तिलोत्तमा, २३ पुष । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने र प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको ‘जन सहभागिता स्वास्थ्य सहकारी संस्था’ले नगरभित्र उत्पादन हुने फोहोर–मैला प्रशोधन गरी बिक्री–वितरण सुरु गरेको छ । जसका लागि सहकारीले तिलोत्तमा–८ का करहिया सामुदायिक वनको ५ बिघा क्षेत्रफलमा फोहोर प्रशोधन केन्द्र स्थापना गरेको छ । प्लाष्टिकजन्य फोहोर वस्तुलाई प्रशोधन गर्नका लागि केन्द्रमा हाइड्रोलिक प्रेसर मेसिन जडान गरिएको छ । केन्द्रमा मेसिन, विद्युतीय यन्त्र, दुई वटा सेड, दुई वटा ट्याक्टर खरिद गरिएको छ । सो क्रममा हालसम्म तीस लाख रुपैयाँ लगानी भइसकेको सहकारीका अध्यक्ष खेमप्रसाद गौतमले बताउनुभयो ।

फोहोर संकलन र प्रशोधनका लागि १४ जना कर्मचारीहरुले काम गर्दै आएका छन् । ‘बोराबाट खन्याइने प्लास्टिक र आल्मुनियमका बोतललाई मेसिनले च्यापेर वर्गाकारको प्याकेट आकार बनाइदिन्छ । जसले गर्दा बिक्रीका लागि ढुवानी गर्न सहज हुन्छ । ५० बोरा बोत्तल प्रशोधन गर्दा एक क्वीन्टल, ५० केजी तौल निस्कन्छ’, केन्द्रका प्राविधिक आरके भुसालले बताउनुभयो । प्रशोधित प्लास्टिकजन्य पदार्थलाई नेपालगञ्जका व्यवसायी सलाउद्दिन खानले खरिद गर्ने सम्झौता भइसकेको छ । प्लास्टिकको बोत्तल प्रतिकिलो ३१ देखि ३५ रुपैयाँ र रेडबुल क्यान, क्यान बियर, क्यान जुस लगाएतका आल्मुनियमका बोत्तलको मूल्य प्रतिकिलो ९० रुपैयाँमा सम्झौता भएको छ ।

तिलोत्तमा नगरपालिकामा दैनिक ३० टन फोहोर उत्पादन हुँदै आएको छ । अहिले सहकारीमा ५ हजारदेखि एक लाख रुपैयाँसम्म लगानी गरेका दुई सय जना शेयर सदस्य छन् । नगरभित्रका सबै घरधुरीलाई स्वेच्छिक शेयर सदस्य बनाउने र फोहोर संकलनका लागि ढुवानीका साधन थप्ने सहकारीको योजना रहेको अध्यक्ष गौतमले बताउनुभयो । सहकारीले प्लास्टिक, प्लास्टिकका बोत्तल, सीसाको बोत्तल, आल्मुनियम, फलाम आदिलाई संकलन र प्रशोधन गर्दै आएको छ ।

SHARE