Sunday, July 12, 2020

तिलोत्तमाको लोभलाग्दो तरकारी पकेट क्षेत्र

खेतमा हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ । छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ । सिद्धार्थ राजमार्गको लखन चोकबाट करिब पाँच किलोमिटर पश्चिममा रहेको छ तिलोत्तमाको तरकारी पकेट क्षेत्र । तिलोत्तमा वडा नम्बर १४ मा पर्ने यो क्षेत्रका मंगलपुर, रगरगन्ज, जितपुर र दुर्गानगर टोलका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन् । पुस्तौंदेखि तरकारी खेतीमा रमाइरहेका छन् । उनीहरुले १६० बिगाहा खेतमा तरकारी खेती गरेका छन् ।

सो क्षेत्रका अगुवा किसान पन्नेलाल केवटले लकडाउनका बेला तरकारीको बजारले समस्या पाइरहेको अवस्थामा नगरपालिकाले उपभोक्तामाझ पु¥याइदिने व्यवस्था गरेकोमा प्रसन्न छन् । “किसानको तरकारी सिधै उपभोक्ताको घर आँगनमा पुग्दा हामीले पनि राम्रो मूल्य पाएका छौं भने उपभोक्ताले सस्तोमा तरकारी खान पाएका छन्”–उनले भने । बिचौलियाको कारण किसान र उपभोक्ता दुवैलाई मर्का परिरहेको अवस्थामा लकडाउनले बिचौलियाको अतिरिक्त आम्दानी रोकिदिएको उनले बताए ।

खेतमा करेला, मुला, गाजर, भिण्डी, बोडी, खुर्सानी, काँक्रा, फर्सी, टमाटर, लौका लगायत तरकारी लगाइएको छ । “तरकारीले यो क्षेत्रको फाँटै हरियो बनेको छ”–केवटले भने, “मल र बीउमा भने केही समस्या छ ।”

आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु केवटको दैनिकी हो । आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उनलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ । बारीभरी लगाइएको तरकारीले मनै आनन्दित बनाउने गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष समेत रहेका केवटको गुनासो छ । स्थानीय किसानले उत्पादन गर्ने तरकारीको उचित बजारीकरण गर्ने उद्देश्यले नजीकै विशिष्टीकृत कृषि हाटबजार सञ्चालनमा आएको छ ।

दैनिक कम्तीमा २० क्वीन्टल तरकारी बिक्री गर्ने गरी ५० लाख रुपैयाँ लगानीमा तिलोत्तमा–१४ रेहरामा सञ्चालनमा आएको हाटबजारमा किसानले आफ्ना उत्पादन बिक्री गर्छन् भने नजीकै कृषि उपज संकलन केन्द्रको कार्यालय पनि छ । तर कृष्णप्रसाद पन्थीको अध्यक्षतामा रहेको बजार व्यवस्थापन समितिमा भने बिचौलियाको चलखेल हुन थालेको किसानको गुनासो छ ।
अर्का किसान रामप्रताप केवटको पनि दैनिकी प्रायः करेसाबारीमै बित्ने गर्छ । तरकारीमा मलजल, पानी, झार उखेल्नेदेखि टिपेर लैजानेसम्मको काम गर्न भ्याउँछन् । उनले १० कट्ठा जग्गामा तरकारी खेती गरेका छन् ।
तिलोत्तमा नगरपालिकाले तरकारी पकेट क्षेत्र तोकेको १४ नम्बर वडालाई प्रदेश सरकारले गतवर्ष स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको थियो । जसअन्तर्गत प्रदेश सरकारले उपलव्ध गराएको ५० लाख बजेटमध्येबाट २० वजटा बोरिङ निर्माण गरिएको छ भने तीनवटा हाते ट्याक्टर, दुईवटा झार उखेल्ने यन्त्र (विडर) धान काट्ने रिपर चारवटा खरीद गरिएको छ । यसका साथै तिलोत्तमा नगरपालिकाले अनुदानमा बीउदेखि लिएर टेक्टर लगायत मेसिनरी उपकरण सहयोग गरेको छ । त्यस्तै तरकारीमा सिँचाइका लागि वडाभित्र ९० वटा बोरिङ गाडिएको छ भने मटरबाट सिंचाई गर्ने लक्ष्यसहित बिजुलीका पोल गाडेर विद्युतीकरण सुरु गरिएको छ ।
व्यावसायिक तरकारी खेती अंगालेका यो क्षेत्रका करिव डेढसय किसानले वार्षिक साढे चार करोडसम्म आम्दानी गर्छन् । कम्तीमा पनि ३ लाख रुपियाँदेखि १२ लाखसम्म आम्दानी हुने गरेको डेढ बिगाहामा तरकारी खेती गरेका समयमाई टोल विकास संस्थाका सचिव वीरबहादुर केवटले बताए ।
बिहान उठेदेखि साँझ नहुञ्जेल माटोमा रमेर समय बिताउनु, बालीको स्याहारसुसारमा समय बिताउनु, समयसमयमा खेतीबालीको रेखदेख गरिरहनु र उत्पादित तरकारी संकलन गरेर बजार पठाउनु यहाँका किसानको दैनिकी बनेको छ । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदैछन् ।
व्यावसायिक क्षेत्रमा लागेका किसानले आधुनिक प्रविधिमैत्री खेतीमा जोड दिँदै आएका छन् । व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने किसानहरुको भनाइ छ ।
निलगाई र बंदेलको समस्याले भने किसानलाई पिरोल्ने गरेको छ । जंगली जनावरका कारण तरकारी बाली जोगाउनै मुस्किल हुने गरेको स्मार्ट कृषि गाउँका अध्यक्ष केवटले बताए । तिलोत्तमा–१४ निबासी नगर कार्यपालिका सदस्य एचवी रम्तेलले किसान उत्साहपुर्वक तरकारी खृतीमा लागिरहेको र यसैबाट आत्मनिर्भर बनेको बताए ।
तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरले किसानलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहित गर्न कृषि प्राविधिकहरु नियुक्त गरिसकेको बताउँदै अब प्रांगारिक मलमा अनुदान दिएर रासायनिक मल र विषादीमुक्त तरकारी उत्पादनलाई बढावा दिइने बताए ।

साभार बुटवल टुडे अनलाइन

तिलोत्तमा नगरपालिकामा अब पसल खुल्ने समय हप्तामा ३ दिन ३ घण्टा मात्रै,अबज्ञा गर्नेलाई कडा कारबाही

मोहन न्यौपाने, तिलोत्तमा बैशाख २० । रुपन्देहीमै कोरोना संक्रमित पाइएपछि तिलोत्तमा नगरपालिकाले लकडाउन परिपालनाको नियममा थप कडाइ गरेको छ । बैशाख २० गते एक अत्यन्तै जरुरि सुचना जारि गर्दै नगरपालिकाले पास बाहेक का सवारी नगरक्षेत्र भित्र नचलाउने, बिनाकाममा नरोक्ने र सामग्री खरिद गर्न पसल जादा सवारी लिएर नजाने नियम बनाएको छ । अझै लकदाउन लाइ कडाइ गर्दै नगरपालिकाले नगर भित्रका पसल हरु हप्तामा ३ दिन मात्रै सोमबार बुधबार र शुक्रबार हरेक बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै खोल्न पाउने नियम बनाएको छ ।

नगर भित्र यस क्षेत्र भन्दा बाहिरका तरकारी फलफुल र दुग्धजन्य पदार्थ बेचबिखन भएको र भित्र भित्र लकडाउन को अबज्ञा गर्दै बिक्रि गरेको गुनासो आएपछि थप कडाई गर्दै त्यस्ता क्रियाकलाप गरेको थापाएमा या खबर गरेमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको छ । साथै नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरुलाई नतिजा प्रकाशन नगर्न नगराउन समेत आग्रह गरेको छ । यसअघि लकडाउन भित्रै केहि नतिजा प्रकाशन गरेका विद्यालयहरुलाई ३ दिन भित्र कारण सहित पेश गर्न स्पष्टिकरण समेत मागेको छ । तिलोत्तमाका केहि बिद्यालय हरुले बाल्बिकाश देखि कक्षा ९ सम्मका नतिजा प्रकाशन गरेपछि नगरले यस्तो निर्णय गरेको हो । सुचना प्रकाशित गर्दै नगरपालिका ले नगर क्षेत्र भित्र राहतको कमि भएका छुटेका तथा खाद्यान्न सकिएको भए नजिकैको जनप्रतिनिधिलाइ सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

कोरोना रोकथाममा तिलोत्तमा : “ महामारीले हामीलाई एउटा गम्भीर सन्देश दिएको छ ”

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरुले अत्यन्त मेहनतपूर्वक काम गरिरहेका छन् । नेपाल सरकारको मार्गदर्शन र प्रदेश सरकारहरुको समन्वयमा स्थानीय गाउँ र नगरपालिकाहरुले यतिबेला आफ्नो सम्पूर्ण शक्ति महामारी रोकथाम र नियन्त्रणमा परिचालन गरेका छन् । सीमित स्रोतका बाबजुद देशमा विपद् जोखिम आइपर्दा स्थानीय सरकारहरुले गरेको कामको कतिपय क्षेत्रहरुमा आलोचना पनि हुने गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना रोकथाममा के कस्ता कामहरु ग¥र्‍यो ? के के चुनौती र अप्ठेराहरु आइपरे भनेर हामीले नगरप्रमुख वासुदेव घिमिरेसँग कुृराकानी गरेका छौं । प्रस्तुत छ ः उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप ।

कोरोना भाइरस जोखिम न्युनीकरणका लागि नगरपालिकाले अहिलेसम्म के के गर्‍यो ?
यति लामो समयसम्मको लकडाउन संभवतः नेपालको इतिहासमा पहिलोपटक हो । संक्रमण जुन गतिमा बढ्छ भन्ने हाम्रो आंकलन थियो, तर आंकलन गरिए अनुसार संक्रमण बढेको छैन । राज्यले समयमै यसको नियन्त्रणको लागि लकडाउन थप्दै गएको अवस्था हो र जनताले यसलाई स्वीकार गरेको कारणले यो संभव भएको हो । लामो समयसम्म लकडाउन भइरहँदा यसले समाजका विभिन्न क्षेत्रहरुमा स्वाभाविक ढंगले नकारात्मक असर परिरहेको छ । जहाँसम्म कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नगरपालिकाको तर्फबाट सुरुमै सन्देशमूलक कार्यक्रमहरु सम्पन्न ग¥यौं । यहाँका जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारीहरु, स्थानीय संघसंस्था, मिडियाकर्मी सबैको सहयोग लिएर जनतामाझ व्यापक जनचेतनामूलक सन्देश प्रवाह ग¥यौं । सँगसँगै विद्यालय केन्द्रित कार्यक्रम पनि ग¥यौं । त्यसपछि महत्वपूर्ण कुरा भनेको बाहिरबाट आउनुभएका नागरिकहरुको लगत संकलन गर्ने कामलाई प्राथमिकता दियौं र यसलाई प्रत्येक वडामा त्यहाँको टोल विकास संस्था र वडालाई परिचालन गरेर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको सहयोग लिएर हामीले प्रत्येक टोल टोलमा त्यो सूचना दियौं र जस अनुसार बाहिरबाट आउनुभएका नागरिकको सन्दर्भमा अहिले पनि १९० जना होम क्वारेन्टाइनको रुपमा बसिरहनुभएको छ । उहाँहरुमध्ये कतिपय अवधि पूरा भएर छुृट पाउने अवस्था छ भने हालसम्म ८१ जना नागरिकहरुले नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा सेवा लिनुभएको छ । जस अनुसार क्वारेण्टाइनमा अहिले पनि ३१ जना हुनुहुन्छ भने अन्य आरडिटी टेष्ट रिपोर्ट नेगेटिभ आएपछि आ–आफ्नो घर फर्किएको अवस्था छ । यसैगरी संभावित जोखिमलाई मध्यनजर गरेर आइसोलेसन बेडहरु तयार गर्नेगरी नगरपालिका अगाडि बढेको छ । हामीसँग भएका यहाँका स्वास्थ्यकेन्द्रहरुलाई अधिकतम प्रयोग गर्नेगरी त्यो नीति अवलम्बन ग¥यौं र शंकरनगरको वडा नम्बर २ मा रहेको स्वास्थ्य केन्द्रमा केही बेडहरु तयार गरेर न्यूनतम पूर्वाधारको व्यवस्था गरेका छौं । क्वारेन्टाइनको व्यवस्थापन पनि हामीले राम्रै ढंगले गरिरहेका छौं । नागरिकलाई खान, बस्न र सुरक्षाको समेत राम्रो प्रवन्ध गरेका छौं ।

यसको प्रभाव झेलिरहेका विपन्न नागरिकको हकमा के के गर्नुभयो ?
समाजमा गरिखाने नागरिकलाई यसको प्रत्यक्ष असर पर्यो । उद्योग, कलकारखाना नचलिरहँदा गरिखाने नागरिकहरुले काम नगरेसम्म हातमुख जोड्न नपाउने अवस्था थियो । उहाँहरुलाई मध्यनजर गरेर हामीले पहिलो चरणको लकडाउनको क्रममै छैठौं दिनसम्म करिव २ हजार भन्दा बढी नागरिकको लगत तयार गरेर प्रारम्भिक तहको राहत वितरण गर्ने काम ग¥यौं र अहिले त्यो सूचीलाई क्रमशः हामी पछिल्लो दिनसम्म ३२ सय भन्दा बढी घरधुरीमा पुगेका छौं भने लामो समयसम्म लकडाउन भइरहँदा थप संबोधन गर्नुपर्छ भन्ने हिसावले हामीले हाम्रो स्रोतको अधिकतम प्रयोग गरेर खाद्य बैंक पनि स्थापना गरेका छौं । खाद्यबैंकमा जिन्सीहरु जम्मा गर्ने क्रम पनि बढेको छ । यी सबै कामहरु गर्दै यतिवेला थप राहतको व्यवस्थापनमा हामी जुटिरहेको अवस्था छ ।

यो बीचमा कृषि क्षेत्रलाई पनि संबोधन गर्नुभयो ?
हो, हामीले कृषिसँग सम्बन्धित कुरालाई संबोधन गर्नका लागि एकातिर खेतीपाती स्याहार्ने समय थियो भने अर्कोतिर तरकारी बालीहरु उत्पादन हुने समय पनि थियो । यस्तै हामीले आयातित तरकारीहरु वन्द गरेको अवस्था थियो भने सबै टोलहरुमा सन्तुलित ढंगले तरकारी उत्पादन पनि नभएको अवस्था थियो । यसैले हामीले यो बेलामा मानिसहरुको आवत जावत समेत बन्द भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिनेगरी नगरपालिका आफैले कृषि एम्बुलेन्स तयार गरेर करिव तीन साता अघिदेखि नगरका सवै वार्ड र टोलमा तरकारी पुर्याउने गरी नियमितरुपमा चारवटा एम्बुलेन्स सञ्चालन गरिरहेको अवस्था छ । अहिले वडा नम्बर १३ र १४ का साथै अन्य क्षेत्रमा पनि तरकारी उत्पादन गर्ने किसानहरु प्रशस्त हुनुहुन्छ । किसानहरुलाई संबोधन गर्ने र उपभोक्ताहरुलाई घरघरमै सेवा पु¥याउने निर्णय सहित संचालन गरिएको कृषि एम्बुलेन्सले पनि सवै क्षेत्रमा राम्रो प्रभाव पारेको छ । यसवाट किसान र उपभोक्ता खुशी भएको अनुभूति हामीले गरेका छौं ।

लकडाउनले शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको छ नि ?
स्वभाविक रुपमा लकडाउनले अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यार्थीहरु एसईई परीक्षा दिन तयार भएको अवस्थामा परीक्षा सरेको अवस्था छ । यो परिवेशमा विद्यार्थीहरुलाई थोरै भएपनि संबोधन गरौं भन्ने हिसावले हामीले पहिलो चरणमा एसईईलाई लक्षित गरेर अनलाईन कक्षा सुरु ग¥यौं र अहिले पनि चलिरहेको छ । यसरी हाम्रा अभियानहरु सञ्चालन भइरहेका छन् भने थप विकल्पहरुका बारेमा पनि अध्ययन गरिरहेका छौं ।

यी कामहरु गरिरहँदा आम नगरबासी, अन्य राजनीतिक दलहरुको सहयोग र समन्वय कस्तो रह्यो ?
नगरबासीको सहयोग नरहने कुरै भएन । यहाँ विभिन्न संघसंस्था, उद्योगी व्यापारी, राजनीतिक दल, सञ्चारकर्मी, टोलविकास संस्था, आमा समूह, विद्यालय, सहकारी संस्थाहरुबाट अधिकतम सहयोग भएको छ । कतिपय अवस्थामा राहत कोषमा स्वतस्फुर्तरुपले उहाँहरुले रकम जम्मा गर्ने काम गर्नुभएको छ । यो ठूलो सहयोग हो । खाद्य बैंकमा पनि उहाँहरुले जिन्सी सामान सहयोग गरिरहनुभएको छ । अर्कोतिर लकडाउनलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि उहाँहरुले सँगै हातेमालो गरेर जनतालाई सुसुचित गराउने काममा सहयोग गर्नुभएको छ । उहाँहरुको सहयोग नभएको भए कार्यान्वयन गर्न नगरपालिकालाई गाह्रो हुन्थ्यो । सवै क्षेत्रको सहयोग र साथका कारण हामीले सीमित स्रोत र साधनका बाबजुत पनि ठूलो उपलव्धि हासिल ग¥यौं भन्ने लागेको छ ।

राहत कोषमा अहिलेसम्म कति रकम जम्मा भयो र कति खर्च भयो ?
नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा अहिलेसम्म ८० लाख भन्दा बढी नगद रकम जम्मा भएको अवस्था छ । यसबाहेक डेढसय क्वीन्टल भन्दा बढी चामल, १५ क्वीन्टल भन्दा बढी दाल खाद्य बैंकमा जम्मा भएको छ । सहयोग गर्ने क्रम अहिले पनि जारी छ । यसमध्ये २५ लाख भन्दा बढी रकम राहत शीर्षकमा खर्च गरिएको छ भने क्वारेन्टाइन व्यवस्थापनमा पनि हामीले खर्च गरेका छौं । यो बीचमा एउटा सवारी साधन भाडामा लिएको अवस्था छ । यी सबै क्षेत्रमा भएको खर्च ब्यवस्थापनका हिसावले अहिलेसम्म करिव ३५ लाख रकम खर्च भएको छ । यो प्रकोप व्यवस्थापन कोष कोरोना महामारीको लागि मात्र नभएर अरु भवितव्य पर्दा समेत खर्च गर्न मिल्ने गरी हामीले कार्यविधि बनाएका छौं ।

कोरोना नियन्त्रणका काम गरिरहँदा के के समस्या र चुनौती आइपरे ?
त्यति ठूलो समस्या त हामीले झेलेनौं । हामी आफै योजना निर्माण गरेर जति काम गर्नुपर्ने हो, त्यो गर्नेतर्फ केन्द्रित भयौं । यो बीचमा संघीय सरकारले विभिन्न निर्देशन जारी ग¥यो । राहत प्याकेजको पनि घोषणा त भयो तर अहिलेसम्म संघीय सरकारको तर्फबाट हाम्रो खातामा राहत बापतको रकम जम्मा भएको अवस्था छैन । प्रदेश सरकारबाट नगरपालिकालाई १५ लाख दिने निर्णय भए बमोजिम त्यो रकम निकासा भइसकेको छ । यहाँ भएको हस्पिटलले बिरामीको उपचार नगरेको भन्ने नागरिकको गुनासो सुरुवाती चरणमा आएको थियो । यहाँ भएका हस्पिटलले ओपिडी सेवा बन्द गर्ने, बिरामी नआइदिए हुन्थ्यो भन्ने, आएका बिरामीलाई फर्काउने परिपाटी पनि भयो, उहाँहरुसँग हामी २–३ पटक बसेर छलफल ग¥यौं र उपचारमा सहजता ल्याउन आग्रह ग¥यौं । तर पनि सहजता भएन । यसमा दुःख लागेको छ । हुन त अरु क्षेत्रमा पनि यस्तै अवस्था छ । यस्तै अन्य समस्याहरुसँग जुध्दै हामी अगाडि बढिराखेको अवस्था छ ।

लकडाउनका बीच संघीय सरकारले खोप कार्यक्रमलाई सञ्चालन गर्ने निर्णय ग¥यो । तिलोत्तमामा यो सुरु भयो कि भएन ?
हामी यसलाई सुरु गर्दै छौं । स्वास्थ्यकर्मी साथीहरुले यसको योजना बनाउनुभएको छ । अव १–२ दिनभित्रै नियमित खोप कार्यक्रम सुरु गर्ने तयारीमा छौं ।

तिलोत्तमा नगरपालिकाका अवका कार्यभार के के छन् ?
यो अवस्था छिटै नै सहज होला भन्नेमा हामी आशावादी छौं । त्यो भएसँगै जनताका दैनिक हुने सेवामूलक कामहरु सुचारु गर्नुपर्ने छ । अर्कोतिर बजेट निर्माण गर्ने, वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने र यसलाई पारित गर्ने काम पनि अगाडि बढाउनुपर्ने छ । यो महामारी नआएको भए अहिले बजेट निर्माणको अन्तिम अवस्थामा आइपुग्थ्यौं । अव सामाजिक दूरी कायम गरेर यस्ता कामहरु हामीले गर्नुपर्ने छ । अर्कोतिर चालुवर्षका महत्वपूर्ण आयोजनाहरु किसानसँग जोडिएका, सिंचाइसँग जोडिएका आयोजनाहरु, सेवा कार्यालयसँग जोडिएका आयोजनाहरु, कतिपय प्रदेश र संघसँग जोडिएका ठूला आयोजनाहरु पनि छन् । वर्षाअघि नै यसलाई पनि अघि बढाउनुपर्ने छ । यो महामारीले हामीलाई एउटा गम्भीर सन्देश पनि दिएको छ । अव हामीले कुन क्षेत्रलाई संबोधन गर्ने भन्नेकुरा गहिरिएर सोंच्न सकेनौं भने ठूलो विकराल अवस्था आउन सक्छ । यसको ठूलो प्रभाव आर्थिक क्षेत्रमा पर्ने भएकोले हामीले उत्पादनमा ध्यान दिनुपर्छ । कृषिलाई तीनतहकै सरकारले उचित संबोधन गर्नुपर्छ । बाँझो खेत कतै नराख्ने परिपाटी अवलम्वन गर्नुपर्छ भनेर नगरपालिकाले निर्णय गरिसकेको छ । यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा सोंचिरहेका छौं । संघीय सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएकोले हामीले पनि यसैलाई जोड दिएका छौं । त्यस्तै स्वास्थ्य क्षेत्रलाई पनि हामीले उचित संबोधन गर्नेगरी अघि बढ्ने सोंचमा छौं ।

तिलोत्तमा नगरपालिकामा तेस्रो चरणको राहत वितरण सुरू

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तेस्रो चरणको राहत वितरण सुरू गरेको छ । पहिलो र दोस्रो चरणमा ३ हजार ३ सय घर परिवारलाई राहत वितरण गरेको नगरपालिकाले तेस्रो चरणमा झण्डै ४ हजार परिवारलाई राहत दिन थालेको हो ।

तिलोत्तमाले लकडाउन सुरु भएलगत्तै पहिलो चरणको राहत वितरण गरेको थियो । लकडाउनको समय थपिँदै जाँदा राहतग्राहीहरुको संख्या बढ्दै गएपछि तेस्रो चरणको राहत परिवार संख्याको आधारमा तीन तहमा बाँडेर वितरण गर्न थालिएको नगर उपप्रमुख एवं राहत व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिएकी छन् ।


कार्यपालिकाको निर्णयअनुसार दुई जना व्यक्ति भएको परिवारलाई १५ किलो चामल, दुई किलो दाल, पाँच जनासम्मको परिवारलाई २० किलो चामल, दुई किलो दाल र पाँच जनाभन्दा बढी भएको परिवारलाई २५ किलो चामल, तीन किलो दाल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । यस्तै सबै राहत पाउने परिवारलाई एक लिटर तेल र एउटा साबुन समेत प्रदान गरिने उपप्रमुख चौधरीको भनाई छ ।


पहिलो र दोस्रो चरणमा लक्षित सबै परिवारलाई दश किलो चामल, दुई किलो दाल, एक किलो नुन र एउटा साबुन प्रदान गरिएकोमा यस पटक राहत परिमाणलाई बढाइएको हो । टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई तेस्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले वडाको खाद्य बैंकमा संकलन भएको राहत परिमाणको आधारमा अपुग खाद्यन्न खरिद गरेर वितरण प्रक्रिया अघि बढाएको हो ।संघीय सरकारले दिएको निर्देशनअनुसार राहत वितरणको मापदण्ड बनाएर संकलन, खरिद तथा वितरण गरिएको प्रवक्ता सुरेन्द्र श्रीको भनाई छ ।

सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासंघको ध्यानाकर्षण

तिलोत्तमा , वैशाख ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना भाइरसको उच्च संक्रमणका बीच सम्भावित जोखिममा नागरिकलाई सुसूचित गराउने काममा क्रियाशिल पत्रकारलाई कतिपय सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संकटको समयमा काम गर्ने पत्रकारको समस्यालाई तत्काल सम्बोधन गर्न महासंघ रुपन्देहीले माग गरेको छ ।

जोखिमको समयमा काम गरेका पत्रकारलाई विशेष सुविधा दिन माग गर्दै महासंघले कोभिड–१९ को संक्रमणले उत्पन्न जटिल परिस्थितिमा समाचार संकलनका क्रममा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सञ्चारकर्मीलाई आग्रह गरेको हो । लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।

महासंघका अध्यक्ष यानेन्द्र जीसी तथा सचिव रामप्रसाद आचार्यद्वारा जारी प्रेस विज्ञप्तीमा क्वारेन्टाइन, आइसोलेसन वार्ड, संक्रमण परीक्षणस्थलको संवदेनशीलतालाई ख्याल गर्न, पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभइ नजान पनि पत्रकारहरुलाई आग्रह गरिएको छ ।विज्ञप्तीमा वर्तमान परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा गर्दै सरकारले संक्रमण नियन्त्रणका लागि चलाएको अभियानलाई सञ्चार क्षेत्रको तर्फबाट पूर्ण साथ दिंदै मर्यादित र जिम्मेवार पत्रकारितालाई महासंघले जोड दिइएको छ ।

विज्ञप्तीमा श्रमजीवी पत्रकारका समस्याप्रति गम्भिर बन्न र संकटको यो घडीमा त्यस्ता निर्णयहरु नगर्न सञ्चार प्रतिष्ठानको ध्यानार्कषण गराएको गराइएको छ ।विज्ञप्तीमा लकडाउनका कारण दैनिक जीवनयापनमा समस्यामा परेका क्रियाशील पत्रकारहरुले महासंघको नेतृत्वलाई तत्काल जानकारी गराएका अवस्था हेरेर राहत कोषबाट आवश्यक सहयोग गरिने जनाइएको छ । साथै संकटको समयमा विभिन्न क्षेत्रबाट महासंघलाई संस्थागत सहकार्य गरी सहयोग गर्ने संघ–संस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिइएको छ ।

लकडाउनमै मसक्क मस्केर ढकमक्क फुल्यो, तिलोत्तमा सिटी फ्लावर”बेगनबेली”

मोहन न्यौपाने , बैशाख ८ । बसन्त ऋतुको आगमनसंगै अहिले लकडाउनको बिचमा बेगनबेली ढकमक्कै फुलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ बर्ष अघि आफ्नो १९ औं बैठकबाट फूल (सिटी फ्लावर) को रुपमा ‘बेगनबेली’ लाई स्वीकृत गरेको थियो। हरियाली प्रवद्र्धन अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले नगर फूलको रुपमा बेगनबेली छनौट भएसंगै लकडाउनमा समेत फुलको ब्यबस्थापन भैरहेको हरियाली प्रबर्धन तथा सरसफाई समितिका संयोजक तथा सोहि शाखाका अधिकृत गोरख नाथ खनालले जानकारी दिनुभयो ।

तिलोत्तमाका सडक, चोक, बगैचा, टोल लगायतका सबै प्रकारका सार्वजनिक ठाउँमा यो फूल देख्न सकिन्छ , तथापि तिलोत्तमा ड्राइभरटोलमा सिक्सलेन सडकको बिचमा ढकमक्क बेगनबेली थरिथरिको रंग झुल्काएर फुलेको देखिन्छ । कोरोना भाइरस बिरुद्धको लकडाउनले बाहिर सुनसान चकमन्न देखिएपनि तिलोत्तमाको भित्रि सुन्दरता र भोलिको आशा बेगनबेलीले देखाउछ । नियमित रुपमा टेङ्करको ब्यबस्था गरि पानी हाल्ने तथा गोडमेल गरिरहेको नगरपालिकाले यस फुलको गरिमा जोगाउन सफल छ । आफ्नो सिटी फ्लावरले नगरलाइ नै सुन्दर देखाउदा जो कसैको मन ढक्क फुलेर आउछ ।

सडक छेउमै घर भएकाहरुले समेत नियमित रुपमा पानी हाल्ने तथा गोडमेल गरिदिनाले यो फुल नगरपालिकाको मात्र नभएर सबै नगरबासी र यहा घुम्न आउनेहरुका लागि समेत प्यारो बनेको छ ।

संक्रमणको जोखिम र लकडाउनको मारबाट यसरी एकैपटक पार पाउन सकिन्छ।

नेपाल फर्किएको ट्याङकर ।

लेखक : जगदीश दाहाल
विगत केही दिनदेखि विद्युतीय संचारमाध्यमले छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणमा व्यापक वृद्धि भएको देखाइरहेका छन्। विशाल जनसंख्या भएको भारतमा यसरी कोरोना संक्रमण बढ्नु नेपालका लागि पनि राम्रो होइन।
दुई मुलुकबीच खुला सिमानाका कारण सिमाना बन्द गर्दा पनि लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। नेपाल र भारतबीच सदियौंदेखि ‘रोटी र बेटी’को सम्बन्ध रहिआएको छ ।पारिवारिक सम्बन्ध सीमावारपार जोडिएका यी दुई देशबीच सीमाबाट आवतजावत रोक्नु सहज काम पक्कै होइन । त्यसमाथि नेपाल भारत सीमामा लुकिछिपी भन्सार छलेर सामान ओहोरदोहोर गराउनेहरु पहिलेदेखि नै सक्रिय छन् । तिनैहरु अहिले मानव मानव ओसारपरासमा सक्रिय नहोलान् भन्न पनि सकिन्न ।

धेरै जनसंख्या भएका कारण त्यहाँ केन्द्रीय र प्रादेशिक सरकारको निर्देशन समेत नागरिकले अवज्ञा गरिरहेका छन्। विशेष गरी भारतमा मुस्लिम समुदायबाट लकडाउनको धेरै अवज्ञा भएको देखिन्छ। जसका कारण नेपाल पनि ढुक्क भएर बस्ने अवस्था छैन।भारतमा भएको कुनै पनि घटनाको तत्काल र प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भएकोले भारतको या ट्रेण्डले नेपालमा यस्तै परिस्थिति सृजना हुने खतरा कायमै छ । यसमाथि भारतीय च्यानलको नेपालमा अत्यन्तै प्रभाव रहेकोले भारतका यी घटनाक्रमहरु नेपालीबाट लुक्न सक्ने अवस्था पनि रहेन ।

राज्यसँग हाम्रो मुलुकमा कति चिकित्सक छन्, को कहाँ छन्? कति राज्यले छात्रावृत्तिमा पढाएका छन्, कति दाता मुलुकका वा एजेन्सीका छात्रवृत्तिमा पढेका छन्, कति अनुदान सहयोगमा पढेका छन्, ती सबैले राज्यलाई आजको महामारीसँग लड्नु पर्दा नागरिकलाई उपचारका लागि साथ दिनु पर्ने हो कि होइन?यसको विपरित भारतमा अर्को तथ्य के राम्रो देखियो भने त्यहाँका स्वास्थ्यकर्मी चिकित्सकहरु अत्यन्तै खटेको र जिम्मेवार देखिए भने त्यहाँको सरकार र सरकारी निकायहरु नागरिकप्रति र व्यावसायी निजी क्षेत्रप्रति उत्तिकै जवाफदेही र जिम्मेवार देखिए।

राहतका आर्थिक व्याकेजहरु त्यहाँको केन्द्रीय र प्रादेशिक सरकारले केन्द्रीय बैंकले जुन ढंगले ल्याए, यो हेर्दा भारतले विश्वव्यापी कोरोना नियन्त्रण गर्न निकै राम्रो व्यवस्थापन र पहल लिएको देखिन्छ।उता अर्को छिमेकी देश चीन त कोरोनाको कहाली लाग्दो अवस्थाबाट पार पाउँदै छिमेकी र मित्र राष्ट्रलाई सहयोग गर्न समेत उद्यत देखिएको छ। कोरोनाको संक्रमण चीनबाटै सुरु भएको थियो । तर, उसले समयमै यो महामारीबाट पार पाउँदै अहिले सामान्य अवस्थामा फर्किंदैछ ।

सुरुवाती समयमा महामारीको इपिसेन्टर रहेको हुबेइ प्रान्तको राजधानी वुहान अहिले कम जोखिमयुक्त घोषणा भइसकेको छ । अत्यन्तै जोखिमयुक्तबाट मध्यम जोखिमपूर्ण हुँदै अहिले न्यून जोखिमयुक्त घोषणा हुनुका पछाडि त्यहाँको कुशल व्यवस्थापन नै मुख्य कारक रह्यो ।यहाँ पछिल्लो १४ दिनमा एक जना पनि नयाँ संक्रमित नदेखिएपछि वुहान शहरलाई कम जोखिमयुक्त घोषणा गरिएको हो । यतिमात्र होइन अहिले हुबेइ प्रान्तमै उच्च जोखिमयुक्त वा मध्यम जोखिमयुक्त कुनै शहर, जिल्ला वा काउन्टी बाँकी छैनन् ।

तर जसले जे भने पनि अमेरिकाले सबै नागरिकको एकसरो टेस्ट गरेर त्यसपछि अपनाइने सतर्कता र लकडाउनको मुक्ति सँगसँगै अगाडि बढाएको छ। त्यसरी हेर्दा नेपालको कोरोना विरुद्धको प्रयास र तदारुपता जति रम्रो देखिएपनि भौगोलिक अवस्था सामाजिक बनोट, अल्पविकसित मुलुकको स्टाटसका कारण प्रयास अपर्याप्त देखिएको छ।नेपालले के गर्नुपर्ने देखियो भने कुनै एउटा जिल्लालाई पूरै टेस्ट गरेर कोरोना भए/नभएको पहिचान गरेर त्यसको बाह्य आवत जावत नियन्त्रण गर्ने र आन्तरिक बन्दाबन्दीलाई खुकुलो गर्दै त्यही क्रमले क्रमशः अन्य जिल्ला र प्रदेशमा पनि त्यही हिसावले अगाडि बढ्नु आगामी दिनमा उपयुक्त होला।

अन्यथा कुनै जिल्लाको नागरिक विदेश आवत जावत नै छैन, कोरोनाको संक्रमण त्यहाँको समाजमा फैलिने कुनै संभावना नै छैन भने त्यस्तो जिल्लाको नागरिकलाई, समाजलाई बन्दाबन्दीमा राख्नु कदाचित न्यायोचित हुँदैन।यसरी नै योजनाबद्ध रुपमा अगाडि बढ्ने हो भने केही हप्तामा नै बन्दाबन्दीबाट नागरिकलाई मुक्त गर्न सकिने र कोरोना भएका शंकास्पद र विदेशबाट आएका जतिलाई निश्चित दायरा भित्र राखेर उपचार गर्ने र अरु बाँकी नागरिकलाई तिनीहरुको सम्पर्क भन्दा टाढा बन्दाबन्दी मुक्त राख्न सकिन्छ।त्यसो गर्दा स्कुल, कजेल, उद्योग, व्यवसाय पनि संचालनमा आउन सक्ने र आर्थिक रुपले मुलुक चलायमान रहने, आर्थिक संकटबाट मुलुकले मुक्ति पाउन सक्ने हुनसक्छ। तर दुखको कुरा के हो भने जसरी छिमेकी मुलुक भारतमा, जसरी अर्को छिमेकी मुलुक चीनमा, अन्य मित्रराष्ट्रहरुमा जस्तो देखियो त्यो भन्दा फरक हाम्रा स्वास्थ्यकर्मी चिकित्सक समग्रमा परिचालित भएका छैनन्।

निजी क्षेत्रका स्वास्थ्य निकायहरु समग्रमा प्रयोगमा नआएको यो अवस्था सायद उपकरणको अभावले होला, राज्यको नीति निर्देशक वा कानुनको अभावमा होला, जे भएर भएपनि दुख लाग्दो पक्ष हो।निजी क्षेत्रका अस्पतालमा सामान्य बिरामी जाँदा बिरामी नलिने पनि देखियो। समग्र डाक्टरहरुको सोचाइमा यो कोरोना भाइरसको महामारी भनेको केवल सरुवा रोगसँग सम्बन्धित चिकित्सकको मात्रै विषय र जिम्मेवारी हो भन्ने सोचाइले काम गरेको देखियो। यो राम्रो पक्ष होइन।राज्यसँग हाम्रो मुलुकमा कति चिकित्सक छन्, को कहाँ छन्? कति राज्यले छात्रावृत्तिमा पढाएका छन्, कति दाता मुलुकका वा एजेन्सीका छात्रवृत्तिमा पढेका छन्, कति अनुदान सहयोगमा पढेका छन्, ती सबैले राज्यलाई आजको महामारीसँग लड्नु पर्दा नागरिकलाई उपचारका लागि साथ दिनु पर्ने हो कि होइन? यी सबैको तथ्यांक केलाउने र जिम्मेवारी दिने तदारुकताको कमी देखियाे।

सरकारसँग यसको तथ्यांक नहुनु, यसरी लुकेका, भागेका वा थन्किएर बसेका डाक्टरहरुलाई घरबाट ल्याएर महामारीका विरुद्ध नागरिकको उचपारमा लगाउन नसक्नु सरकारको अक्षम्य कमजोरी देखियो। यो दुख दायक हो। अन्यथा अहिलेको २१ औं शताब्दीमा मुलुक र मुलुकबासीले आज जे देखे अनि भोगे त्यसले आगामी दिनका लागि ठूलो पाठ सिकायो।मुलुकको समग्र विकास सबै पक्षमा उत्तिकै विकास र जनचेतना साथसाथै मुलुकको अग्रगमनलाई यो एउटा विश्वव्यापीको घटनाले नेपालीलाई आउने दिनमा कृषिको विकास लिएर अगाडि बढ्न जाँगर र जोश उमंग मिल्ने कुरा नकार्न सकिँदैन।

सामुदायिक रेडियो, रेडियो लुम्बिनी मार्फत एसइईको पुनर्ताजगी कक्षा

मोहन न्यौपाने, तिलोत्तमा बैशाख ७,तिलोत्तमा । कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ तिलोत्तमा नगरपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालन थालेको छ । लकडाउन खुल्ने बित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै नगरपालिकाले रेडियोमार्फत विद्यार्थीलाई अनलाइन तयारि कक्षा सञ्चालन गरेको हो । तयारीमा रहेका विद्यार्थीले लामो समय बिदामा बस्दा सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुनर्ताजगी कक्षा सञ्चालन गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए ।

१० दिन देखि रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको सामुदायिक रेडियो रेडियो लुम्बिनी ९६.८ बाटदिउसो १ बजेदेखि साँझ ६ बजेसम्म ६ विषयको कक्षा सञ्चालन भैरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । कक्षा सञ्चालनका लागि विषय शिक्षकले तिलोत्तमा नगरपालिकाको आफ्नै प्रबिधि स्टुडियो विद्यार्थीलाई जुम एप्लिकेशनमा लाइभ, आफ्नो युटुब पेज, फेसबुक पेज, र उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो रेडियो लुम्बिनी मार्फत जानकारीहरु प्रदान गर्ने र विद्यार्थीले सामाजिक सञ्जाल वा लाइभ मार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको शर्माले बताए ।

‘एसइईलाई लक्षित कक्षा सञ्चालन भएको छ, परीक्षाको तयारी गराउँदा जसरी विद्यालयमा शिक्षकले पढाउँथे उसैगरी अनलाइन र रेडियोबाट पढाइ हुन्छ,’ शर्माले भने, ‘यसले विद्यार्थीलाई धेरै सहज बनाउने छ, नसिकेका कुरा सिक्ने र बिर्सेका कुरा सम्झने अवसर हुनेछ ।’ अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा, नेपाली र कम्प्युटर बिज्ञान विषयको कक्षा रेडियोबाट सञ्चालन भैरहेको छ ।

अनलाइन र रेडियोमार्फत कक्षा सञ्चालन गर्ने शिक्षकका लागि नगरपालिकाले लकडाउनमा पनि नगरपालिका स्टुडियोसम्म आउने जाने ब्यबस्था गरेको छ । विद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले अनलाइनसंगै रेडियोको विकल्प खोजिएको शर्माले बताए । इन्टरनेटको सुबिधा भएकाले अनलाइनबाट र सम्भव नभएकाले रेडियोबाटै प्रदेश ५ का सबै जिल्ला सहित १५ जिल्ला भरि सुनेर अधिकांश विद्यार्थीले लाभ लिन सक्ने नगरपालिकाका सूचना तथा प्रबिधि अधिकृत इन्जिनियर सुदिप ढकालले बताए। परीक्षा तयारी कक्षा नै सञ्चालन हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने ढकालको दाबी छ । नगरपालिकाले विद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै प्रविधिको प्रयोगमार्फत एसइईको तयारीलाई जारी राख्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।

सही सुचना जनता समक्ष पुर्याउन संगठन प्रतिबद्ध : प्रेस संगठन नेपाल

चनाखो पूर्वक कदम चाल्न सरकारसंग प्रेस संगठनको आग्रह

बैसाख ७ । प्रेस संगठन नेपाल रुपन्देहीले सिमा क्षेत्रमा चनाखो पूर्वक कदम चाल्न सरकारसंग आग्रह गरेको छ । शनिबार प्रेस विज्ञप्ती जारी गर्दै रुपन्देहीको भारतसंग सिमा जोडिएको क्षेत्र उच्च जोखिममा रहेकाले प्रदेश सरकार जिल्ला प्रशासन र स्थानिय सरकारले सजगतापूर्वक कदम चाल्नुपर्ने बताएको हो । संगठनका संयोजक अमृत गिरी र सह–संयोजक कमल रायमाझीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा सिमा क्षेत्रमा रहेका नागरीकलाई सचेत रहँदै घुसपैठको सुजना दिन आग्रह गरीएको छ । विपतको समयमा सही सुचना जनता समक्ष पु¥या संगठन आवद्ध पत्रकार प्रतिवद्ध रहेको संगठनले जनाएको छ । विज्ञप्तीमा पत्रकारले खेलेको भुमिकाको प्रशंसा गर्दै सकारात्मक र रचनात्मक भुमिका खेल्न अपिल गरीएको छ ।

“सरकारले गरीरहेको जनहितका कदमको सही रुपमा जनता सम्म पु¥याउने र जनताले भोग्नु परेका समस्यालाई सरकार तथा त्यसका संयन्त्रसम्म पुर्याउने काममा प्रेस संगठन नेपाल रुपन्देहीमा आवद्ध सम्पुर्ण पत्रकार साथीहरु सक्रिय रहेको उल्लेख गर्न चाहान्छौँ ” बिज्ञप्तीमा भनिएको छ । संगठनले विपदको समयमा सचेत भएर स्वास्थ्य सुरक्षा अपनाई रिर्पोटिङ गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । समस्यामा रहेका पत्रकारलाई राहातको व्यवस्था गर्न स्थानिय सरकारसंग अपिल गर्दै यसको समन्वय संगठनले गर्ने विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।

तिलोत्तमाको प्रकोप कोषमा ७० लाख बढी रकम जम्मा , यो सहयोगमा नगरबासीको माया र बिश्वाश मिसिएको छ : नगरप्रमुख

तिलोत्तमा। विश्वब्यापी महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन तिलोत्तमा नगरपालिकाले स्थापन गरेको प्रकोप ब्यवस्थापन कोषमा विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सहयोग गरिरहेका छन् । संघसंस्था तथा ब्यक्ति बिशेषले स्वतस्फुर्त रुपमा कोषमा सहयोग गरेका छन् भने कोषमा अहिलेसम्म ७० लाख वढि रकम जम्मा भैसकेको नगरपालिकाले जनाएको छ ।

कोषमा संस्थागत सहयोग गर्ने क्रममा तिलोत्तमा नगर क्षेत्रका उद्योगी ब्यवसायीको संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले पनि सहयोग गरेको छ । तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आइतबार तिलोत्तमा उद्योग बाणिज्य संघले ५५ हजार रुपैयाँ प्रदान गरेको छ । संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले नगर प्रमुख वासुदेव घिमिरेलाई ५५ हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा नगरप्रमुख घिमिरेले राहत कोषमा सहयोग गरेकोमा संघलाई धन्यवाद दिंदै विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाको रोकथामका लागि एकल प्रयाशले मात्र सम्भव नहुने र सामुहिक प्रयाशले मात्र सम्भव हुने भएकाले सबैको साथ र सहयोगको आवश्यक्ता औल्याउनु भयो । नगरपालिकाले यसरी कोषमा प्राप्त हुने रकम नगरपालिकाले भरपाई गरेर लिने र सबैको राय सुझाव लिएर कोषमा जम्मा भएको रकमको सही सदुपयोग गर्ने बताउनुभयो ।

यस्तै तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार एवं सिद्धार्थ राइसमिलका सञ्चालक चन्द्रमान श्रेष्ठले भलवारी स्वचालित राइस मिलका तर्फबाट २५ हजार र सिद्धार्थ राइसमिलका तर्फबाट २५ हजार गरी ५० हजार रुपैयाँको चेक राहत कोषका लागि प्रदान गर्नुभएको छ । श्रेष्ठले राहत रकम नगरप्रमुख वासुदेव घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।

यस्तै तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैयाँ जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो । त्यस्तै कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ५० हजार रुपैंयाँ सहयोग गरेका छन् भने प्याब्सन तिलोत्तमाले पनि कोषमा ४ लाख रुपियाँ सहयोग गरेको छ ।कोषमा जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ—संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, विद्यालय, क्लव, व्यवसायिक प्रतिष्ठानलगायतले सहयोग गरेका छन् । सबैभन्दा धेरै सहयोग सहकारी क्षेत्रबाट प्राप्त भएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी गराउनु भयो ।

नगरपालिकाको आह्वानअनुसार नगरमा रहेका सहकारी, बैंक तथा वित्तीय संस्था, व्यक्ति, विद्यालय, क्लव, आमा समूह, व्यवसायिक प्रतिष्ठानले नगरपालिकाको कोषमा राहत रकम जम्मा गरेका हुन् । यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म झण्डै ७० लाख नगद संकलन भएको हो । यस्तै नगरपालिकाले स्थापना गरेको खाद्य बैंकमा नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत संकलन भएको छ । नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले यी सामाग्री प्रदान गरेका हुन् । खाद्य सामाग्री संकलनका लागि नगरका १७ वटै वडामा खाद्य बैंकको शाखा स्थपना गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै आइतबार नै पुर्व सैनिक कृषि सहकारी तिलोत्तमा ७ भलवारीका पदाधिकारी हरुले ४६ हजार ४ सया बराबरको १० क्विन्टल चामल र सोहि स्थानका तमु मांगी मिलन आमा समूह बाट ३ क्विन्टल चामल प्रदान गरेका छन् ।

कोषको रकमबाट दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामग्री व्यवस्थापनलगायतका काम सञ्चालन गरिएको नगर प्रमुख घिमिरेले बताउनु भयो ।

तिलोत्तमा नगरपालिकाले सरकारले गरेको लकडाउन सुरु भएयता अहिलेसम्म करिव ३३ सय घरपरिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले १७ वटै वडाका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । हालसम्म राहत वितरणमा नगरपालिकाबाट करिव २२ लाख रुपैंयाँ खर्च भएको छ ।

नगरपालिकाले २५५ क्विन्टल चामल, ७१ क्विन्टल दाल, ३२ क्विन्टल नुन तथा १४४० पिस साबुन खरिद गरेर राहतस्वरुप वितरण गरेको नगर उपप्रमुख तथा राहत वितरण व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो । चामलको खरिद मुल्य प्रतिकेजी सरदर ५३ रुपैंयाँ, दालको १०१ रुपैंयाँ र नुनको २० रुपैंयाँ रहेको उहांले वताउनु भयो ।

पहिलो चरणमा २२ सय परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा थप ११ सय परिवारमा राहत पु¥याइएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराउनु भयो । प्रवक्ता श्रीका अनुसार नगरपालिकाले लकडाउनको समय अझै बढेमा राहत वितरण प्रणालीलाई परिवार संख्याको आधारमा अघि बढाउने तयारी गरेको छ ।

RECENT POSTS