ‘६ लेन’ सडकमा बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले स्ट्रोट लाइट जडान गर्ने भएको छ । उक्त सडक खण्डको ड्राइभरटोलदेखि चौराहसम्म जडान भएका सौर्य बत्ती फेज आउट भएपछि आयोजनाले स्ट्रोट लाइट जडान गर्ने भएको हो । साढे २ वर्षअघि ड्राइभरटोलदेखि चौराहसम्म आयोजनाले १ सय ५० सौर्य बत्ती जडान गरेको थियो । तर, अहिले त्यी बत्तीले ‘जुनकुरी’ले झैं उज्यालो दिने गरेका छन् । बुुटवलको राजमार्ग चौराहदेखि नयाँ मिलसम्म जडान गरिएका सौर्य बत्तीले प्रभावकारी रूपमा काम नगरेपछि आयोजनाले नयाँमिलदेखि कोटिहवासम्म स्ट्रोट लाइट जडान गर्न लागेको छ ।

आयोजनाले बिजुलीबाट बल्ने यी बत्ती तिलोत्तमा नगरभित्र पर्ने करिब १२ किलोमिटरमा जडान गर्नेछ । आयोजनाले मेनकजवे र सर्भिस लाइन दुवैमा विद्युत् बत्ती जडान गर्नेछ । त्यसका लागि नरेन्द्र पीएसएस जेभी काठमाण्डौंले ३ करोड ५९ लाख रुपैयाँ टेण्डर पारेर काम सुरु गरिसकेको छ । ‘अहिले ठेकेदार कम्पनीले काम सुरु गरिसकेको छ । डिभाइडरको बीचमा तार बिछ्याउने काम सम्पन्न हुने तयारीमा छ,’ बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाकी इन्जिनियर प्रकृति पोखरेलले बताइन् ।

उनका अनुसार मेन कजवेमा ३०/३० मिटरको अन्तरमा पोल राखी पोलको दायाँबायाँ १ सय ५० वाटका दुईवटा बल्ब राखिनेछ भने सर्भिस लाइनमा ४० वाटका बल्बहरू राखिनेछ । मेन कजवेमा बल्ने बत्तीको महसुल नगरपालिका र सर्भिस लेनमा बल्ने बत्तीको महसुल सम्बन्धित टोल विकासले बेहोर्ने गरी नगरपालिकासँग आयोजनाले सम्झौता गरेको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले भने- ‘हामीले तिलोत्तमा नगरक्षेत्रभित्र विद्युत् लाइट जडानका लागि आयोजनासँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छौं, सम्झौताअनुसार काम सुरु भइसकेको छ ।’

नरेन्द्र पीएसएस जेभीले ६ महिनाभित्र जडान गर्ने गरी एक महिनाअघि सम्झौता गरेको छ । ४ वर्षसम्म मर्मतको खर्च जडान गर्ने कम्पनीले बेहोर्ने बताइएको छ । आयोजनाले तिलोत्तमा नगरपालिकामा जस्तै ओमसतिया र सिद्धार्थनगर नगरपालिकासँग विद्युत् महसुल तिर्ने सम्झौता गरेपछि बाँकी क्षेत्रमा पनि विद्युत् बत्ती जडान गरिने बताएको छ ।

साढे २ वर्षअघि जडान गरेको आयोजनाले परीक्षणको रूपमा तिलोत्तमाको नयाँ मिलदेखि बुटवलको राजमार्ग चौराहसम्म १ सय ५० वटा जडान भएका सौर्यबत्ती जडान गरेको थियो । अहिले सो बत्ति धेरै जसो बल्दैनन र बलेका सौर्य बत्ती पनि ‘जुनकिरी’ झैं देखिन्छन । साढे २ वर्षमा ५ पटकभन्दा बढी मर्मत गर्दा पनि काम नगरेपछि बाँकी क्षेत्रमा आयोजनाले स्ट्रोट लाइट जडान गर्ने भएको हो । १ सय ५० बत्तीमध्ये पनि अहिले ८० वटा बत्ती बल्छन् । त्यसमध्ये पनि केही बत्ती छिनभरका लागि बलेर झ्याप्पै निभिहाल्छन् ।

सडकमा २ करोड खर्चिएर राखिएका बत्ती बल्न छाडेपछि आयोजनाले समेत योजना सफल हुन नसकेको स्वीकार गरेको छ । नवलपरासीको बर्दघाटस्थित महेश निर्माण सेवा प्रालिले ती बत्ती जडान गरेको थियो । ३५ मिटरको दूरीमा राखिएका स्वचालित सौर्य बत्तीले उज्यालो दिन सकेका छैनन् ।

SHARE