जेष्ठ २६, २०७७तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारीअन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर बनाइएको हो ।स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको नियमित सेवा वडा २ को कार्यालयमा स्थानान्तरण गरी आइसोलेसन सेन्टरका रूपमा तयार गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । आइसोलेसन सेन्टरमा एक चिकित्सक, एक नर्ससहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिएका छन् ।

बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकाहरूलाई आइसोलेसनमा राख्न थालिएको छ । यहाँ सोमबारसम्म आरडीटी पोजिटिभ देखिए पनि पीसीआरको नतिजा आइनसकेका समेत गरी १४ जना रहेको आइसोलेसन इन्चार्ज केशव भट्टराईले बताए । बीस बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनको भनाइ छ ।

सेन्टरमा आईसीयू र भेन्टिलेटरको सुविधा नचाहिने अवस्थाका संक्रमितलाई आवश्यक अन्य सबै सुविधा छन् । चौबीसै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको चिकित्सक सन्जोग पाठकले जानकारी दिए । नगरपालिकाले आइसोलेसनका लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक स्टाफ नर्स नियुक्त गरेको छ ।

नगरप्रमुख घिमिरेले कोरोना महामारी अन्त्य भइसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालका रूपमा विकास गरेर लैजाने गरी पूर्वाधार निर्माण गरिएको बताए । ‘अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ,’ उनले भने, ‘नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारीअन्तर्गत शंकरनगर र कोटिहवामा क्वारेन्टाइन सञ्चालन गरिरहेको छ ।’

SHARE