Wednesday, June 19, 2019

पेस्तोल र १६ राउण्ड गोलीसहित भैरहवा विमानस्थलबाट एकजना पक्राउ

भैरहवा । रुपन्देही स्थित गौतमबुद्ध विमानस्थल भैरहवाबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ कृष्णनगरका ५० वर्षीया उमेश शुक्ला रहेका छन् । प्रहरीका अनुसार उनी आज दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए ।

निजबाट ७.६५ एम एम मेडईन चेकोस्लाभिया लेखिएको पेस्तोल तथा दुई वटा म्यागेजिन र सो मा लाग्ने १६ राउण्ड गोलि भेटिएको प्रहरीले जनाएको छ । उनिसँगै उनका श्रीमति, तिन जना छोरी र एक नातिनी समेत रहेका छन् । मानी क्यापिटल लिमिटेड लखनउका कार्यकारी निर्देशक समेत रहेका उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् ।

भारतको लखनउ हुँदै सिमा नाका बेलहीयाबाट नेपाल प्रवेश गरेका उनिहरुलाई बिमानस्थल स्थित सूरक्षा चेकजाँचका क्रममा एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पक्राउ परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

मेडिकल कलेजको शुल्क तोक्ने समितिको म्याद पुन:थपियो

काठमाडौं । मेडिकल कलेजहरूको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिको समायावधि पुनः एक महिना थप भएको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको चैत २६ गते बसेको बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो। योसँगै उक्त उपसमितिको म्याद तेस्रोपटक थपिएको हो। उपसमितिले अध्ययन कार्य जारी रहेको हुँदा म्याद थप गर्न समितिलाई आग्रह गरेको थियो।

समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामाआज बसेको बैठकले उपसमितिको समयावधि एक महीना थप गर्ने निर्णय गरेको हो। यसअघि उपसमितिको समयावधि दुईपटक थप गरिएको थियो। चिकित्सा विज्ञानका स्नातक तह एमबिबिएस र बिडिएस सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा उपसमितिले हालसम्म सरकारी तथा निजी क्षेत्रका विभिन्न २० मेडिकल कलेजको स्थलगत अध्ययन पूरा गरिसकेको छ। काठमाडौं विश्वविद्यालयको धुलिखेल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्ययन गर्न बाँकी रहेको संयोजक राईले जानकारी दिनुभयो।

अध्ययन पूरा भएका मेडिकल कलेजमा नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल साइन्सेस, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्स, चितवन मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, किष्ट मेडिकल कलेज, नेशनल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्। त्यस्तै जानकी मेडिकल कलेज, देवदह मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, विराट मेडिकल कलेज नेपालगञ्ज मेडिकल कलेज, त्रिविवि चिकित्सा अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पिपल्स डेन्टल कलेज र नोबेल मेडिकल कलेज रहेका छन्। उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारू, जीवनराम श्रेष्ठ, मनकुमारी जीसी र एकवाल मियाँ रहेका छन्। समितिको चैत १० गते बसेको बैठकले समितिका सभापति घर्तीलाई शुल्क अध्ययन उपसमिति गठन गर्न अधिकार सुम्पेको थियो।

सभापति घर्तीले अब एक महीनाभित्र प्रतिवेदन पेश गर्न उपसमितिलाई आग्रह गरेकी छन्। बैठकमा उपसमितिका संयोजक राईले हालसम्म उपसमितिले गरेका कामका बारेमा जानकारी गराएका थिए। विसं २०७५ असोज २८ गतेको मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहका कार्यक्रमका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ १९ लाख ३२ हजार ६१२ निर्धारण गरेको थियो। सो निर्णय कार्यान्वयनमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानलाई निर्देशन दिएको थियो। निर्णय कार्यान्वयनमा नआएको भन्दै समितिको बैठकले ती तहका निर्धारित शुल्क कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशसमेत गरिसकेको छ। विसं २०७५ फागुन ८ गतेको शिक्षा मन्त्रालयस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई शुल्कका विषयमा छानबिन गरी आवश्यक कारवाहीका लागि निर्देशन दिएको थियो।

यसैगरी विसं २०७५ चैत ४ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकलेसमेत शुल्क निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देशन दिएको थियो। निजी मेडिकल कलेजले सरकारबाट निर्धारित ती तहका शुल्कभन्दा बढी लिएको भन्दै अभिभावकले शिक्षा र स्वास्थ्य समितिमा गुनासो तथा उजुरी समेत दिएका थिए। उपसमितिका सदस्य एवम् पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले बैठकमा सरकारले तोकेभन्दा वढी शुल्क मेडिकल कलेजले लिइराखेको पाइएको जानकारी दिए। अध्ययन उपसमितिका अर्का सदस्य मनकुमारी जिसीले चिकित्सा शिक्षाको शुल्कलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन। यसैगरी आजको बैठकमा परमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश भएको छ।

सरकारले फिर्ता लियाे गुठी विधेयक

काठमाण्डौ । चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर सरकारले विधेयक फिर्ता लिएको जानकारी दिनुभएको हो । विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकाले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री अर्यालले बताउनुभयो ।
नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेको थियो ।
सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयकको विरुद्धमा काठमाण्डौ उपत्यकाका नेवार समुदाय आन्दोलित बनेका थिए ।
हिजोप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि विधेयकका सम्बन्धमा परामर्श गर्नु भएको थियो । आफ्नै पार्टीका सांसदहरुले पनि विधेयक फिर्ता लिनुपर्ने आवाज उठाएपछि सरकार विधेयक फिर्ता लिन बाध्य बनेको हो ।

शिक्षक र स्वास्थ्यकर्मीका गुनासा : तलब छैन, तनाव मात्रै

जुम्ला-“अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ”, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो पोख्दै भने ।हिमा गाउँपालिकास्थित अन्नपूर्ण माविको प्रावि तहमा कार्यरत शिक्षक प्रेमबहादुर सिंहको गुनासो पनि त्यस्तै छ । “केही समयका लागि भनेर ऋण÷सापटी लिएका थिएँ, दिने मानिसले माग्न थालेपछि फोन बन्द गर्नुपर्ने बाध्यता छ”, उनले भने, “तलब आउने वित्तिकै दिन्छु भनेर पैसा ऋण लिएँ तर आज पाँच महीना भयो, स्थानीय सरकारलाई तलब खुवाउनुपर्छ भन्ने मतलब नै छैन ।”गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले लामो समयको सङ्घर्षपछि अब तलब पाउने आशा रहेको बताए। “अब सम्भवतः दुई÷चार दिनभित्रै शिक्षक तथा कर्मचारीको खातामा तलब जान्छ”, उनले भने, “फागुनसम्मको तलब सबैले पाउँछन् ।”यता तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले असोजदेखिको तलब भत्ता खान नपाउँदा ऋणी हुनुपरेको गुनासो गरे। “आजका दिनसम्म सुत्केरीहरुले यातायात खर्च पाएका छैनन्”, संयोजक नेपालीले भने, “स्वयंसेविकाले पोशाक भत्तासमेत पाएका छन् ।” तलब नपाउँदा बालबालिकाको अध्ययन पनि प्रभावित भएको उनको दुखेसो थियो ।
स्थानीय सरकारको कमजोरीका कारण शिक्षा तथा स्वास्थ्यका कर्मचारीले दुःख खेप्नु परेको शिक्षक रणबहादुर रावतले बताए । तलब नपाउँदा शिक्षक, स्वास्थ्यकर्मीले तनावमा काम गर्नुपरेको उनको भनाइ थियो । काम गरेर पाउने ज्यालाका निम्ति पनि सरकारसँग लामो लडाइँ गर्नुपरेकोमा उनले रोष प्रकट गरे ।
अब भने जुम्ला जिल्लामा कार्यरत शिक्षा र स्वास्थ्यका करीब एक हजार ७४१ शिक्षक कर्मचारी र स्वास्थ्यकर्मीले दोस्रो चौमासिक तलब खान पाइने अपेक्षा गरेका छन् ।

पाँच घण्टाभन्दा बढी बच्चालाई स्कुलमा राख्दा  शारीरिक र मनोवैज्ञानिक असर पर्छ !

बालबालिकाको पहिलो विद्यालय भनेकै घर हो । त्यसपछि मात्र अरू शैक्षिक संस्था, शिक्षक अगाडि आउँछन् । एउटा बच्चा विद्यालय गएन तर घरमा राम्रो वातावरण पायो भने राम्रो व्यक्ति बन्न सक्छ तर घरबिनाको बच्चाले विद्यालय पाउँदैमा सफल हुन्छ भन्ने छैन । हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ कि कडा अनुशासनमा राख्न जोड दिँदैछौँ ? मिलन पाण्डेले एउटा लेखमा लेखेका थिए ‘विद्यार्थी प्रत्येक दिन स्कुल जाँदै छ, अनि आफ्नो सिर्जनशीलता गुमाएर फर्किंदै छ ।’

नेपालमा विद्यालय तहबाटै बालमस्तिष्कमाथि शासन सुरु गरिन्छ । उनीहरुलाई कैदी जस्तो बनाई नैतिकता र स्वतन्त्रताको पाठ पढाइन्छ । नेसनल सेन्टर फर टाइम एन्ड लर्निङको एउटा अनुसन्धानअनुसार आठ घण्टाको स्कुल समयमा विद्यार्थीहरु स्कुलमा प्रतिवर्ष दुई सय अतिरिक्त घण्टा खर्च गर्छन् । विज्ञहरु भन्छन्, ‘स्कुलमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक, आर्थिक उपलब्धिको ढोका बन्द हुन्छ ।’

८ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीहरू आठ बजे स्कुल जानका लागि सात बजे घरबाट हिँड्नुपर्छ । साँझ घर फर्किंदा पाँच बज्छ । ट्युसन क्लास वा अतिरिक्त कक्षा भनेर स्कुलमा बिहानबाट साँझसम्म विद्यार्थीहरू राख्ने गरिन्छ ।   लामो समय स्कुलमा समय बिताउँदा थकानको कारण न अतिरिक्त क्रियाकलाप प्रभावकारी हुने गर्छ न शिक्षकले पढाएको नै प्रभावकारी हुन्छ । चाहविल बस्ने मनिषा पाण्डे भन्छिन्, ‘घर आएर छोरासँग बोल्ने पनि फुर्सद हुँुदैन । आएर होमवर्क गर्छ अनि सुत्छ । बिहान आठ बजेबाट स्कुल सुरु हुन्छ, साँझ पाँच बजे फर्किन्छ । तर परीक्षामा राम्रो नम्बर पनि ल्याएकोे हुँदैन । शिक्षकहरु पनि स्कुलमा फेल भयो, फेरि अतिरिक्त क्रियाकलाप गराउनुपर्छ भन्छन् । न छिटो घर आउँछ न राम्रो नम्बर ल्याउँछ ।’

अभिभावकहरु घरमा छोराछोरीले दुःख दिन्छन् वा जागिरे भएको कारण छोराछोरीलाई ख्याल राख्न पाइँदैन भनेर लामो समयसम्म पढाइ हुने वा लामो समय राखिदिने स्कुल खोज्छन् । बच्चालाई स्कुलले राखिदिने ५, ६ घण्टा समय पनि थोरै हुन्छ ती अभिभावकलाई । तर ती अभिभावकले स्कुलमा धेरै समय रहने बच्चामा पर्ने नकारात्मक प्रभावबारे भने बुझेका हुँदैनन् ।
शिक्षाविद् टम हाइर्कले भनेका छन्, ‘२१औँ शताब्दीका विद्यार्थीलाई, २०औँ शताब्दीका शिक्षक, १९औँ शताब्दीको पाठ्यक्रम र १८औँ शताब्दीको विधिले पढाइँदै छ ।’ साना बालबालिकाले घर पुगेर खेल्ने अराम गर्ने टीभी हेर्ने समय नै पाउँदैनन् । बिहान गृहकार्य, दिनभरी स्कुल र साँझ फेरि गृहकार्य । स्कुलमा पनि ३०, ४० मिनेट खाजा खाने समय मुस्किलले छुट्टिन्छ । फिनल्यान्डको स्कुल समयमा विद्यार्थीलाई प्रत्येक घण्टा १५ मिनेट खेल्ने र उफ्रिने समय छुट्याइएको हुन्छ ।

अभिभावकहरु घरमा छोराछोरीले दुःख दिन्छन् वा जागिरे भएको कारण छोराछोरीलाई ख्याल राख्न पाइँदैन भनेर लामो समयसम्म पढाइ हुने वा लामो समय राखिदिने स्कुल खोज्छन् । बच्चालाई स्कुलले राखिदिने ५, ६ घण्टा समय पनि थोरै हुन्छ ती अभिभावकलाई । तर ती अभिभावकले स्कुलमा धेरै समय रहने बच्चामा पर्ने नकारात्मक प्रभावबारे भने बुझेका हुँदैनन् ।

मनोविज्ञ सन्देश ढकाल भन्छन्– ‘स्कुलको वातावरणमा पनि भर पर्छ । पढाउने, लेखाउने र थुनेर राख्ने मात्र क्रियाकलाप हुने स्कुलमा नकारात्मक प्रभाव पर्छ नै ।’

‘ठूलो उमेरका विद्यार्थीका लागि एसईई वा अरू तहमा नतिजा देखाउने चलन छ । सङ्ख्यात्मक र मात्रात्मक हिसाबले नतिजा ल्याउनका लागि बिहानबाट साँझसम्म स्कुलमै राख्ने गरेको पाइन्छ । त्यसैले त्यो उमेरका बालबालिकाको खेल्ने र कुद्ने क्रियाकलाप पनि पढ्ने जत्तिकै आवश्यकता हो ।’

तर बिहानबाट बेलुकीसम्म विद्यालयकै रोहबरमा र नियन्त्रणमा राखेर पढाउँदा  उनीहरुले गर्न पाउने सामान्य क्रियाकलाप पनि गर्न नपाउँदा विकासमा नकारात्मक असर पार्ने तर्क उनको छ ।

उनी भन्छन्, ‘स्कुलमा थाकेर आएको हुन्छ । घर आएर पनि केही गर्न सक्दैन । छरछिमेकमा पनि घुलमिल हुन सक्दैन । त्यसले नकारात्मक प्रभाव पार्छ ।’

उनी भन्छन्– ‘कलिला उमेरका बालबालिकालाई परिवारको सम्पर्कबाट टाढा राख्नु भनेको आफैँमा नकारात्मक प्रभाव हो । बच्चालाई बाबुआमाको नजिक बस्नुपर्ने र खेल्नुपर्ने हुन्छ ।’

डीएभी सुशील केडिया विश्व भारती हाइयर सेकेन्डरी स्कुलका भ्वाइस प्रिन्सिपल रामचन्द्र खनाल भन्छन्, ‘साना नानीलाई पाँच, छ घण्टाभन्दा बढी  स्कुल राखिरहनु भनेको उनीहरुको मनोवैज्ञानिक, शारीरिक विकासको लागि उपयुक्त हुँदैन । किनभने धेरै समय स्कुलमा राख्नु पढाइरहुन भन्ने सबै अभिभावकको चाहना हुन्छ तर लामो समय विद्यार्थीलाई स्कुलमा राख्दा पढाइप्रति नै वितृष्णा पैदा हुन्छ भन्ने ती अभिभावकलाई थाहा हुँदैन ।’

‘परिवारमा बच्चा सबैको आकर्षणको केन्द्र हुन्छ । विद्यालयमा हेर्ने र ख्याल गर्ने मान्छे त राखेको हुन्छ तर एकजना मान्छेले १५, २० जना बच्चा हेर्नुपर्छ  ।’

‘धेरै समय स्कुल विताउने बच्चाको स्कुलमा गहिरो लगाव पनि हुँदैन । त्यो उमेरमा बालबालिको लगाव राम्रो हुन पाएन भने त्यतिबेला पूरा नभएको कुरा पछिसम्म असर देखिरहन्छ । कसैसँग नजिकको सम्बन्ध बनाउन नसक्ने भावनात्मक सम्बन्ध स्थापित गर्न नसक्ने जस्ता समस्या पछि देखिन सक्छन् ।’

हाम्रो समाजमा बच्चा दुई वर्षको भएपछि स्कुल पठाइहाल्ने चलन छ भन्दै उनी भन्छन्, ‘पढाउने, लेखाउने र शारीरिक क्रियाकलाप पनि छ भने २, ३ घण्टा स्कुल पठाउने कुरा ठिकै हो तर ड्रेस लगाएर, झोला बोकेर दुई वर्षको बच्चालाई स्कुलमा पढाउने, लाइन लगाएर राख्ने गतिविधि भयो भने त्यसले नकारात्मक असर पर्छ ।

डीएभी सुशील केडिया विश्व भारती हाइयर सेकेन्डरी स्कुलका भ्वाइस प्रिन्सिपल रामचन्द्र खनाल भन्छन्, ‘साना नानीलाई पाँच, छ घण्टाभन्दा बढी  स्कुल राखिरहनु भनेको उनीहरुको मनोवैज्ञानिक, शारीरिक विकासको लागि उपयुक्त हुँदैन । किनभने धेरै समय स्कुलमा राख्नु पढाइरहुन भन्ने सबै अभिभावकको चाहना हुन्छ तर लामो समय विद्यार्थीलाई स्कुलमा राख्दा पढाइप्रति नै वितृष्णा पैदा हुन्छ भन्ने ती अभिभावकलाई थाहा हुँदैन ।’

‘कुन तहको बच्चा हो, त्यसमा पनि भर पर्छ । विद्यार्थीलाई पढाउनेभन्दा अन्य क्रियाकलाप महत्त्वपूर्ण हुन्छन् । लामो समयसम्म विद्यालयमा राख्दा बौद्धिक विकास हुन्छ भन्ने सोचाइ छ, त्यो गलत हो । पछिल्लो चरणमा विद्यार्थीहरु अल्छी हुुने पढाइलाई बोझ ठान्ने गर्छन् ।’

‘घरपरिवारमा पारिवारिक वातावरण हुन्छ । बच्चाहरु घुलमिल हुन्छन् । बस्न, हिँड्न र डुल्न पनि सजिलो हुन्छ । छरछिमेकमा स्वतन्त्र ढङ्गले खेल्ने, कुद्ने, बस्ने र अरू खालका मनोरञ्जनका काम पनि गर्न सक्छन् । त्यसैले लामो समय स्कुलमा राख्दा नराम्रो असर पर्छ ।’

६ वर्षमुनिको बच्चालाई ३, ४ घण्टा र त्यो भन्दा माथिको बच्चालाई खाना खाने र खेल्ने समयलाई मिलाएर ५, ६ घण्टाभन्दा बढी समय स्कुलमा राख्नुहुँदैन भन्ने तर्क उनको छ ।

साताको राशिफल : असार २ गतेदेखि ९ गतेसम्मको

मेष
परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।खानपिनमा रूचि बढ्ने छ। शुभ समाचार सुन्न पाइने छ। मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । पठनपाठमा रूचि बढ्ला ।सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।

वृष

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक यो साता रहने छ । आम्दानीमा कमी आउने छैन । यात्राको सम्भावना छ ।

मिथुन
आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । सकारात्मक सोच बढ्ने छ।तपाईंको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र
प्रतिस्पर्धामा विजय मिल्नेछ ।

कर्कट
यो साता मध्यम छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले काममा असर पर्नसक्छ । साताको प्रारम्भमा केहि राम्रो भएता पनि बुधबार पछि अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।

सिंह
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । जागिरेमा बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ ।तर घरायसी काममा समय र धन खर्च हुनेछ ।

कन्या
एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।

तुला
सामान्यतया यो साता मध्यम छ। अध्यनमा बाधा आउला। ब्यापारमा केही नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ।पारिवारिक असमझदारी बढ्न सक्छ ।यद्यपि बुधबारदेखि राम्रो समय आउने छ। पुराना कमजोरी सच्याउदै अगाडि बढ्ने अवसर मिल्ने छ।

वृश्चिक
शत्रुपक्ष कमजोर हुने छन् ।समाजिक क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ
दिनेछन् ।व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

धनु
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा फाइदा हुने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् ।
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।

मकर
साताको सुरूका दिनहरू प्रतिकुल छ्न् ।स्वास्थ्यमा समस्या आउन सक्छ । सानातिना घरायसी कामहरूमा
समय व्यतीत हुनेछ । साताको मध्यबाट राम्रो छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । मान संमान प्राप्त होला।

कुम्भ
प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि यो साता आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । यद्यपि ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । साताको सुरुमा केही नोक्सानी बेहोर्नु पर्नेछ ।

मीन
वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ।

विद्यापिठका बटुकलाई कम्प्युटर सहयोग

तिलोत्तमा ५ नयांमिलमा सञ्चालित दुर्गा वैदिक संस्कृत विद्यापिठमा अध्ययनरत विद्यार्थी (वटुक) लाई सिद्वार्थ बैंक मणिग्राम शाखाले कम्प्युटर दिएको छ । कम्प्युटर शिक्षाबाट बन्चित दुर्गा वैदिक परमानन्द सन्यास आश्रममा रहेका विद्यार्थीका लागि सिद्वार्थ बैंक मणिग्राम शाखाले दुइ थान कम्प्युटर सहयोग गरेको हो । आश्रममा एक कार्यक्रमको आयोजना गरी सिद्वार्थ बैंक प्रदेश नम्बर पांचका प्रमुख सुशील नेपालले १००८ स्वामी विवेकानन्द महाराजलाई कम्प्युटर हस्तान्त्रण गर्नुभयो ।

त्यस अवसरमा बोल्दै प्रदेश प्रमख नेपालले धार्मिक क्षेत्रमा आस्थावान विद्यार्थीलाई कम्प्युटर शिक्षामा पनि दक्ष बनाउनु पर्छ भन्ने उद्वेश्यले बैंकले कम्प्युटर सहयोग गरेको बताउनु भयो । उहाले संस्कृत विद्यापिठमा अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने कम्प्युटरलगायत अन्य शैक्षिक सामाग्री सहयोग गर्दै जाने प्रविद्वता जनाउनु भयो ।सिद्वार्थ बैंक मणिग्राम शाखाका प्रवन्धक राजेन्द्र आचार्यले १ लाख १० हजारको दुइ थान कम्प्युटर सहयोग गरिएको जानकारी गराउनु भयो ।

उहाले सामाजिक उत्तरदायित्व वहन गरी कम्प्युटर सहयोग गरिएको बताउनु भयो । बैंकका बुटवल शाखा प्रवन्धक चन्द्रदेव पौडेलले सेवा नै धर्म भएकाले कम्प्युटर शिक्षामा सहयोग पुराउने गरी सहयोग गरिएको बताउनु भयो । १००८ स्वामी विवेकानन्दको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गा वैदिक परमानन्द सन्यास आश्रमका अध्यक्ष दुर्गाप्रसाद खरेल, तारानाथ कडेललगायतले बोल्दै सनातन वैदिक धर्म संरक्षणका लागि सबैको साथ सहयोग आवश्यक रहेकामा जोड दिनु भयो ।

तिलोत्तमा व्यापार संघद्धारा ५३ युनिट रगत संकलन

तिलोत्तमा । तिलोत्तमा व्यापार संघले बिश्व रक्तदाता दिवसको अवसरमा मणिग्राममा रक्तदान कार्यक्रम गरेको छ ।संघको कार्यालय परिसरमा बिहानदेखि मध्यान्हसम्म चलेको कार्यक्रममा ५३ जना व्यवसायी तथा शुभेच्छुकहरुले रक्दान गरेका थिए ।रक्तदान कार्यक्रमको तिलोत्तमा नगरपालिकाका कार्यवाहक प्रमुख जागेश्वरदेबि चौधरीले उदघाटन गर्नु भएको थियो ।

त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख चौधरीले नगरपालिकाको समग्र बिकासमा उद्योगी व्यवसायी र व्यापार संघको अहम भुमिका हुने बताउनुभयो । उहांले स्थानीय संघ सस्था र व्यवसायीको सहयोगकै कारण नगरपालिकाले कर तथा राजश्वमा लिएको लक्ष्य करिव करिव पुरा गर्ने अवस्थामा रहेको बताउनु भयो ।उहाले नगरवासीको स्वास्थ्य र सरसफाईलाई प्राथमिकता राखेर नगरपालिकाले कुनैपनि अस्पतालमा तिलोत्तमाबासीलाई रगत आवश्यक पर्दा त्यसमा लाग्ने प्राबिधिक खर्च उपलब्ध गराउने निणर्य गरेको जानकारी गराउनु भयो ।

नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाले अघि सारेको सरसफाई, प्लाष्टिकका झोला तथा गिलास प्रयोग नगर्ने अभियान तथा अन्य कार्यमा व्यवसायीक सस्थाले गरेको सहयोग सह्रानीय रहेको बताउनु भयो । उहाले नगरपालिका भित्र औद्योगिक व्यवसायीक वातावरण बनाई लगानी भित्र्याउन पनि नगरपालिकाले लगानी सम्मेलनको तयारी गरीरहेको बताउनु भयो ।तिलोत्तमा व्यापार संघका अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले तिलोत्तमा नगरमा व्यवसायीक वातारण बनाई यहाका उत्पादन र बस्तुलाई राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा पहिचान गराउन संघले बिभिन्न कार्यक्रमहरु गर्ने बताउनु भयो ।

उहाले कुनै पनि व्यवसायी वा नागरीकले आवश्यक पर्दा सहज रुपमा रगत प्राप्त गरुन र रक्तदान प्रति सबैको सकारात्मक भावना बढदै जाओस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताउनु भयो ।संघका महासचिव बिष्णु बरालको संचालनमा कार्यक्रम भएको थियो ।संघले गत वर्ष भदौमा संघको स्थापना दिवसमा पनि रक्तदान गरेको थियो । त्यतिबेला ४० जनाले रक्तदान गरेका थिए ।

कथा : ह्याण्ड्सम जीवनसाथी

जुनी भण्डारी
प्राय मेरा सबै साथिहरुको चाहना आफुभन्दा अलि धेरै पढेको,आफुले भन्दा राम्रो पोस्टको जागिर खाएको यात आर्थीक रुपमा सम्पन्न ब्यक्तिसँग नै बिहे गर्नुपर्छ भन्ने हुन्थ्यो तर मेरो सोच अरुभन्दा अलि भिन्नै थियो। बिहे त त्यस्तो केटासँग गर्नुपर्छ, कुनै न कुनै कुरामा ऊ भन्दा आफु एककदम अगाडि भैयोस,आफुभन्दा हरेक कुरामा पर्फेक्ट केटासँग बिहे गर्ने चाहना कहिल्लै भएन। यसको मतलव केटामा कुनै कमजोरी होस् यो होइन,केटा पर्फेक्ट होस् तर उ भन्दा कुनैन कुनै कुरामा आफु स्ट्रङ्ग हुन पाइयोस्।

त्यसैले पनि मैले एउटै संस्थानमा काम गर्ने म भन्दा एक तह तल्लो पोस्टको सहकर्मीसँगको बिहे प्रस्तावलाइ स्विकार गरे। मेरो साथि,उसको बैनी पर्ने मार्फत बिहेको प्रस्ताव आयो,दुबैको सहमतिमा परिवारका सदस्यहरु समक्छ्य कुरा राखियो र सबैको स्विकृतिमा बिहे सम्पन्न पनि भयो। उमेरमा हामि एउटै सालका थियौ अझ एक महिना म जेठी रहेछु तर नागरिकतामा मेरो उमेर २ बर्ष घटाइएको थियो यो कुरा उसलाइ बिहे अगाडि नै जानकारी दिएकि थिएँ।यसमा हामि दुबैलाइ कुनै आपत्ति थिएन। दुबैको मनमा एकअर्काप्रति सम्मान थियो,सहयोग,मायाको भाव थियो। बिहेका दुइ बर्ष यसरी नै बिते।

साथिभाइ,आफन्तहरु भन्ने गर्थे तेरो श्रीमान त कस्तो ह्याण्डसम, तँ भन्दा धेरै राम्रो छ उ। कसैले भन्थे बुडा त यसले पाएकै हो,कसैले भन्थे तलाइ उसले मन पराएकै हो नत्र त एकसे एक राम्री राम्री केटिहरु पाउथ्यो उसले अझै पनि १६,१७ बर्षका केटिहरु उसको सुन्दरतामा लठ्ठ पर्छन्। कता कता मन चस्स हुन्थयो। कसैले त मेरो पछाडि यस्तो राम्रो केटो फसेकै हो भन्ने पनि गर्थे रे। यस्ता कुराहरु सुन्दा आफ्नो सुन्दरता र उमेरलाइ लिएर म अलि तनावमा पर्न थाले। जब म उसका साथीहरुका जोडिहरु हेर्थे सबैका श्रीमतीहरु म भन्दा धेरै राम्री अनि कम उमेरका देख्थे, तनाव अझ बढ्थ्यो।

अब त उसँग कतै घुम्न जान,सँगै फोटो खिच्न पनि मलाइ हिचकिचाहट हुन थाल्यो। साथिहरुले फेमिली गेटटुगेदर राख्दा पनि म कुनै न कुनै बहनाले सामेल नहुन खोज्थे। सामेल भइहाले पनि म त्यहा कम्फरटेबल हुदिनथें। कहिले त उसँग बिहे गर्नुु नै मैले भुल गरेछु कि जस्तो लाग्थ्यो। यस्तै असहज र हिनताबोध हुन नपरोस् भनेरै मैले जहिले पनि श्रीमान भन्दा आफु अब्बल हुनुपर्छ भन्ने मान्यता राख्थें तर आज म त्यसमा चुकेरै छाडे,आखिर म सुन्दरताको मामलामा श्रीमान भन्दा कमजोर ठहरिए।

यहि कारणले हाम्रो बैवाहिक जीवनमा कुनै आँच आउने त होइन डर पनि लाग्न थाल्यो,तर मन बुझाउने एउटै कारण थियो मेरो जागिर। जे भएपनि उ भन्दा म ठूलो पोस्टमा जागिर खाएकि छु भन्ने सोचाइले केहि आत्मसन्तुष्टि मिल्थ्यो। उ सुब्बा सरह,म छैठौ तह अधिकृत सरह,केटि अधिकृत छे भनेर इन्जिनियर लगायत अधिकृत स्तरकै अन्य ब्यक्तिबाट बिहेका प्रस्ताव नआएका पनि होइनन्, कोहि अलि बढि नै धनाड्य थिए त कोहि बढि नै अब्बल,मेरो स्तरसँग बिल्कुलै नमिल्दा। तर मैले शारिरिक र अनुहारको सुन्दरताको बारेमा त ख्यालै गरिनछु यो त झनै ख्याल गर्नुपर्ने कुरा पो रहेछ जस्तो महसुस हुन थाल्यो।

हामि दुबैजना सातौ तहमा बढुवाको लागि तयारी गरिरहेका थियौ,पढ्ने क्रममा घरको काममा हामि दुबैजनाले समय दिन्थ्यौ। मलाइ कता कता आफ्नै श्रीमानप्रति इर्ष्याको भावना जाग्न थालेको थियो डर लाग्थ्यो कतै मेरो नाम ननिस्केर उसको सातौ तहमा नाम निस्किने त हैन,मन पनि कस्तो पापी एक मनले उसको नाम निस्कियोस् भनेर प्रार्थना गर्थ्यो अर्को मनले उसको नाम निस्कियो भने म उ भन्दा हरेक कुराले असक्छ्यम हुन्छु भन्ने डर लाग्थ्यो। नभन्दै मेरो डर वास्तविकतामा बदलियो। परिक्छ्याको समयमै मेरो पेटमा गर्भ रह्यो डक्टरको सल्लाह बमोजिम बेड रेस्ट गर्नुपर्ने भो, म धेरै तनावमा रहन थालें,मलाइ गर्भको बच्चा भन्दा मेरो एक्जाम बढि महत्वपूर्ण लाग्यो र डक्टरको सल्लाहलाइ पनि वास्ता गरिन त्यसको परिणाम स्वरुप ३ महिना नपुग्दै मेरो मिसक्यारेज हुन गयो।

स्वास्थ्य झनै बिग्रियो एक्जाम दिन सकिन। पछि श्रीमानको सातौ तहमा नाम निस्कियो। अब त म हरेक कुराले श्रीमान भन्दा कमजोर भए सुन्दरता,जागिर,उमेर , शारिरिक कमजोरी सबै । तनाव र कमजोरिले गर्दा मेरो सुन्दरता झनै बिग्रदै गयो । म बिना कारण श्रीमानसँग रिसाउन, झर्किन थलेकी थिएँ,सानो सानो कुरामा रिस उठ्थ्यो,रुन मन लाग्थ्यो आफैले आफुलाइ निकै कमजोर महसुस गर्न थाले। तर यसमा मेरो श्रीमानको कुनै दोश थिएन। एकदिन अनौठो सोंच आयो मनमा,यसरि त बैवाहिक सम्बन्ध अगाडि बढ्न सक्दैन,मेरो कारणले बिचरा उसको जिन्दगी पनि सोचे जसरी अगाडि बढ्न सक्दैन बरु उसको जिन्दगिबाटै म हटिदिन्छु उसले अझैपनि म भन्दा सुन्दर,सक्छ्यम जीवनसाथी पाउछ र म पनि एक्लै जिन्दगि बिताउने बानी पार्नेछु।

यहि सोंचेर उसँग डिभोर्स गर्ने निर्णय गर्छु। बडो हिम्मत जुटाएर उसलाइ मेरो निर्णय सुनाउछु। उसले विश्वास गर्दैन पहिले,यस्तो कुरामा ठट्टा नगर मसँग भन्छ निकै बेरपछि यो कुरा वास्तविक हो भनेर उसलाइ सम्झाउन सफल हुन्छु म। उसले डिभोर्सको कारण सोध्दा मैले आफ्नो अरु कसैसँग अफेयर रहेको र उसँगै बस्न चाहेको भनेर झुठो कथा बताउछु। उसको आँखामा भरिएका आँशुहरु गालामा नझरुन् भनेर उ आँखा झिम्काउने आँट पनि गर्दैन। यति सबै भइरहदा म पनि कहाँ खुशी थिए र तर पनि आफुलाइ निकै कठोर बनाउने कोशिस गरेर उसको सामु उभिएकि थिएँ।

यत्तिकैमा बेडको साइडमा रहेको टेबुलमा मोबाइल बज्छ,सहकर्मि रुबिनाको फोन रहेछ म आधा निद्रामै फोन रिसिव गर्छु हेलो! उताबाट रुबिना मधुरो आवाजमा बोल्छे ( अझै सुतिराको ? हेरन कस्तो नराम्रो घटना घटेछ नि राती त, हामि खाजा खान जाने रेस्टुरेन्टको शिव दाइले सुसाइड गरेछन् नि, बुडिको अर्कै केटासँग अफेयर रहेछ रे त्यो थाहा पाएर। “ मेरो पुरै निद्रा एक्कासी खुल्यो,रुबिनाले अरु के के भन्दै थिइ मैले केहि सुन्नै सकिन। फोन राखेर निदाइरहेका श्रीमानतर्फ हेरे। डिभोर्सको निर्णय धन्न सपनामा गरेकि रहेछु भनेर खुशी भए।

शनिवार भएकोले ऊ उठिसकेपछि आज मन्दिर जाने योजना बनाए। नजिकैको मन्दिर गयौ, भगवानलाइ साक्छी राखेर उसलाइ नढाटिकिन एउटा कुरा भन्नु भनेर सोधे( के तपाइलाइ कहिल्लै मेरो बुडि नराम्री छे भनेर आत्मग्लानि हुन्छ, साथिभाइ आफन्तको अगाडि मसँग हिड्दा कहिल्लै असहज महसुस हुन्छ ?
उसको जवाफ यस्तो थियो(“ पहिलो कुरा त कोहि राम्रो लाग्नु र कसैको माया लाग्नु फरक कुरा हो,मैले तिमिलाइ बिहे गर्नु अगाडि तिमिभन्दा राम्रा केटि देखे होला तर माया त तिम्रै लाग्यो,जुन माया त्यो बेला लागेको थियो अहिले पनि उस्तै छ र सधै उस्तै हुनेछ। र अर्को कुरा हामी केहि यस्ता सम्बन्धमा जोडिएका हुन्छौं,नातामा जोडिएका हुन्छौ,जस्तै आफ्ना आमाबाबु,आफ्ना सन्तान,आफ्ना जीवनसाथी तिनिहरुसँग हिड्दा,तिनिहरुलाइ आफन्त भनेर चिनाउदा कहिल्लै लाज लाग्छ त ? फेरि मैले तिमिलाइ कसैको करकापमा,जवरजस्ति दबावमा बिहे गरेको पनि त होइन ।“

उसको जवाफ सुनेर म आफैले आफुलाइ धिक्कारे,साच्चै ति भगवानको मन्दिरमा बजेका घण्टिले जसरी मनलाइ आनन्दित तुल्याउँछन् त्यो भन्दा आनन्दित उसको जवाफले बनायो मलाइ।
अब म नचाहिने कुरामा तनाव लिनेछैन,दुनियाँले के भनेको छ भनेर दुखी हुनेछैन, बस उसको नजरमा म राम्री श्रीमती हुँ यो सोचेर खुशी हुनेछु। यहि भन्दै समझदार जीवनसाथी जुराइदिएकोमा भगवानलाइ फेरी एकपल्ट नमन गरें।

जीवनको सार्थकता : निरंतर सत्कर्म

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)

हाम्रो जीवन एक यात्रा हो। यो यात्रा क्रममा मनिसले आफ्ना साझा मुल्य,मान्यता , निति, नियमहरूलाई अनिवार्य स्वीकार गर्नु पर्छ। यद्यपि जीवनमा आइपरेका चुनौती संग डराएर होइन जीवनका अफ्ट्यारा र चुनौती लाई पार लगाउदै हाम्रो क्षमता ,शक्ति ,शौर्य, गुण र सहास आदि लाई जगाएर जीवन लाई उचाईमा पुर्याउनु नै हाम्रो जीवनको सार्थकता हुन्छ। जीवनको महत्त्व र उपयोगिता लाई बुझेर निरंतर सत्कर्म ,सत्भाव र बचनले पनि सेवाभाव प्रस्तुत गरियो भने त्यो नै ठुलो धर्म हो।
जस्तै भनिएको पनि छस्(
“अद्रोहस् सर्वभूतेषु कर्मणा मनसा गिरा ।
अनुग्रहश्च दानञ्च सता धर्म सनातनस् “।। (महाभारत
(कुनै पनि प्राणी हरू लाई द्वेष नगरीकन मन ,बचन र कर्मले आफ्नो योग्यता अनुसार निस्काम भावले सेवा गर्नुनै सज्जनहरुको धर्म मानिएको छ।)
हामीले गरेका हरेक काम कर्तव्यले नै हाम्रो उचाई निर्धारण गर्दछ। हामी सत्कर्म गर्न हामी पूर्ण स्वतन्त्र छौ ।
“कुन सत्य,सत्य कसरी जान्नु ?
जो हो हितैको उहीँ सत्य मान्नु“।।
आदिकवी भानुभक्त आचार्यले आफ्नो कबितात्मक उक्तिमा भनेझैं हामीले अरूको हित र कल्याणका निम्ति नै कर्म गरियो भने त्यो नै सत्यको मार्ग हो।अरूको हित ,भलो र कल्याणको लागी अग्रसर भइयो भने मात्र हामी यो सुन्दर जीवनलाई सार्थक टुंगोमा पुर्याउन सक्दछौ।
संसारमा हरेक मनुष्यले कर्मानुसार फल भोग गर्नु नै पर्छ।
शुभकर्मले शुभ फल अशुभ कर्म ले अशुभ फल नै उत्पदन गर्छ्न।
हाम्रा प्राप्ति र अप्राप्ति सबै हामीले गरेका कामका फल हुन् । हाम्रो लगनशीता र मेहनतका परिणाम हुन् ।

भगवत गीतामा भगवान श्रीकृष्णले पनि जीवनलाई निरन्तर कर्ममा लाग्न प्रोत्साहित गर्नुको छ ।तेसमा पनि निष्काम कर्म लाई नै जोड दिनु भएको छ।भन्नुभएको छ (
“ त्याक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रय स् ।
कर्मण्यभि प्रवृतोकपि नैव किन्चित करोतीय ।।“
(कर्मको चहाना वा आश्रय त्यागी नित्य निराश्रय बनी कर्तव्यकर्म गरियो भने केही गरिएको ठहरिदैन ।कर्मको बन्धनमा पनि परिदैन।) अनासक्त भई कर्म गर्नु भनेको स्वतन्त्र हुनु हो।बन्दन बाट मुक्त हुनु हो।तेसैले कर्मको चासो नराखी निरन्तर आफ्नो कर्तव्य कर्म गर ।“कर्मणा गहनो गति “ गीतामा कर्म , अकर्म र विकर्मका भेदले कर्मको गति गहन भएको बताइएको छ।असल नियतले पर हित र पर कल्याणका निम्ति गरिने कर्म हो । केहि नगरी बस्नु अकर्म हो, भने खराब वा नराम्रो काम विकर्म हो । कर्म नगरेमा यहि शरीर यात्रा चलाउन पनि धौ/धौ हुन्छ । हाम्रो यो शरीर धर्म र कर्म सफल साधन हो ।
कर्म बिना सन्सारको कल्पना पनि गर्न सकिदैन।
“कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन ।“
(तिम्रो अधिकार कर्म गर्नमा छ,तर कर्मको फलमा कहिल्यै अधिकार छैन।) गीताले सबैलाई कर्म गर्न अभिप्रेरित गर्दछ।आफ्नो कर्तव्य कर्म गर्न मानिसलाई पुर्ण अधिकार छ र पुर्ण स्वतन्त्र पनि छ। कसैले पनि कर्म नगरी निष्क्रिय रहनु हुदैन । स्वार्थभावले कर्म गर्ने पनि उपयुक्त होइन । धन प्राप्ति र सुख समृद्धिप्रतिको महत्त्वकाङ्क्षाको कामनाले कर्म गर्नु स्वार्थपना हो । त्यसैले कर्म गर्दा बाहिरी लाभप्रति आसक्त बन्नु हुदैन ।मनिसलाई आ-आफ्नो योग्यता अनुसार कर्म गर्न अधिकार छ । कर्म गरि नै रहनु पर्छ।यद्यपि कर्मको फल प्राप्तिमा कसैको अधिकार हुदैन र कोहि त्यसमा स्वतन्त्र पनि छैन। कर्मको फल प्राप्ति कसैको अधीनको कुरा पनि होइन । त्येसैले तिमी कर्मफल प्राप्तिको कारण नबन भनेर गीतमा भनिएको हो। त्यस्तै कर्म नगर्नमा वा निषेधित कर्ममा पनि तिम्रो आसक्ति वा प्रीति नहोस् । आसक्तिले वा निषेधित कर्मले मानिसमा अभिमान र अहंकार पैदा गराउछ । जो सदा सन्तुष्ट भई समग्र कामना त्यागेर कर्म गर्दछ तेस्तो मान्छे कहिल्यै पनि कर्मको बन्धनमा पर्दैन । आज संसारमा सबैले आआफ्नो कर्म गरिरहेका छन् । उद्योगि,मजदुर ,शिक्षक, नेता,पत्रकार, वकिल, न्यायाधीश , ब्यापारी, विद्यार्थी आदि सबैले आ-आफ्नो कर्म गरेकै छन् यद्यपि सन्तुष्ट भने छैनन् यसको मुख्य कारण उनीहरु कर्मको फलमा लिप्त छन् ।उनीहरू निराशक्त भएनन् । आफुले चाहेअनुसार अनुसारको फल प्राप्त नगर्दा गर्दा उनिहरू बिचलित हुन पुग्छन् ,दुस्खि हुन पुग्छन् ।कर्म फल प्रति बढी अपेक्षित र आसक्ति हुदै गर्दा अपेक्षित फलको न प्राप्त परिणाम स्वरूप आज मानिस धेरै दुखी छ तनाव ग्रस्त भएको हो । तसर्थ कर्म फल प्रति कुनै पनि अपेक्षा वा चासो नराखी निरन्तर अहाङ्कार भाव हटाएर सत्कर्म तर्फ लाग्नुनै उत्तम हुन्छ । निराशक्त भई केवल परमेश्वर प्रीतिका निमित्त मात्र कर्म गरियो भने मात्र सिद्धी प्राप्त गर्न सकिन्छ। हामी कर्मको जटिलतम बन्धनको गाठोलाइ सजिलै
फुकाउन सकिन्छ ।
कसैले म केहि गर्दिन भने पनि प्रकृतिका गुणहरूले काम गरिरहेकै हुन्छन् । प्रकृतिकै अधीनमा मानिसका सबै इन्द्रिय हरूले आआफ्नो काम गरिरहेका हुन्छन् ।श्रुतिले पनि आफ्नो कर्तव्यकर्म गरेरै सय वर्ष सम्म बाच्ने कामना गर भनेको छ।
“कुर्वन्नेवेह कर्मा्णि जिजीबिषेत् शतं समास्“
आजको हामिसंग जेजति छ, त्यो अतितको कर्मको परिणाम हो भने हामीले न देखेको भबिष्यलाई पनि हाम्रो वर्तमान कर्मले नै रूप दिने हो । अतस् जुन ब्यक्तिले आफ्नो जीवनलाई उज्ज्वल बनाउन खोज्छ तेसले वर्तमानमा सचेत भई कर्म गर्नु पर्छ ।
“आलस्यं हि मनुष्याणां शरीरस्थो महारिपुः“ श्र निति
नीतिशास्त्रले भने झैँ आलस्य नै मनुष्यको लागी सबैभन्दा ठुलो शत्रु हो। उन्नतिको चाहाना राख्नेले अल्छि पन त्याग्नै पर्छ । आफू निरन्तर गतिशील हुन आवस्यक हुन्छ । गतिशीलता नै सफलताको आधार हो।

हाम्रा सम्पुर्ण शास्त्रहरूले मानिसलाई लोकहित,लोककल्याण र लोकलाई मार्ग प्रदर्शनका लागि कर्म गर्न प्रोत्साहित गर्दछ र मानिसलाई निरंतरतर कर्ममा लागी रहने प्रेरणा दिएका छ्न । शास्त्र भन्दछन्( निरन्तर कर्म गर कर्म गरेनौ भने आफ्नो जीवन निर्वाह गर्न पनि असम्भव हुन्छ । हाम्रो जीवन निर्वाह गर्ने माध्यम पनि कर्म नै हो । तर दुष्कर्म बाट संकलित धनसम्पतीले मानिसलाई कहिल्यै सुख दिदैन आनन्द दिदैन छ्टपटी र तनाव मात्र दिन्छ । फेरि जनक आदि राजर्षिहरूले पनि कर्म गरेरै सिद्धी प्राप्त गरेका थिए ।हामीलाई पनि कर्म गरेर उचाईमा पुग्नु गारो छैन बस् स्वार्थ पन त्यागेर निरंतर सत्कर्ममा जोड दिनु नै परम सिद्धी माध्यम बन्दछ। एकदुई पटकको असफलताले कहिल्यै उदेश्य बाट बिचलित हुनु हुदैन ।योजना बद्ध ढंग बाट निरंतर अघि बढ्नुपर्छ ।
“ प्रारभ्यते न खलु बिघ्न भयेन नीचैस्
प्रारभ्य बिघ्नबिहिता बिरमन्ती मध्यास्।
बिघ्नै पुनः पुनरपि प्रतिहन्यमानास्
प्रारभ्य चोत्तमाजना न परित्यजन्ती ।।“(निति
अर्थात् ती निच कायर हुन् जो विभिन्न विघ्न ,लोक लाज र भयको त्रासले आदर्शको मार्ग प्रारम्भ नै गर्दैनन् । ती मध्यम हुन् जसले प्रारम्भ त गर्छन् तर विभिन्न भय ,त्रास आदि बिघ्नका कारण आफ्नो कामलाई बिचमा नै रोक्दछन् , ती उत्तम हुन् जसले जतिसुकै बिघ्नबाधा र भयहरूलाई पनि चुनौती दिँदै सङ्घर्ष पूर्ण काम निरन्तर गर्दछन् । सहि योजना नै सम्झना कि जननी हुन् ।कडा परिश्रम र निरन्तरता नै सफलताको अधार हो।

तसर्थ हामीपनि आफ्नो कामकर्तव्य जोड दिदै अगाडि बढौ। सेफोक्लिजले भनेका छन् ( ’ईश्वरले त्येस मानिसलाई कहिल्यै सहयोग गर्दैन, जो काम गर्दैन ।’ हामी पनि ईश्वरले सहयोग गर्ने लायक बन्नु छ । सफलता प्राप्त गर्नु छ ।अखण्ड मेहनतले र निरन्तरताले नै सफलता प्राप्त गर्न सकिन्छ । अनि मात्र हाम्रो जीवनको सार्थकता पुष्टि हुन्छ। अस्तु।(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

RECENT POSTS