Wednesday, June 19, 2019

डण्डा खोलामा दुई बालक सहित एक महिलाको शव फेला

सिद्धार्थनगर रुपन्देही स्थीत डण्डा खोलामा दुई बालक सहित एक महिलाको शव आईतबार फेला परेको छ । गत शुक्रबार देखि हराई रहेका उनिहरुलाई प्रहरीले आज डण्डा खेलामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक श्यमलाल ज्ञवालीले जानकारी दिनु भयो । भारतको नौतनहवा माईत भएको र माईत बाट घर फर्कने क्रममा छोराहरुलाई पहिला डण्डामा फालेर आफुले पनि डण्डामा हाम फली आत्महत्या गरेको हुन सक्ने प्रहरीले शंका गरे पनि थप अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

 

छठ पर्व सोमबारदेखि विधिवत रुपमा सुरु

छठ पर्व हिजोदेखि विधिवत रुपमा सुरु भएको छ । छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइन्छ । छठ व्रत गर्नेहरुले सोमवार चौथीको दिन अरवा अरवाइन गरी चोखोनिधो हुने गर्दछन् । छठ पर्वको सुरुवातसँगै तराईमा पोखरी, नदी, तलाउहरुलाई सरसफाई गर्ने र सिंगारिने कार्य सुरु भएको छ ।

छठको दोस्रो दिन अर्थात् पञ्चमीको दिनभरि उपवास बसी नहाखाय गर्ने गरिन्छ भने साँझ नबचुल्होमा व्रतालुहरुले चोखो परिकार पकाएर खाने गर्छन् । खिर बनाइ डाली अनुसार उत्सर्ग गरी आफू तथा आफ्नो परिवारजनलाई दिने गरिन्छ । यसरी पञ्चमी तिथिमा दिनभरिको निराहार बसाइपश्चात बेलुका फलाहार गरिने कार्यलाई खरना भनिन्छ ।

षष्ठीको दिन व्रत वस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठकुवा , भुसुवा , केरा फलफुल, पान , सुपारी उखु आदिले अध्र्य दिई पूजा गरिन्छ । यसलाई साँझको अर्घ भन्ने गरिन्छ । भोलीपल्ट पनि पहिलेको नै उपकर्म गरि उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । त्यसलाई पारण भन्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।

पहिलो दिन ब्रतालुले ‘नहा खा’ विधि सम्पन्न गरे

चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । बिहान स्नानपछि लौका, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका ब्रतालुले यो पर्व सुरु गरेका छन् । उनीहरु अनुकुलता हेरी घरमै वा नजिकैको जलाशय किनारमा नुहाइ चोखिएका छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा वा नहाए खाए’ भनिन्छ । चार दिनसम्म मनाइने यस पूर्णतया शाकाहारी पर्वमा यतिबेला घरघाटदेखि बजारसम्म रमझम हुन्छ ।
पूर्णरुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन बुधबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी र केरा राखी मौन पुजा गर्छन् । स्थानीयले यसलाई खरना भन्छन् ।
मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पुजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन् । परिवारजन, छरछिमेक एवं पाहुनालाई समेत बाँडछन् ।
लोक आस्थाको यो पर्वको तेस्रो दिन बिहीबार बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमशः चर्चित मिष्ठान ठेकुवा, पुरी एवं भुसुवा बनाउँछन् । यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् ।

नारायणीमा बेपत्ता दाजुभाइ चन्द्र र राजकुमारको शव नवलपरासीमा

देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव नवलपरासीको कोल्हुवा पारी नारायणी नदी किनारमा फेला परेको छ । बिहीबार श्राद्ध गर्न आएका रूपन्देहीको बुटवल उपमहानगरपालिका-१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । एक जना डुबेपछि उद्दार गर्न खोज्दा अर्का भाइ पनि डुबेको हुनसक्ने प्रहरीको आशंका छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक नविनराज राईका अनुसार दुई जना शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुको शव सोमबार निकालेर पोष्टमार्टमका लागि पठाइएको छ ।

कार्तिक ११ गते धकधईमा वाम एकताको स्वागत कार्यक्रम हुने

नेकपा एमाले र माओवादी केन्द्र रोहीणी गाउँपालिकाले बाम एकताका लागि भएको गठबन्धनलाई स्वागत गर्दै कार्तिक ११ गते चियापान कार्यक्रम गर्ने भएका छन । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीका सचिवालय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यतामा सम्पन्न दुई पार्टीको छिपागढमा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि भटराईले दुई पार्टीका विचमा एउटै कम्युनिष्ट केन्द्र बनाउने संकल्पका साथ भएको गठबन्धन सानोतिनो स्वार्थका कारण नभत्कीने बताउनु भयो । कार्यक्रममा माओवादी केन्द्र रोहिणी इन्चार्ज गोविन्द पंगेनीले चुनावमा जो सुकैले टिकट पाएपनि विवादरहीत ढंगले निर्वाचन परिणाम वामपन्थीका हातमा ल्याउनु हामी सबैको दायित्व भएको बताउनु भयो ।

माओवादी केन्द्रका रोहीणी अध्यक्ष प्रदीप पाण्डेयको अध्यक्षतामा बसेको बैठकको सञ्चालन नेकपा एमाले रोहीणी संयोजक तथा जिल्ला सदस्य सञ्जय गुप्ताले गर्नुृ भएको थियो ।
बैठकले प्रदीप पाण्डेयको संयोजकत्वमा सन्जय गुप्ता, सैलेन्द्र उपाध्याय, सुनिल कोसल सहितको चियापन समारोह व्यवस्थापन समिती बनाएको छ ।

जुवाखालमै छोपिए प्रहरी जवान ,१० लाख सहित ३० जना जुवाडे पक्राउ, सामान्य कारबाहीपछि रिहा

तिहारको अबधिमा बुटवल क्षेत्रबाट प्रहरीले १० लाख नगद सहित ३० जना जुवाडेलाइ नियन्त्रणमा लिइ कारबाहि प्रकृया अगाडि बढाएको छ ।

कार्तिक ४ गते बिहान दुइबजे रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.५ स्थित मणिग्रामका मनिष अधिकारीको घरमा जुवा खेलिरहेका २६ जनाबाट नगद रु.९ लाख ४६ हजार १ सय ९५ रुपैंया र कार्तिक ६ गते बुटवल उप महानगरपालिका वडा नं. ११ देवीनगरस्थितमा नारायण भुसालको घरकोठामा ५१ हजार ७ सय ७५ सहित ४ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी जवान गोपीकृष्ण नेपाल जुवाखालमै

प्रहरीले जुवाडे छोपिरहदा एक प्रहरी जवान पनि पक्राउ परेका छन् । कार्तिक ६ गते बुटवल उप महानगरपालिका वडा नं. ११ देवीनगरस्थित नारायण भुसालको घरमा प्रहरी जवान गोपीकृष्ण नेपाल पनि जुवा खेल्दै गर्दा फेला परेका हुन् ।पक्राउ परेका सबै इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । पक्राउ पर्नेमा यातायात ब्यबसायी ,शिक्षक र ब्यापारि रहेको प्रहरीले जनाएको छ ।

२६ बर्षिय नेपाल पाल्पा साविक चिदिपानि गा.बि.स.वडा नं. ८ घर भई हाल वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत छन् ।
उनीसंगै बुटवल उपमहानगरपालिका वडा नं.११ बस्ने बर्ष ४० का गोबिन्द ज्ञवाली ,सोहि स्थानका बर्ष ४५ को रमन मल्ल , ३० बर्षिय श्रीराम थापालाइ जुवा ऐन २०२० अन्तर्गतको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्यादथप गरि अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवनकुमार भट्टराइले बताए ।

जुवा ऐन अन्तर्गत उनीहरुलाइ कारबाहि हुने डिएसपीले बताए । पक्राउ पर्नेमा यातायात ब्यबसायी ,शिक्षक र ब्यापारि रहेको प्रहरीले जनाएको छ ।जुवाडे छुटाउन केन्द्रिय नेताहरुले प्रहरीलाइ दबाब दिएका बुझिएको छ ।तर उनीहरु सोमबार राति अबेर सामान्य कारबाही पछि छुटेका छन् ।

अन्तत : बाम गठबन्धनमा सामेल भयो राष्ट्रिय जनमोर्चा

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ ।आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच आज सहमति भएको हो ।

सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक÷एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् । यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक÷एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ ।

सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दल सहमति भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आज संयुक्तरुपमा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग पनि तालमेल गर्ने निष्कर्षमा पुगेको छ ।

बहिनी शोभाको हातबाट भाइटीका गह्रण:पूर्वराजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीको हातबाट तिहारको भाइटीका गह्रण गर्नुभएको छ ।  पूर्वराजा ज्ञानेन्द्रले विगत जस्तै यसपटक पनि आफ्नी बहिनीसँग भाइटीकाको साइत बिहान १०:४५ बजे टीका तथा प्रसाद गह्रण गर्नुभएको हो ।  पूर्वराजा ज्ञानेन्द्रले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउदैँ आउनु भएको छ । सोहि अनुसार भोली १०:४५ बजेका लागि साइत निर्धारण गरिएको हो ।  पूर्वराजाले बहिनी शोभासँग कमलादी स्थित शोभा गृहमा टिका लगाउँनु भएको हो ।

बत्तीस जिल्लामा पहिलो चरणको निर्वाचन मनोनयन दर्ता

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुने छ ।

उक्त मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेम्म चल्नेछ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति महिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई मनोनयन पाइने छैन ।

त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवाले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नुहुने छ । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

नेपालको राजनीतिक इतिहासमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकै पटक हुन लागेको यो पहिलोपटक हो । रासस

आगामी निर्बाचनमा ‘टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध’

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ ।

मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, प्रजिअ, क्षेत्रीय/जिल्ला निर्वाचन अधिकारीलाई आयोगले आज पत्र पठाई राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत हुने सामग्री उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाइका साथ रोकथाम र नियन्त्रण गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री व्यापक रूपमा उत्पादन तथा वितरण गर्न लागेको सूचना पाएपछि आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगले पठाएको पत्रमा भनिएको छ, “निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री प्रयोग गरेको पाइएमा जफत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गरिने छ ।”

यसअघिको निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधी कारबाही गरेको थियो ।

निर्वाचनको अनुगमन गर्ने क्रममा आयोगबाट खटिएको टोलीले दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नअंकित टी शर्ट, टोपी, गम्छा र झोला बरामद गरी नष्ट गर्नाका साथै सम्बन्धित पक्षलाई कारबाही गरेको थियो । रासस

“ कसरी मनाईन्छ तिहारका पाँच दिन “: चक्रपाणी डुम्रे

हिन्दुहरूको महत्त्वपूर्ण चाड तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्दितिया ( सम्म जम्मा पाँचदिन मनाइन्छ । पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखी शुक्ल पक्षको द्वितीया सम्म घरमा राखी विभिन्न कन्दमुल फलफूल खुवाएर प्रसन्न पारी आफ्नो मनोकामना पुरा गरेको संस्मरण स्वरूप पाँच दिन सम्म यो चाड मनाइदै आएको भन्ने भनाइ छ। पाँचै दिन यमराजको पूजा गरिने भएकाले यमपञ्चक भनिएको हो। यि पाँच दिनमा कागपूजा,कुकुरपूजा,गाईपूजा,गोबर्द्धनपूजा र भाई पूजा गरी रमाइलो सङ्ग तिहार मनाइने गरिन्छ ।

पहिलो दिन :
यमपञ्चकको पहिलो दिनलाई काग तिहार भनिन्छ। पशुपंक्षीलाई पनि श्रद्धा गर्ने धार्मिक मान्यता अनुरुप काग तिहारको प्रचलन चलेको हो । कागलाई यमराजको दूत र सन्देस वाहकको रुपमा मानिन्छ। यसले मानिसको उमेर सकिएको खबर यमरजकहाँ चाडै पुर्याउन नसकोस भनेर कागलाई घरघरमा मीठो मीठो खानेकुरा काक बलिका रुपमा दिई खुसी पारिन्छ ।कागले वातावरणका फोहोर खाएर सफा राख्न सहयोग पुर्याउछ ।त्यसैगरी यस दिन साझ मूल द्वारमा यमदीप बाल्नाले मृत्युदेव पनि खुसी हुन्छन् र अल्पायुमा मृत्यु हुदैन भन्ने विश्वास रहेको छ ।

दोस्रो दिन :
द्रोस्रो दिनलाई कुकुर तिहार अर्थात् नरकचतुर्दशी पनि भनिन्छ ।यो दिन नरकका राजा यमराजको दूत मानिने इमानदार प्राणी कुकुरको पूजा गरिन्छ।यो अन्यन्तै गुणवान र विश्वासी प्राणी मात्र नभई, घरमा चोरी डकैती हुन बाट बचाउने ,बाटो देखाउने, चोर पत्ता लगाउने आदि गुणहरू भएको प्राणी हो ।यस दिन कुकुरलाई माला लगाई मीठा मीठा खानेकुरा दिई यमदूत कुकुरको पूजा गरि यमराजको सम्मान गरिन्छ ।त्यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिनमा लक्ष्मीले तेलमा निवास गर्छिन ।त्यस दिन शरीरमा तेल लगाउनाले वर्ष भरी धनको कमि हुदैन भन्ने मान्यता छ ।

तेस्रो दिन:
त्यसैगरी तेस्रो दिन औंशीको दिन हो । जसलाई गाई तिहार भनिन्छ। यसदिन लक्ष्मीको प्रतीकका रुपमा गाईको पूजा गरिन्छ। गाई माता समान हुन् र नेपालीको राष्ट्रिय जनावर पनि हुन् ।आयुर्वे्दिक शास्त्र अनुसार गोमूत्र र गाईको दुधघ्यू बाट अनेकौं औषधि बनाउन सकिन्छ ।गाईलाई सिङ र खुरमा तेल लगाई जिउभरी चामलको पिठोको छाप लगाएर सिंगारिन्छ र निधारमा टीका घाटीमा माला लगाई मीठा मीठा अन्न एवं घास खान दिईन्छ।रात्रीमा धन दौलतकी देवी लक्ष्मीको पूजाआजा गरिने भएकाले लक्ष्मी पूजा पनि भनिन्छ ।

लक्ष्मीविनाको मानव जीवन कल्पना सम्म पनि गर्न सकिदैन ।धनकी अधिष्ठात्री र माता लक्ष्मीले पूर्ण ऐश्वर्य र आन्तरिक समृद्धि प्रधान गर्द्छिन्। यस दिन हरेक घरघरमा झिलिमिली वत्ती बाली घरलाई सिंगारिएको हुन्छ। लक्ष्मी आउछिन् भनेर मूल ढुकुटी बाट गेट सम्म लक्ष्मीका पाइला बनाउने र साँझमा लक्ष्मीको पूजा गरिन्छ ।समूहमा जम्मा भएर देउसी भैलो खेल्ने पनि गरिन्छ ।

चौथो दिन:
चौथो दिनलाई गोरूपूजा ,गोबर्द्धन पूजा भनिन्छ ।धर्मिक मान्यता अनुसार इन्द्रले पानी पारेर हाहाकार पारेको अवस्थामा भगवान श्रीकृष्णले कान्छी औलाले गोवर्द्धन पर्वतलाई उचालेर गोपाल जाति ग्वालाअरूको संरक्षण गरेका थिए ।यसैको स्मरणमा गोवर्द्धन पर्वतलाई पूजा गरिन्छ ।वर्षभर हलो र गाडा तानेर उपकार गर्ने गोरूलाई सिंगारेर पूजा गरिन्छ ।गोबरको थुप्रोलाई पर्वतबनाई पूजा गरिन्छ। यस दिन नेवारी समुदायमा म्हपूजा पनि गरिन्छ ।आफ्नो शरीर वा आत्माको पूजा गरि मीठा मीठा परिकार बनाई खाने परम्परा छ। यो दिन मान्छेले आफैंलाई सम्मान गर्ने र आत्मा सन्तुष्ट गरि आत्मा को पूजा गर्दछ्न।यसै दिनलाई नेपाल संवतको आरम्भ दिन पनि मानिन्छ । नेवाहरूको नयाँ वर्ष पनि हो। ने. सं.को प्रारम्भ इ. सं.८८० बाट सुरु भएको हो। अहिले ने. सं. ११३८ सुरु हुदैछ ।नेवार हरूको सम्पुर्ण चाडपर्वहरु नेपाल संवतको पात्रोअनुसार नै मनाइन्छ ।

पाचौं तथा अन्तिम दिन :
तिहारको पाँचौ दिन महत्वपूर्ण र अन्तिम दिन हो ।यस दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई उत्तम साइतमा सुस्वास्थ्य ,प्रगति र दीर्घायुको कामना गर्दै पूजा गर्छन्। निधारमा सप्तरङ्गी टीका लगाई गलामा मखमली, दुबो,सयपत्री,र गोदावरीको माला लगाइदिन्छ्न् ।घरको मूल ढोकाको संघारमा ओखर फोरेर आफ्ना दाजुभाइको शत्रु हटुन् भन्ने कामना गर्दछ्न् ।टीका लगाईदिनुपूर्व दाजुभाइलाई तेल र पानीको घेरा भित्र राखी यमराज बाट सुरक्षित पारेको मान्दछ्न्।तिहारमा लगाइदिने टीकाको सङ्केत यस प्रकार छ :
रातो(मंगलको सुचक,सेतो( शान्तिको सुचक ,पहेँलो( दीर्घायुको सुचक,निलो (निरोगिताको सुचक ,हरियो (बौद्धिकताको सूचक र अन्य दुई आफ्नो परम्परा अनुसार लगाइदिने भएकाले समृद्धि सुचक मानिन्छ ।

तिहार पर्वको दीपावली महत्त्वपूर्ण विशेषता हो। दीपावली दीपको पर्व हो,उज्यालोको पर्व हो । हामीले बाहिर घर, गल्ली , कोठा ,मन्दिर ,बाटो सबैतिर दीप त बाल्छौ नै हामीभित्र पनि ज्ञान र विवेकको दीप बाल्न छ । हामी भित्र ज्ञानको दिप बाल्दछौ तब अज्ञानताको अध्यारो हट्दछ । आफुभित्र सद्ज्ञान ,सद्भाव र सद्बिचार जगाउनु छ । हाम्रो अन्तस्करणमा जव दीप बाल्दछौ तब संसार उज्यालो देख्न थाल्दछौ।

तसर्थ,आउनुहोस् दीपावली गर्नुको वास्तविक अर्थ बुझौं ,आफ्नो जीवनलाई उज्यालो तर्फ अभिमुख गराउ र प्रसन्नतामा रामाउने प्रयास गरौं ।भाइटीकाले दिदीबहिनी र दाजुभाईको सम्बन्धमा थप उर्जा थप्दछ।पतिरपत्निको सम्बन्ध छुट्टै छ तर संसारका सारा पुरुषहरूलाई दाजुभाई र सारा नारीहरूलाई दिदिबहिनी समान ब्यवहार गरौं ।दीपावली र भाईटीकाको बिज्ञान बुझौं र बुझाउँदै अघि बढौ।
dumrechakrapani@gmail.com

 

RECENT POSTS