पबित्र चौधरी थारु, कार्तिक २४, तिलोत्तमा।
समाजमा अझ पनि पितृसत्तात्मक सोच, राजनितिक चेतनाको अभाव, महिलालाई हेर्ने दृष्टिकोष, आर्थिक पक्ष कमजोर, पारिवारिक जिम्मेवारीका कारण महिलाहरु अगाडि बढ्न नसकेको सरोकारवालाहरुले बताएका छन् । रुपन्देहीको मणिग्राममा संचारिका समूह नेपालको आयोजनामा पत्रकार महिलाका लागि निर्वाचन र आम सञ्चार माध्यम विषयक कार्यशाला र महिला राजनितिज्ञहरुसंग भएको अन्र्तक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

संचारिका समूह नेपालका अध्यक्ष नितु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नयाँ नेपाल बन्नका लागिले नै हाम्रा व्यवहारहरु सुधार गर्दै आफैबाट परिवर्तनको सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ हिजोको व्यवस्था र व्यवहारले नयन नेपाल बन्दैन । हामी पनि परिष्कृत हुन जरुरी छ । म कहाँ सच्चिनुपर्नेछ, कमजोरी केलाएर हामी त्यहाँबाट अगाडि बढ्नुपर्नेछ र हाम्रा कुराहरुलाई निरन्तरता दिदै जानुपर्छ । ” कार्यक्रममा सहभागी विभिन्न राजनितिज्ञ तथा संचार क्षेत्रका महिलाहरुले दिएका प्रतिक्रयाको जवाफ दिँदै मन्त्री पौडेलले भन्नुभयो, “ हामी एउटै पिडाबाट गुज्रीरहेका छौं, एउटै किसिमको व्यवहार तथा समस्या हामी महिलाहरुले झेलीरहेको यो पंक्ति हो त्यसले गर्दा तपाई हाम्रो बीचमा एकले अर्कालाई सहयोग नगर्ने, एकले अर्कालाई तिरस्कार गर्ने पक्षमा हामी छैनौ । ”


उहाँले हामीले अप्रत्यक्ष रुपमा पुरुषबाट सहयोगी भूमिका पाइरहेको बताउँदै अहिले महिलाक लागि चुनौतिका साथसाथै अवसरहरु पनि प्रशस्त भएकाले महिलाहरुले पुरुषलाई प्रतिष्पर्धिको रुपमा नभई सहयोगीको नजरले हेर्नुपर्ने जरुरी रहेको औल्याउनुभयो । उहाँले हरेक क्षेत्रमा योजना बनाएर अगाडि बढ्न सके मात्र हामी सफल हुन सक्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश ५ का उपसभामुख कृष्णी थारु, कांग्रस सांसद रमा अर्याल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेत्तवरी चौधरी, सिद्धार्थनगर नगरपालिका प्रमुख उमा काफ्ल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट, संचारिका समूह नेपालका पूर्व अध्यक्ष बबीता बस्नेत लगायतले बोल्दै यस्ता समस्यालाई चिर्नका लागि कतिपय कुराको सुरुवात महिला आफैबाट गर्नुपर्ने र राजनिति तथा संचार क्षेत्रमा काम गर्ने महिलाहरु अगाडि बढ्नका लागि पारिवारिक सहयोगको पनि महत्वपूर्ण भूमिका रहने बताएका छन् । कार्तिक २२ गतेदेखि शुरु भएको सो कार्यक्रम आइतबार समापन भएको हो ।

SHARE